कुलत छाड्ने आत्मविश्वासले बदलेको जीवन

विराटनगर । विराटनगरका ५३ वर्षीय अनुज सापकोटाको जीवन २० वर्षअघि अर्कै थियो । उनी शुरूमा लागुऔषधका सामान्य प्रयागकर्तामात्रै थिए । विस्तारै उनी पछि लागुऔषध दुव्र्यसनीसम्म बन्न पुगे ।

आफू बुझ्ने भएदेखि नै चुरोट खाने गरेको बताउने उनी पछि दुव्र्यसनतर्फ विस्तारै अघि बढ्दै गए । साथीभाइहरूसँगको संगतका कारण उनले मद्यपान पनि शुरू गरे । १७ वर्षको उमेरदेखि नै उनले जाँड, रक्सीलगायत अल्कोहलजन्य पदार्थ खान थालेका थिए । मैले ‘१७ /१८ वर्षको उमेरदेखि नै मज्जाले जाँड–रक्सी खान थालेको थिएँ,’ उनी भन्छन्, ‘तिनै साथीहरूको संगतले लागुऔषध पनि प्रयोग गर्न थालें ।’अनुजले शुरू–शुरूमा लिमिटेसनमै बसेर मदिराजन्य पदार्थ सेवन गरेका थिए । त्यो मात्रालाई बढाउँदै लैजान थाले । उनी भन्छन्, ‘भेटेजति सबै खान थालेँ ।’ उनलाई जाँड–रक्सीले मात्रै पुग्न छोड्यो । त्यसपछि लागुपदार्थतर्फ लम्किए । ‘रक्सीले नपुगेपछि फेन्सिडल, गाँजालगायतका लागुऔषधहरू प्रयोग गर्न थालें ।’

अनुजले समयसँगै यी पदार्थको प्रयोगको मात्रा बढाउँदै लैजान थाले । उनलाई त्यसले मात्रै पुग्न छाड्यो । त्यसपछि उनी इन्जेक्सन नै हान्न थाले । अनुज विराटनगरका हुनेखाने परिवारकै छोरा थिए । त्यो बेला उनलाई पैसाको समस्या खासै भएन । उनको विराटनगरको ट्राफिक चौकमा घर छ । उनी घरको कान्छो छोरा हुन् । ‘म घरको कान्छो सन्तान भएकाले सबैको प्यारो थिएँ । मैले पैसाको क्राइसिस भने धेरै समय झेल्नु परेन । तर लागुऔषधको मात्रा बढ्दै जाँदा भने मैले पनि पैसा अभाव हुन थाल्यो,’ उनले भने ।

उनको घर छेउमा हिमालयन फिल्म हल थियो । त्यहाँ उनले चिनेजानेका दाइहरू काम गर्थे । उनीहरूलाई विभिन्न बहाना बनाएर उनले पैसा नै माग्न थालेका थिए । उनले पैसा माग्दा विभिन्न बहाना बनाउँथे । छोरो सुध्रिन्छ कि भनेर बुवा–आमाले अनुजको विवाह गरिदिए । तर विवाहपछि पनि उनमा कुनै सुधार आएन ।

‘मर्ने बेलामा कमिलाको पनि प्वाँख पलाउँछ’ भन्ने एउटा उखान छ । अनुजको जीवनमा पनि यस्तै भयो । त्यतिबेलादेखि नै पूर्वलागुऔषध प्रयोगकर्ता तथा समाजका अगुवाहरूले सचेतनाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गर्थे । दव्र्यसनमा फसेकाहरूले पनि लागुऔषध जोड्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न थाले । तीमध्ये कतिपय अनुजकै साथी पनि थिए । ‘उनीहरूका कुरा सुनेपछि म पनि दुव्र्यसन छोड्न सक्छु भन्ने लाग्यो,’ उनी भन्छन्, ‘त्यसपछि छोड्ने उपायहरू पनि खोज्न थालेँ ।’

उपाय पनि काम लागेन । उनले झट्टै छोड्न सकेनन् । त्यसपछि उनी छोड्ने भाकल गर्दै मन्दिर धाउन थाले । कूल देउतासँग गुहार गर्न थाले । ‘लास्ट स्टेजमा फसिसकेँ मलाई छोड्ने उपाय देऊ’ भन्दै मन्दिरमा गएर पुकारा गरेको उनी सुनाउँछन् ।मन्दिरका भगवान र कूलका देउताले अनुजको पुकारा सुनेर हो या के हो उनको जीवनमा दुई पात्रले प्रवेश गरे । उनीहरू थिए साथीहरू विदेशी बस्नेत र सुरज जोशी । यी दुई साथीसँग भेटेपछि उनको जीवनले नयाँ मोड लियो । उनीहरूका कुरा सुनेपछि अनुजलाई लागुऔषध छोड्न सकिने रहेछ भन्ने मनोबल बढ्यो ।

‘विदेशी र सुरज मेरा लागि भगवान साबित बने । उनीहरूले लागुऔषध छोड्न सकिन्छ भनेर मलाई हौसला दिए,’ उनले भने । साथीहरूको सल्लाहसँगै अनुजलाई श्रीमती मैयाँ सापकोटाको पनि उनलाई कुलतको दुनियाँबाट बाहिर निकाल्न निकै हौसला र सहयोग गर्दै गइन् । अनुजले कुलत छोड्ने दृढ संकल्प लिए । त्यसपछि परिवारसँग सल्लाह गरेर तीन महिना ४ दिन सुधार केन्द्रमा बसे । त्यसपछि उनमा शतप्रतिशत सुधारको संकेत देखियो । घरमा हर्षोल्लास छायो ।

दुव्र्यसनबाट बाहिर आएपछि अनुजले छुट्टै जिम्मेवारी महसुस गर्न थाले । समाज अब हामीले नै परिवर्तन गर्नुपर्छ भन्ने उनलाई लाग्न थाल्यो । अनि र उनका साथीहरूले एउटा समूह बनाएर सचेतनाका कार्यक्रम गर्न थाले ।

आफै पूर्वप्रयोगकर्ता भएकाले लागुऔषधका बारेमा उनीहरूलाई राम्रो जानकारी थियो । साथै, छोड्ने उपाय पनि उनीहरूले राम्ररी सिकेका थिए । त्यसपछि उनीहरूले लागुऔषध उपचार केन्द्र भन्ने संस्था खोले । यस्ता संस्था पूर्वप्रयोगकर्ताहरूबाट नै सञ्चालन हुने गरेका छन् । अनुज त्यो संस्थाको फिल्ड अधिकृत बने र अहिले पनि छन् । अहिले अनुजहरूले त्यही संस्थामार्फत सचेतनाका विभिन्न कार्यक्रम गर्ने गरेका छन् । ‘डाक्टरको सल्लाहबमोजिम औषधि खाएर सजिलै घरमै बसेर पनि लागुऔषध छोड्न सकिन्छ भनेर हामी सन्देश दिने गर्छाैं,’ उनी भन्छन्, ‘सिरिन्ज एकअर्कामा हानेका लागुप्रयोगकर्तामा एचआइभी एड्सजस्ता रोगहरू लाग्ने खतरा हुन्छ भनेर सचेत गराइरहेका छौँ ।’उनीहरूले अहिले दैनिक ४० जना लागुऔषध प्रयोगकर्तालाई काउन्सिलिङ गर्ने गरेका छन् । दव्र्यसनमा फसेका छोरा–छोरीलाई सुधार गर्न सकिने भनेर उनीहरूले परिवारका सदस्यलाई समेत सम्झाउने गरेका छन् ।

विराटनगर महानगरपालिकाभित्र मात्रै ३२० जनाभन्दा बढी प्रयोगकर्तालाई रिकभर गरेको उनले सुनाए । रिकभर भएकाहरू आफ्नो खुट्टामा उभिने भएको उनले बताए । ‘कोही विद्युत् प्राधिकरणमा त कोही नेपाल प्रहरीमा जागिरे भएका छन् । र, केही साथीहरू सामाजिक क्षेत्रमा सक्रिय छन्,’ उनले जानकारी दिए ।

धेरैजसो कक्षा ११ /१२ पढ्ने विद्यार्थी कुलतमा फसेको भेटिने गरेको अनुजको अनुभव छ । भारतको जोगवनी बजारमा नेपालीलाई लागुऔषध दिने गरेकाले विराटनगर लगायतका क्षेत्रमा यसको कहालीलाग्दो अवस्था रहेको उनले सुनाए ।

सोमबार, ०१ असोज, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर