चितवनमा जन्मिएका पुष्पा र अञ्जली कोशीटप्पुमा

विराटनगर । चितवन राष्ट्रिय निकुञ्जका दुईवटा पोथी गैंडा पुष्पा र अञ्जलीलाई आज कोशी टप्पु वन्यजन्तु आरक्ष ल्याइदैछ ।

अलग–अलग खोरमा राखेर पुष्पा र अञ्जलीलाई कोशीटप्प ल्याइएको हो । कोशी टप्पुमा पुष्पा र अञ्जलीलाई इन्क्लोजरमा राखिनेछ । पुष्पा अहिले ३ वर्ष ८ महिना र अञ्जली २ वर्ष ५ महिनाका हुन् ।

कोशी टप्पुमा गैंडाका लागि वेटल्याण्ड र ग्रासल्याण्ड राम्रो भएको कोशी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रमेश यादवले बताएका छन् । पुष्पा र अञ्जलीलाई राख्नका लागि १६ फिट अग्लो, ८५ फिट लामो इन्क्लोजर बनाइएको छ । त्यहाँ पानी र घाँसेमैदान पनि राखिएको छ ।

गैंडा हेर्नका लागि भ्यू पोइन्ट पनि बनाइने आरक्षले जनाएको छ । पुष्पा र अञ्जली दुबै आमाविहीन भएर टुहुरो बनेका गैंडाका बच्चाहरु हुन् ।

२०७६ पुस ५ गते करिब २ महिनाको २ महिनाकी पुष्पा नवलपुरको तमासपुरमा हिलोको दलदलमा भासिएको अवस्थामा भेटिएको थियो । २०७७ को गैंडा गणनाको क्रममा चैत १४ गते निकुञ्जको नवलपुर दिव्यपुरीको क्षेत्रबाट १ महिनाको उमेरमा अञ्जलीको उद्धार गरिएको थियो ।

गैंडाका बच्चाहरु सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा हुर्काइएका हुन् । मानिसको माया र ममतामा हुर्किएका यी दुवैले मानिसलाई मन पराउँछन् । कर्मचारीले भैंसीको दूध र पालुवा घाँस खुवाएर उनीहरूलाई हुर्काएका थिए। सौराहा क्षेत्रमा सँगसँगै डुल्ने र हिंड्ने गरेपछि निकुञ्जले गत वैशाख ३१ गते दुवैलाई निकुञ्जको लामिताल क्षेत्रमा छाडेको थियो ।

माउबाट एक्लिएपछि मान्छेको हेरचाहमा हुर्किएका पुष्पा र अन्जलीको स्वागतमा कोशी टप्पु आरक्षले कार्यक्रम नै राखेको छ। बुधबार औपचारिक कार्यक्रमपछि पुष्पा र अञ्जलीलाई आरक्षभित्रको इन्क्लोजर (ठूलो खोर) मा राखिनेछ ।

व्यवस्थापकीय रूपले पनि सहज हुने भएकाले स्थानान्तरणका लागि पुष्पा र अञ्जलीलाई रोजिएको हो । जंगलमा छाडेपछि मान्छेसँग घुलमिल हुने बानी परेका उनीहरू मान्छेकै नजिक आउने गरेका थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको प्राविधिक समितिले २ वर्ष पहिले कोशी टप्पु वन्यजन्तु आरक्षमा गैंडा रहनसक्ने संभावनाबारे अध्ययन गरेको थियो । अध्ययनबाट गैंडाका लागि उपयुक्त देखिएपछि गत असोज ७ बसेको प्राविधिक समितिको बैठकले तत्कालका लागि २ वटा गैंडा स्थानान्तरण गर्न सिफारिस गरेको थियो ।

गैंडा विज्ञ डा.नरेश सुवेदीकाअनुसार कोशीमा ५० वटासम्म गैंडा रहनसक्ने अध्ययनले देखाएको छ । यी पोथी गैंडा प्रजननका लागि योग्य भएपछि एउटा भाले गैंडा पनि कोशीमा पठाउने चितवन निकुञ्जको तयारी छ।

यसअघि २०७३ सालमा अर्नाको वंश विस्तारका लागि भन्दै कोशी टप्पुबाट १२ वटा अर्ना चितवन निकुञ्जमा लगिएको थियो। तिनीहरूलाई पुरानो पदमपुरमा इन्क्लोजर बनाएर राखिएकोमा ती अर्ना बाघले खाएर, बाढीमा बगेर र रोग लागेर मरेको बताइन्छ ।

कोशीबाट अर्ना ल्याउँदा चितवन निकुञ्जले पनि गैंडा कोशीलाई दिने प्रतिबद्धता गरिएको थियो । चितवन निकुञ्जले ५ जोडी गैंडा कोशीलाई दिने प्रतिबद्धता जनाएको बताइएको छ ।

मङ्गलबार, ०९ असोज, २०८०, दिउँसोको ०४:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर