विराटनगर । सामान्य विवादमा विराटनगर महानगरको नगर प्रहरीले जनता सामाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको छ ।
पार्किङको विषयमा विवाद भएपछि बुधबार साँझ यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै दुर्व्यवहार गरेको हो ।
यादव विराटनगरको अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीका सञ्चालक हुन् । पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वीललक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए ।
सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि आफूले नजिकै रहेको नगर प्रहरीलाई ‘के गरेको भाई जरिवाना लिने भए लिएर छाडिदिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको यादवले बताए । नगर प्रहरीले आफूलाई ठेलेपछि धकेलाधकेल भएको स्वीकार गर्दै उनले त्यसपछि नगर प्रहरीको टोली आएर लछारपछार पार्दै पसलबाट निकालेर प्रहरी कार्यालय लगेको उनले जानकारी दिए ।
यादवले सञ्चालन गरेको स्नेहा फार्मेसीमा पुगेको नगर प्रहरीले पसलभित्रबाट उनलाई समातेर वडा प्रहरी कार्यालय लगेको थियो । घटनाको सूचना पाएपछि विराटनगरका मेयर नागेश कोइराला वडा प्रहरी कार्यालय पुगेका थिए । मेयरले नगर प्रहरीले गल्ती गरेको भनेपछि यादव घर फर्किएका थिए ।
नगर प्रहरीलेभने यादवले हातपात गरेपछि थप टोली गएर उनलाई ल्याएको जिकिर गरेको छ । विराटनगर महानगरपालिकाका नगर प्रहरी निरिक्षक राजन पौडेलले नेता यादवसँगको विवाद मिलिसकेको बताए । मिलिसकेको विवादको भिडियो सार्वजनिक भएको उनको भनाइ छ । दुबै तर्फबाट कमजोरी स्वीकार गरेपछि विवाद मिलेको उनको भनाइ छ ।
अध्यक्ष यादवले आफुमाथि भएको दुव्र्यवहारबारे चारैतर्फबाट प्रतिक्रिया र नगर प्रहरीविरुद्ध आक्रोश पोखिएको बताए । घटना सार्वजनिक भएपछि दुव्र्यवहार गर्ने नगर प्रहरीलाई बर्खास्त गर्नुपर्ने माग जसपाले गरेको छ ।
यादवले घटनाप्रति महानगर प्रमुखले माफी मागिसकेपछि आफूले सामान्य रुपमा लिएको भएपनि भिडियो सार्वजानिक भएपछि नराम्रो लागेको बताए । यादवमाथि भएको दुव्र्यबहारको चौतर्फी विरोध भइरहेको छ ।