विराटनगर । विराटनगरस्थित कोशी अस्पतालका करारका १७ जना कर्मचारीलाई कामबाट निकालेको छ । तत्कालीन कोशी अस्पतालको विकास समिति अध्यक्ष महेश भट्टराईको कार्यकालमा नियुक्त भएको १७ जना कर्मचारीको म्याद थप नगरी कामबाट निकालिएको हो ।
भदाै २६ गते बसेको विकास समितिको बैठकले अघिल्लो विकास समितिले विधि प्रक्रिया मिचेर आफूखुसी नियुक्त गरेको करारको १७ जना कर्मचारीको म्याद थप नगरिएको कोशी अस्पताल विकास समितिकाका अध्यक्ष डा. फरवर्ड सिलवालले जानकारी दिए । ‘यसअघि रहेको विकास समितिले आफूखुसी नियुक्त गरेको कर्मचारीको म्याद थप नगरिएको हो,’ उनले भने, ‘अब विधि र प्रक्रियासंगत तरिकाले आवश्यकता अनुसार कर्मचारी नियुक्ति हुनेछ । त्यसको लागि हामी योग्य कर्मचारी नियुक्ति गर्नेछौँ ।’ करारको म्याद थप नगर्नेमा बसैभन्दा बढी कार्यकाल सहयोगी छन् ।
यसरी करारको म्याद थप नभएकाहरूमा खरिदार मञ्जु विष्ट, रिना निरौला, इलेक्ट्रिसियन विनोद कुमार कार्की, कार्यालय सहयोगीहरू कुमार कार्की, अवोध कुमार गौतम, सम्झना राई, रमेश बुढाथोकी, पदम कुमार खनाल, बलराम कामत, कन्चन राय, राधा देवी राय, दिनेश कुमार सरदार, सुनिता मण्डल, सागर डोम, निर्मला ढकाल, सुनिता भगत र चन्दन यादव रहेका छन् ।
उनीहरूले आफूहरूलाई कुनै जानकारी बेगार कामबाट निकालेको बताए । कार्यालय सहयोगी पदम कुमार खनालले राजनैतिक आस्थाको आधारमा करार थप नगरेकोले हुनाले आन्दोलनमा उत्रिने चेतावनी दिए । ‘हामी काममा खटिरहेका थियौँ । कुनै जानकारी बेगार हामीलाई कामबाट निकालिएको छ,’ उनले भने, ‘अस्पतालमा नयाँ विकास समिति आए लगतै हामीलाई कामबाट निकालिएको छ ।’ तत्काल करार म्याद थप नगरे चरणबद्ध आन्दोलनमा उत्रिने उनले चेतावनी दिए ।
विकास समितिले निर्णयले रात्रिकालीन काममा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । मेडिकल अफिसियर र विशेषज्ञ चिकित्सकलाई राती उपचारमा खटिएको बेला दैनिक पाँच सय रुपैयाँको दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चन्द्रभाल झाले जानकारी दिए । रात्रिकालीन रूपमा कोशीमा उपचारमा खटिने विशेषज्ञ र मेडिकल अफिसर दुई दर्जन रहेका छन् । यसअघि पनि रात्रि उपचारमा खटिने चिकित्सकलाई २५० रुपैयाँ दैनिक प्रोत्साहन भत्ता दिने निर्णय भएको थियो । तर, कार्यान्वयनमा आएको थिएन । ‘अहिले विकास समितिले निर्णय गरेको छ । चिकित्सकलाई प्रोत्साहन भत्ता दिने असोज १ गतेबाट लागू भएको छ,’ मेसु झाले भने ।