कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदी जेल चलान

संखुवासभा । जिल्ला अदालत संखुवासभाले कारागारमा दुई कैदीको मृत्यु प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका ७ प्रहरी र ८ कैदीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले ७ प्रहरीलाई धनकुटा र ८ कैदीलाई तेह्रथुम कारागारमा राख्न आदेश दिएको छ । उनीहरुलाई कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइसकेको छ ।

बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए । कैदी हत्या घटनामा मोरङको कटहरी गाउँपालिका-१ महेशपुर स्थायी घर भई जिल्ला कारागार खाँदबारीमा कार्यरत प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, इलामको इलाम नगरपालिका-११ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत सुमन गुरुङ, उदयपुरको त्रियुगा नगरपालिका-१४ बाङ्गे स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत दमनसिंह राई, खोटाङको खोटेहाङ गाउँपालिका-८ कात्तिके स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठलाई जेल चलान गरिएको छ ।

यस्तै खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान मनिष राई, सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत प्रहरी जवान पवनकुमार महतो र उदयपुरको लिम्चुङबुङ गाउँपालिका-४ बलाम्ता स्थायी घर भई खाँदबारी कारागारमा सुरक्षा गार्डमा कार्यरत वर्षीय नुशन राईलाई पुर्पक्षका लागि धनकुटा कारागार पठाइएको छ ।

खाँदबारी नगरपालिका–२ चेवा स्थायी घर भई जिल्ला कारागारका बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका रामबहादुर कार्की, खाँदबारी नगरपालिका-९ गैरीगाउँ स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका अनिश शर्मा कट्टेल, भोजपुरको भोजपुर नगरपालिका-१० भैँसीपङ्खा स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सचिन राई, मकालु गाउँपालिका-५ सोलाखानी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका सुमन सारू मगरलाई पुर्पक्षलाई थुनामा पठाइएको छ ।

यस्तै चैनपुर नगरपालिका-३ स्थायी घर भई जिल्ला कारागारमा डाँकाचोरी कसुरमा कैद भुक्तान गरिरहेका टीकाराज चौहान, चिचिला गाउँपालिका-४ खारमेली स्थायी घर भई जिल्ला कारागारमा कर्तव्य ज्यान कसुरमा कैद भुक्तान गरिरहेका नवीनकुमार राई, खाँदबारी नगरपालिका-६ तल्लो पाङ्ठा स्थायी घर भइ जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका इन्द्रध्वज घिमिरे र मादी नगरपालिका-५ वेतिनी स्थायी घर भई जिल्ला कारागारमा बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका मीनबहादुर तामाङलाई पुर्पक्षका लागि तेह्रथुम कारागार पठाइएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए ।

मुलुकी अपराधसंहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको थियो । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।

गत साउन २४ गते संखुवासभा मादीका विनोद तोलांगी र नुवाकोटको ककनीका आकाश बलामीको प्रहरी र कैदीको कुटपिटबाट मृत्यु भएको थियो । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

बिहिबार, २८ भदौ, २०८०, दिउँसोको ०३:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर