विराटनगरका मेयर कोइराला अमेरिका प्रस्थान

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

असोज १३ गतेदेखि अमेरिकाको टेक्सासमा हुने सेमिनारमा सहभागी हुनका लागि मेयर कोइराला मंगलबार अमेरिका प्रस्थान गरेका हुन् ।

मेयर कोइरालालाई उपमेयर शिल्पा निराला कार्कीले महानगरबाट विदाई गरिन् । नेपाल नगरपालिका संघको समन्वयमा संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए) को आयोजनामा हुने सेमिनारमा नेपालबाट मेयर कोइरालाले सहभागिता जनाउने महानगरपालिकाले जनाएको छ ।

सेमिनारमा करिब ४० देशका स्थानीय सरकारका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । सेमिनारमा स्थानीय सरकारका समसामयिक विषय तथा मुद्दाहरुमाथि छलफल हुनेछ ।

सेमिनारमा मेयर कोइरालाले नेपालको स्थानीय सरकार सञ्चालनका समस्या, चुनौती र अवसरका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ । मेयर कोइराला अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले गर्ने विभिन्न कार्यक्रममा समेत सहभागिता जनाउने कार्यतालिका रहेको छ ।

न्यूयोर्क सिटी र वासिङ्टन डिसीका मेयरसित भेटघाटको कार्यक्रम तय भएको बताइएको छ । अमेरिकामा नेपाली समुदायहरुसित छलफल गरी विराटनगरमा लगानी भित्र्याउनका लागिसमेत मेयर कोइरालाले पहल गर्ने बताएका छन् ।

मङ्गलबार, ०९ असोज, २०८०, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर