विराटनगर । कोशीका पूर्वमुख्यमन्त्री एवं नेपाली काँग्रेसका प्रदेश सभापति उद्धव थापाले कोशीमा आफू नेतृत्वमा सरकार बन्दा पार्टीभित्रैबाट असहयोग भएको गुनासो गरेका छन् ।
कांग्रेस केन्द्रीय समितिको बैठकमा बिहीबार थापाले कांग्रेस नेतृत्वको सरकार बन्दा पार्टीका नेता र शुभेच्छुकहरुले साथ दिनुपर्नेमा नदिएको गुनासो गरे ।
कांग्रेस बैठकमा थापाले कोशीमा आफू नेतृत्वमा बनेको सरकारबारे टिप्पणी गर्दा नेताहरुले पनि संविधानको व्यवस्था नहेरेको दावी गरे । नेताहरुले कोशी प्रदेशको विषयमा, संवैधानिक वा असंवैधानिक विषयमा धारणा राख्दा संविधानको पुस्तक पढेर आउनुहोला, संविधानको धारा १८६, १८७ र १८८ हेर्नुहोला, त्यसमा पनि १८७ अध्ययन गरिदिनुस्’ उनले भने ।
संविधानको ती धारामा प्रदेशसभामा मतदान, प्रदेशसभाको विशेषाधिकार र विश्वासको मतसम्बन्धी प्रस्तावका व्यवस्था छन् । कोशीमा गणीतीय हिसाबले राजनीतिक निर्णय गर्नुपर्ने भएकोले त्यो गरिएको भएपनि अदालतले आफू नेतृत्वको सरकार बदर गरिदिएकोले त्यसबारे अब धेरै छलफलको खाँचो भने नरहेको उनको भनाइ थियो ।
‘पार्टी र पार्टीका नेताबट सहयोग हुन्छ भन्ने लागेको थियो । जसले सहयोग गर्नुभएको छ, हामी धन्यवाद दिन चाहन्छौं’, उनले भने । कोशीमा उद्धव थापाको नेतृत्वमा बनेको सत्ता गठबन्धनको सरकार दुबै पटक सर्वोच्च अदालतको आदेशमा बदर भएको थियो । पछिल्लो पटक ४ भदौमा थापाले लिएको विश्वासको मतलाई अवैधानिक भन्दै सर्वोच्च अदालतले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिको परमादेश दिएको थियो ।
कोशीमा संविधान उल्लंघन आफूहरुले भन्दा पहिले उपसभामुखले गरेको पनि थापाले बताए । आफूले भदौ ३ गते विश्वासको मत लिन खोज्दा ४ गतेको समय दिएको र त्यस दिन ८ जनाको बिदा स्वीकृत गरेर आफू पनि बिदामा बसेदेखि संविधान उल्लंघन सुरु भएको उनको दावी छ ।
‘संविधानको उल्लंघन, असंवैधानिक व्यवहार त्यहाँबाट सुरु भएको थियो’ उनले भने, ‘तर, हाम्रै नेताहरुले त्यसलाई देखेनन् । जे बाहिर आयो त्यसकै पछि लागे ।’ सभामुखलाई मुख्यमन्त्रीको समर्थनमा हस्ताक्षर गराउने काम भने कानुन व्यवसायीका गलत परामर्शको कारण गरिएको उनको स्पष्टोक्ति थियो ।