मनोसामाजिक अभियान थालौं

 सम्पादकीय

मोरङ बेलबारीका युवा नवीन राई काठमाडौंको गैह्रीधारा हत्याकाण्डमा मारिए । उनी खासमा विदेश जाने तारतम्य मिलाउन काठमाडौं गएका थिए । तर, नियति यस्तो बन्यो उनी विदेश जान पाएनन्, काठमाडौंमै क्रुर अपराधको शिकार बनेर उनले सास लिए । सुनसरीको इनरुवामा एक महिला आफ्नै पतिबाट भर्खरै मारिएको घटना पनि सार्वजनिक भएको छ । सुन्नै पनि डरलाग्दो यस्ता घटनाबाट ज्यान गुमाउने नवीन र सुनसरीकी महिला जस्तै नियति पछिल्लो केही वर्ष धेरै नेपालीले भोगेका छन् । परिवारकै सदस्यबाट एकैपटक धेरै जनाको हत्या भएको घटनाको साक्षी हाम्रो समाज धेरैपटक बनिसकेको छ । यस्ता आपराधिक गतिविधि देशका कुना–कुनामा भइरहनु, दोहोरिनु गम्भीर सामाजिक समस्याको प्रमाण हो ।

अझ सबैभन्दा धेरै कहालीलाग्दो त परिवारभित्रै हुने अपराध भएको छ । हरेक मान्छेका लागि सबैभन्दा महत्वको संस्था हो परिवार । सबैतिरबाट असुरक्षा महसुस गर्नेले पनि परिवारभित्र आफूलाई सुरक्षित महसुस गर्छ । खुसी साट्ने र दुःख बाँड्ने ठाउँ नै व्यक्तिका लागि परिवार हो । त्यसैले पूर्वीय संस्कृतिमा परिवारलाई ज्यादै महत्व दिइएको छ । यद्यपि कोशी प्रदेशमा लगातार बढिरहेको पारिवारिक अपराधको सिलसिलाले यस्तो मान्यतामा पुनःविचार गर्न बाध्य बनाउँदैछ । परिवारभित्रै मौलाएको जघन्य अपराधको श्रृङ्खलाले घरभित्रै त्रस्त हुनुपर्ने अवस्थामा पु¥याउनु गम्भीर सामाजिक समस्या हो । यसको न्यूनीकरणको उपाय खोज्न जति ढिलाइ भयो, मानवीय क्षति र अपराधका घटना झनै बढ्ने निश्चित छ ।

जहाँ सबैभन्दा ढुक्क हुनुपर्ने हो, त्यहीँ असुरक्षा हुने अवस्थाको कारण के हो ? पारिवारिक बेमेल, बढ्दो मानसिक समस्या, आर्थिक समस्या तथा विवाहेत्तर सम्बन्ध लगायतका कारणले यस्ता घटनाहरु बढेका हुनसक्छन् । नदेखिएका अरु कारण पनि थुप्रै हुनसक्छन् । त्यसैले राज्यले यो गम्भीर सामाजिक समस्यालाई अध्ययनको विषय बनाउनुपर्छ । हरेक महिना, हरेक साता र हरेकदिनजसो भइरहेका हत्याका घटनाहरुमा परिवारकै सदस्यको संलग्नता देखिनुको मुख्य कारण पत्ता नलागाएसम्म यस्ता अपराध घट्ने छैन । परिवारकै सदस्यले ज्यान लिने अवस्था असुरक्षाको भयावह अवस्था हो । यही महिना मात्रै सुनसरीमा, केही समयअघि मोरङ, तेह्रथुम लगायतका जिल्लामा एकै प्रकृतिका घटना भएका छन् । कतै पतिले पत्नीलाई, कतै छोराले आफ्नै अभिभावकको हत्या गरेको घटनाले समाजमा गहिरिँदै गएको संकट र त्यसको आडमा भइरहेको अपराधको विस्तार छर्लङ्ग हुन्छ ।

यसलाई अरु फैलिन नदिन राज्यले मनोसामाजिक परामर्श गर्ने, मानसिक रोगीहरुको पहिचान गर्ने, उपचार गर्ने, मानसिक समस्याबारे चेतना अभियान चलाउने, रोजगारी सिर्जना गर्ने जस्ता उपायहरुको अवलम्बन गर्न ढिला गर्न हुँदैन । अन्यथा सरकारको प्रतिवेदनमा सुरक्षा व्यवस्था कडा हुने तर जनता चाहिँ घरभित्रै मारिने क्रम जारी रहने दुर्भाग्यपूर्ण स्थिति कायम हुनेछ । यसबाहेक विद्यालय तहदेखि नै अपराधविरोधी चेत भर्ने, मानसिक स्वास्थ्यको ख्याल गर्ने बानीको विकास गराउनैपर्छ । यो दायित्व निसन्देहः राज्यको हो । जनताको जीउधनको सुरक्षा गर्ने आफ्नो आधारभूत दायित्व निर्वाह गर्न तीन वटै तहका सरकारले अग्रसरता देखाउनुपर्छ । अन्यथा समाज अकल्पनीय अपराधको भुंग्रोमा यसरी नै जलिरहनेछ ।

मङ्गलबार, ०२ असोज, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर