विराटनगर । कोशी प्रदेशसभाले स्थिर खालको सरकार दिन नसकिरहेको बेला नेकपा एमालेका नेता र एमालेबाटै विभाजित बनेको नेकपा एकीकृत समाजवादीका नेताबीच भएको भेटवार्ताले कोशी प्रदेशमा राजनीतिक तरङ्ग ल्याएको छ । एमाले नेता शेरधन राई र नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राईबीच आइतबार धरानमा भेटवार्ता भएको हो ।
आपसमा भेट र कुराकानी भएको दुवै नेताले पुष्टि गरेका छन् । एमाले नेता तथा पूर्वमुख्यमन्त्री राईले प्रदेशको तरल राजनीतिको विषयमा छलफल भएको बताए । तर, अहिले नै ठोस निष्कर्ष निस्कने अवस्था भने नबनेको उनको भनाइ छ ।
‘प्रदेशमा कुनै पनि ठोस स्थिति बनेको छैन । अवस्था तरल नै छ । सम्भावनाका लागि नेकपा एमालेले गठबन्धनभित्रकै कुनै पाटर्नरलाई या त आफूसँग जोड्नु प¥यो । या त मत चोर्नु प¥यो,’ उनले भने, ‘नभए उपधारा ३ को सरकारले विश्वासको मत लिन सक्दैन । त्यसपछि भनेको उपधारा ५ मा जाने भयो ।’
उनले प्रदेशमा दलहरुको अवस्था तरल रहेको कारण उपधारा ५ मा पुगेपछि केही विकल्प रहेको पनि सुनाए । ‘उपधारा ५ मा जाँदा के गर्ने भन्ने कुरामा चाहिँ दुईतीन वटा विकल्प छन् । एउटा कोशी प्रदेशमा सर्वदलीय सरकार बनाउने । सबै दलहरुबिचमा सहमति गरेर आलोपालो गर्ने हो कि, के गर्ने हो १ त्यो भागबण्डा मिलाएर निकास दिनुप¥यो । अर्को भनेको जसले पनि ४७ संख्या पु¥याएर सरकार बन्न सक्ने भएकाले त्यो प्रयासमा दलहरु लाग्न सक्छन्, त्यहाँ पार्टीको ह्वीप लाग्ने भएन,’ उनले भने ।
यदि मध्यावधिमा जान कुनै पनि दल मञ्जुर होइन भने एउटा निकासको बारेमा सिरियस ढंगले छलफल सुरु गर्नुपर्ने एमाले नेता राईको भनाइ छ । उनले भने, ‘त्यस्तो बेला पनि भइसक्यो, के छ तपाईहरुको कुराकानी भनेर उहाँ ९राजेन्द्र राई०सँग गफ भएको हो । स्थिति चाहिँ तरल नै छ । ठोस केही हुन्छ, हुनसक्छ भन्ने अवस्था छैन ।’
उता, एकीकृत समाजवादीका नेता राजेन्द्र राईले पनि छलफल भएको पुष्टि गरे । ‘हामीले प्रदेशको, देशको सबै विषयमा छलफल गरेका हौँ,’ उनले भने, ‘विश्वासको मत दिनुहोस्, हामी सरकार बनाऔं भन्ने उहाँको कुरा थियो । मैले गठबन्धनलाई पहिलो प्राथमिकता भनेको छु । गठबन्धनबाटै दायाँबायाँ हुने अवस्थामा दोस्रो प्राथमिकता भनेको छु ।’
राईद्वय भोजपुरका समकालीन नेता हुन् । २०७४ सालको निर्वाचनमा दुवैजना नेकपा एमालेबाट भोजपुरको १ र २ नम्बर निर्वाचन क्षेत्रबाट प्रदेश सांसदमा निर्वाचित भएका थिए । प्रदेशसभाको पहिलो कार्यकालको संस्थापक मुख्यमन्त्री शेरधन राई बन्दा राजेन्द्र राई भने तेस्रो मुख्यमन्त्री बनेका थिए ।
२०७९ सालको निर्वाचनमा भने नेकपा एमालेबाटै विभाजित बनेको एकीकृत समाजवादीबाट राजेन्द्र राई भोजपुरको निर्वाचन क्षेत्र १ बाट पुनः प्रदेशसभामा निर्वाचित भएका हुन् भने शेरधन राई संघीय सांसदमा पराजित भएका थिए ।संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वमा हाल कोशी प्रदेश सरकार कायम छ । उनले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्नेछ ।
उनले विश्वासको मत लिन नसके धारा १६८ को उपधारा (५) मा पुग्ने अवस्था छ । यही अवस्थामा एमाले र एकीकृत समाजवादीका दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
सत्ता संकटमा परेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेकपा एकीकृत समाजवादीको साथ खोजेको यही घटनाले प्रस्ट पार्दछ । एकीकृत समाजवादीले भने अहिलेकै सरकारलाई नसघाउने बताउदै आएको छ ।
संघीय समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राईले छलफल सकारात्मक भए पनि कुनै निष्कर्ष ननिस्किएको बताए ।