डेंगु थप फैलिन नदिउँ

 सम्पादकीय

केही समयअघि धरानमा प्रकोपको रुप लिएको डेंगु संक्रमणले कोशी प्रदेशको राजधानी विराटनगरलगायत अन्यत्र पनि पीडितहरु बढिरहेका छन् । अहिलेको समय डेंगुका लागि उर्वर समय किन हो भने भर्खरै बर्खे झरी थामिएको अवस्था छ, मौसम चिसिएको छैन । यस्तो बेलामा डेंगुको जोखिम उच्च हुने गर्छ । त्यसैले विराटनगरसहित मोरङका विभिन्न ठाउँमा, झापा, सुनसरीका धरानबाहेकका स्थानमा पनि संक्रमित बढिरहेका छन् । यसबाट जोगिन हदैसम्मको सतर्कता जरुरी छ ।

हरेक बर्खायामको सुरुदेखि कात्तिक अन्तिमसम्म फैलिने डेंगु संक्रमणलाई महामारीको रुपमा प्रकट हुन नदिन तीन वटै तहका सरकार, नागरिक समाजले सहकार्य गर्नुपर्छ । सहकार्यको मुख्य शर्त सतर्कता नै हो । एउटा निश्चित मापदण्ड पालना गर्न–गराउन सबै सजग हुने हो भने डेंगुले महामारीको रुप लिन पाउँदैन । तर, उच्च सतर्कता र त्यसका लागि सामूहिक तत्परता सबैभन्दा आवश्यक छ ।

भाइरसद्धारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्छ । डेंगु रोग मानिसबाट मानिसमा सोझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । डेंगु ज्वरो लागेको विरामीलाई टोक्दा यसको भाइरस लामखुट्टेमा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छु । डेंगु ज्वरोको रोगीको रगत अरुलाई चढाउँदा, अंग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ । यसले पनि देखाउँछ, सतर्कता अपनाउन सके यसको महामारी रोक्न सकिन्छ । खासगरी सरसफाईमा ध्यान दिने र रोग सार्ने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियान चलाउने हो भने यसको जोखिम घटाउन सकिन्छ ।

यसका निम्ति डेंगु भाइरसलाई सार्ने लामखुट्टेको नियन्त्रण गर्ने र त्यसको टोकाइबाट बच्ने हो । सुत्ने बेलामा झुल लगाएर सुत्ने, घर वरिपरि सफा राख्ने, फोहोर पानी जम्न नदिने, हातखुट्टा छोप्ने गरी लामा कपडा लगाउने, घर वरिपरि लामखुट्टे मार्ने औषधीहरु छर्ने लगायतका सजगता अपनाउनुपर्ने विज्ञहरुले बारम्बार बताउँदै आएका छन् । तर, रोग फैलिएपछि मात्रै सजगता सुरु गर्ने हाम्रो सामाजिक रोग भयावह छ । त्यसैले हरेक वर्ष कुनै न कुनै ठाउँमा डेंगुले सताउने गरेको छ । यसपटक धरानमा बर्खाको सुरुमै प्रकोप फैलिएको थियो । यसबाहेक गाउँ सहरमा फोहर जम्नसक्ने खाल्डोहरु पुर्ने, लामखुट्टे मार्ने औषधिहरु छर्ने गर्नुपर्छ । डेंगु ज्वरो आएपछि आइब्रुफिन , डाइक्लोफिनाक, एस्प्रिन लगायतका औषधि सेवन गर्दा स्वास्थ्य जटिलता आउने गरेको छ । यसबारे पनि सर्वसाधारणलाई सरकारी तहबाट जानकार तुल्याउनुपर्छ । रोगबारे जति बढी सचेतना फैलाउन सकियो सर्वसाधारणले सजगता अपनाउन उत्तिकै सहज हुन्छ । यो दायित्व सरकारको हो । तीन वटै तहका सरकारले यसबारे सहकार्य गर्न जरुरी छ ।

विज्ञहरुका अनुसार तराईका जिल्लाहरुमा तीव्र रुपमा फैलिन सक्ने डेंगु पछिल्ला वर्षहरुमा पहाडमा पनि उत्तिकै देखिन थालेको छ । बर्खाबाटै सुरु हुने यसको संक्रमण चिसो सुरु नहुन्ज्लेसम्मै  चल्छ । त्यसैले जोखिम मंसिरसम्मै कायम रहने गरेको छ । संक्रमण नियन्त्रण हुँदै जाँदा र संक्रमण घट्दै गएपछि सर्वसाधारणले विस्तारै पीडा बिर्सँदै जान्छन् । अर्को साल आउँदा पूरै बिर्सेर सजगता नै अपनाउँदैनन् । यसैले संक्रमण दर भयावह रुपमा बढाउँछ । विज्ञहरुका अनुसार सर्वसाधारणले घर सफाईमा ध्यान दिने र वरिपरि पानी जम्न मात्रै नदिने हो भने ७० प्रतिशत जोखिम घट्ने बताउँछन् । त्यसैले डेंगुको महामारी फैलिन नदिन र यसबाट जोगिन सजगता नै एक मात्र उपाय हो । यसका लागि नागरिक तहबाटै पनि पर्याप्त सजगता अत्यावश्यक छ ।

आइतबार, ३१ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर