तैंले के खाइस् त बाबु ?

 हेमराज दाहाल

‘आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ
तर बिन्ती, छोरा मरेको खबर आमालाई नसुनाइदिनू ।’

यी दुई लाइन गजलकार प्रदिप रोदनका हुन् । यसले कति ठूलो यथार्थ बोकेको छ । हामी आफैं अनुमान गर्न सक्छौं । आमा शब्द आफैंमा पूर्ण छ । आमामा भाव छ । भाग्य छ । माया छ । फराकिलो मन छ । विशाल हृदय पनि छ । कोमलता छ । अनि सरलता छ । अझ भनौं; धेरै ठूलो छाती छ । म सानो हुँदा आमाले आफू खेताला जाँदा दिएको खाजा पोल्टामा राखेर मेरो लागि ल्याइदिनुहुन्थ्यो । अनि घरिघरि आमा कतै जानुभयो भने ममा अझैंत्यो आशा लागिरहन्छ । तर मैले आजसम्म मेरी आमाका लागि किन पोल्टोमा केही दिन सकिन् ? प्रश्न आफैं माथि छ । म अहिले आमा भन्दा टाढा छु । म टेलिफोनमा नै सोध्छु । आमा– तपाईंलाई के कस्तो छ ? आरामै हुनुहुन्छ ? उत्तर आउँछ, ठिकै छ नानी । तैले के खाइस् त बाबु ? सायद केही अपवादलाई छोडेर आमा बाहेक अरू कसैको पनि पहिलो प्रश्न आमाले गर्नेभन्दा भिन्न नै हुन्छ । छोरा, तैले कति पैसा कमाइस त ? भनेर कहिल्यै सोध्नुहुन्न ।

मलाई अलिअलि पैसा चाहिएको थियो । छ तँ सँग ? भनेर पनि माग्नुहुन्न । मैले दिन चाहाँदा पनि पर्दैन, पर्दैन भन्दै टार्नुहुन्छ । उल्टै बेलाबखत घर जाँदा चामलको पोकामा ठूलो मेहनतले उहाँले जम्मा गरेको दुई चार सय रूपैयाँ मेरालागि हालिदिनुहुदोंरहेछ । चामल खन्याउँदा त्यी पैसा देखेर म निकै भावविह्वल भएको छु । उहाँमा आफ्नो कति पनि स्वार्थ छैन् । स्वार्थ छ भने छोराछोरीको मायाको स्वार्थ छ । सानै छ, अझैं केही जान्दैन् भन्ने स्वार्थ छ । आमा अनपढ हुनुहुन्छ होला तर अनविज्ञ हुनुहुन्न । उहाँलाई विज्ञान थाहा छैंन् तर जीवन जिउने कला थाहा छ । प्रसङ्ग जोडौं डा .नवराज केशीको पुस्तक ‘शून्यको मुल्य’ शीर्षकको पृष्ठ ११५ को दोस्रो हरफको, ‘आमा केवल फूल होइन, फल मात्र पनि होइन्, फूल र फल निस्कने वृक्ष मात्र पनि होइन्, माटो हो । त्यो माटो, सम्पूर्ण मानव सभ्यता उम्रिने एक मात्र मलिलो माटो हो ।’ अनि त्यसो भए हामी आफैंले चाहिँ त्यो माटोको सूरक्षा कक्तिको दिन सकेको छौं ? सोच्ने कि ?

केही समय अगाडि पढेको एउटा घटनाको स्मरण भयो । एउटा हरिणको बच्चा नदी तर्दै थियो । तर्दै गर्दा नदीमा रहेको एउटा गोही आक्रमण गर्न अघि बढ्छ । परबाट यो हेरिरहेकी हरिणकी आमा बहुत जोड्ले कुद्छे । ऊ आफ्नो बच्चा र त्यो गोहीको बीचमा पुग्छे अनि टक्क रोकिन्छे । नदीभित्र गोहीलाई आफ्नो बच्चासम्म पुग्न नदिने ऊसँग अर्को कुनै उपाय भएन । उसले आफैँलाई गोहीको मुखमा पारेर भए पनि आफ्नो बच्चालाई बचाउन कोसिस गरी । ऊ त्यो कोसिसमा सफल पनि भई । तर आमाले आफ्नो ज्यानै अर्पण गरेर सन्तानलाई बचाएको दृश्यले सारा संसारलाई भावुक बनायो ।

त्यसैले आमा संसारको सबैभन्दा ठूलो शक्ति हो । त्यसैले आमालाई बुझौं । आमाको स्वास्थ्यलाई ख्याल गरौं । आफू उभिएको धरातल नबिर्सियौं । आमालाई माया गरौं । सम्मान गरौं । आमालाई अनपढ नभनौं । डा.नवराज केसीले भनेका छन्, ‘हामीले अपनाएका विकासका मोडेलहरूमा आमाहरूलाई प्राथमिकतामा पारिएन । आमाहरू प्राथमिकतामा नपर्नुको असर आमाहरूमा मात्र परेन, नवजात शिशुमा प¥यो । त्यसैले हामी विकासमा पछि पर्दै गयौं । हामीले मुहानमा कामै गरेनौं ।’

शनिबार, ०६ असोज, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर