छिमेकीको हत्या गरि फरार रहेका व्यक्ति ३४ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्ति ३४ वर्षपछि पक्राउ परेका छन् ।

२०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

भोजपुरको उत्तरी साविक दोभाने गाविस ८ (हाल साल्पासिलिछो गाउँपालिका ५) का राई घटना हुँदा २७ वर्षका थिए । उनले छिमेकी २६ वर्षीय बद्रीकुमार राईलाई खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हातसमेत छिनाएर फरार रहेका थिए । उनलाई उपचारका लागि खाँदबारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

२०४६ साल कात्तिक १७ गते रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई सुनसरीको तरहराबाट लुकीछिपी बसेको अवस्थामा असोज ५ गते पक्राउ गरिएको हो । भोजपुरका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार हत्यामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ ।

२०४६ साल कात्तिक २० गते मुद्दा दर्ता भएको र अनुसन्धानसहित सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालतमा पेश भएको मुद्दामा २०६० साल जेठ २७ गते प्रतिवादीलाई अदालतबाट जन्मकैदको फैसला भएको प्रहरीले बताएको छ । ‘फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले सुनसरीबाट पक्राउ गरेको हो ।

आइतबार, ०७ असोज, २०८०, दिउँसोको ०२:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर