संखुवासभा । संखुवासभामा निर्माणाधिन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत गृहस्थल पुखुवाको काम २२ दिनदेखि ठप्प रहेको छ ।
अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडक खण्डका मुआब्जा माग पीडितहरुले अनिश्चितकालीन रुपमा अरुण तेस्रोको विद्युत गृहस्थलको काम ठप्प पारेका हुन् ।
जिल्ला प्रशासन कार्यालय संखुवासभामा गठित छुट मुआब्जा निर्धारण समितिले गत वैशाख २६ गते छयाङकुटी–दिदिङ सडकखण्डको प्रति रोपनी ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो । तर, हालसम्म पनि मुआब्जा नपाएपछि स्थानीयहरू आन्दोलित बनेका हुन् ।
अरुण तेस्रोको विद्युत गृहस्थल पुखुवाको काम २२ दिन देखि ठप्प रहेको अरुण प्रवेशमार्ग संघर्ष समितिका संयोजक जनीकुमार राईले बताए । अरुण तेस्रो प्रवेशमार्ग मुआब्ज पीडित संघर्ष समितिले प्रवेश मार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडक खण्डको २४ किलोमिटर क्षेत्रको मुआब्जा माग गर्दै अनिश्चितकालीन रुपमा आन्दोलनमा उत्रिएका हुन् । अरुण तेस्रो प्रवेश मार्ग अन्तर्गत छ्याङकुटी देखि पुखुवासम्म ४५४ रोपनी जग्गाको मुआब्जा प्राप्त गर्न बाँकी रहेको छ ।
प्रवेश मार्गको ४५४ रोपनीको जम्मा ५३ करोड ७४ लाख ५० हजार रुपैयाँ बजेट निकासीका लागि लगानी बोर्डलाई पत्राचार गरिएको थियो । मुआब्जा रकम जिल्ला प्रशासन कार्यालयको खातामा नआएसम्म आन्दोलन जारी रहने पीडितहरुको भनाइ छ ।
प्रवेश मार्गका पीडित परिवार मुआब्जा माग गर्दै विगत ७ बर्षदेखि स्थानीय आन्दोलित हुँदै आएका छन् । प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयले असोज ५ गते विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षसँग आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ । पीडितहरुले कानुन बमोजिम प्राप्त गर्ने मुआब्जा सम्बन्धित निकाय र मन्त्रालयसँग छलफल भइरहेको समेत उल्लेख गरेको छ ।
असोज ४ गते नेपाल सरकारका मुख्यसचिवको अध्यक्षतामा अर्थ, गृह, भुमिसुधारलगायत विभिन्न मन्त्रालयका सचिवसँग मुआब्जा पीडितको माग सम्बोधन गर्ने छलफल भएको थियो ।
अरुण तेस्रो निर्माण गरिरहेको भारतीय सतलज जलविद्युत निगमसँगको आयोजना विकास सम्झौता (पिडिए) मा स्थानीयको अवरोधका कारण काम रोकिए दैनिक ८ करोड रुपैयाँ नेपाल सरकारले क्षतिपूर्ती ब्यहोर्नुपर्ने सर्त छ । यसपटक मात्र २२ दिन बन्द हुँदा डेढ अर्ब रुपैयाँभन्दा बढी राज्यलाई क्षति पुगिसकेको छ । यसरी गरिएको बन्दको क्षतिपूर्ती आयोजनाले नेपाललाई प्राप्त हुने रोयल्टीबाट हिसाव मिलान गरेर मात्र नेपाललाई भुक्तानी दिनेछ ।
अरुण तेस्रो विद्युत् आयोजना निर्माण भारतीय कम्पनी सतलजले गरिरहेको छ । आयोजनाबाट नेपालले २१.९ प्रतिशत अर्थात १९७ मेगावाट बिजुली निःशुल्क पाउनुका साथै रोयल्टी र अन्य कर गरी अर्बौं रुपैयाँ पाउनेछ । आयोजना बनाउन १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अरुण तेस्रो विद्युत् आयोजनामा नेपाली र भारतीयसहित तीन हजार बढी मजदुर कार्यरत छन् ।