विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी हवलदार रमेश निरौलासहित तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको छ ।
नगर प्रहरीले विराटनगर ७ कोशी अस्पताल अगाडि स्नेहा फार्मेसीका संचालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागु हुने गरी जागिरबाट हटाएको हो ।
यसरी जागिरबाट नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरीलाई पनि महानगरपालिकाले हटाएको छ । भदौ २७ गते ४ः३० बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यको लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ । पार्किङको विषयमा विवाद भएपछि यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै हातपात गरेका थिए । औषधी पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वीललक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए ।
सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि यादवले नगर प्रहरीलाई ‘के गरेको भाइ जरिवाना लिने भए लिएर छाडिनिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको थियो । त्यसपछि नगर प्रहरीले यादवलाई लछारपछार पार्दै पसलबाट निकालेर वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष् यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि पनि हातपात गरेका थिए । तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । एकै प्रकृतिको घटना हुँदा तीन जना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारबाही गर्ने प्रक्रियासमेत अगाडी बढाउन नसक्दा नगर प्रहरी असन्तुष्ट देखिएका छन् । ‘चौतर्फी दबाबका कारणले मेयर साँवले एउटा निमुखा नगर प्रहरीलाई जागिरबाट हटाए । तर, प्रहरी कार्यालय अगाडी नगर प्रहरीमाथि हातपात गर्नेलाई कुनै कारबाहीको लागि प्रक्रिया समेत अगाडी बढाउन सक्नुभएन,’ एक जना नगर प्रहरीले भने ।
भदौ ३१ गते महानगरका प्रमुख कोइरालालाई छानबिन गरी आवश्यक कारबाही गर्ने अख्तियारी दिएको थियो । त्यसैको आधारमा कोइरालाले तीन जना नगर प्रहरीलाई जागिरबाट हटाएको प्रेस बिज्ञप्ती जारी गरी जानकारी गराएको छ ।