कोशीमा डा.शेखर कोइरालाको ‘डबल स्ट्याण्ड’

मुख्यमन्त्री चयन अनैतिक मन्त्री पठाउनु नैतिक । गगनले भनेको ‘किरात’ पहिचान ठिक, प्रचण्डले भनेको बेठिक ।

विराटनगर । नेपाली कांग्रेसमा डाक्टर शेखर कोइराला संस्थापन इतर पक्षका नेता हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका थिए । उनी पराजित हुँदा उनकै प्यानलबाट उम्मेद्वार बनेका उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायत निर्वाचित भए ।

त्यही अभ्यास स्वरुप कोशी प्रदेशमा पनि कांग्रेसको प्रदेशको नेतृत्वमा कोइराला पक्षबाट गुरुराज घिमिरे र संस्थापन पक्षबाट उद्धब थापा सभापतिको उम्मेदवार बने । सभापतिमा ३ मतले उद्धब थापा विजयी भए । त्यही गुट यथावत रहँदा कोशी प्रदेशको दोस्रो प्रदेशसभामा रहेको कांग्रेस संसदीय दलको नेतामा पनि कोइराला पक्षबाट केदार कार्की प्रतिस्पर्धामा उत्रिए भने संस्थापन पक्षबाट उनै उद्धब थापा उम्मेद्वार बने ।
गुट र समूहगत हिसाबले नेता कृष्ण सिटौला पक्षका भएपनि थापालाई देउवा पक्षले पुरै साथ दियो । २९ सदस्य संसदीय दलमा १८ सदस्यको मत पाएर उनै थापा दलको नेता चुनिए । दलको नेताको प्रतिस्पर्धामा रहेका कार्कीले ९ मत ल्याए भने अर्का नेता अमृत अर्यालले २ मत पाए ।
कोशी प्रदेशको संसदीय दलमा अहिले पनि सोही गुट कायमै छ । कांग्रेसमा पनि सोही गुट (संस्थापन पक्ष र इतर पक्ष) क्रियाशील छ ।

तर, कोशी प्रदेशमा कांग्रेस नेता कोइरालाको भनाइ र गराइमा भने दोहोरोपन देखिन थालेको छ । नेता कोइरालाले गठबन्धनको तर्फबाट कांग्रेस नेता उद्धब थापाले सभामुखसहितलाई समावेश गरेर प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेपछि असन्तुष्ट व्यक्त गर्दै सामाजिक संजाल फेसबुकमा स्टाटस लेखे । ‘सभामुख आफैंले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रुपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्दतिको सिद्धान्त विपरित हुन जान्छ । सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसदको कार्य संचालन गर्नु र अध्यक्षता गर्नु हो । कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानूनी शासनको विपरीत हुन जान्छ,’ उनले लेखेको उक्त स्टाटसमा उल्लेख छ ।

तर, कोइरालाले उक्त स्टाटस दुई दिनमै भुले । मुख्यमन्त्रीमा नियुक्ति भएका थापालाई आफ्नो समूहबाट रामकुमार खत्रीलाई मन्त्री बनाउन दबाब दिए । अर्थात् संवैधानिक सर्वोच्चताको विपरीत बनेको सरकारमा आफ्नो भाग खोजे । उनको यो चरित्र परस्पर विरोधी छ ।उद्धब थापा नेतृत्वको सरकार सर्वोच्चको आदेशबाट विघटन भएपछि पनि असंवैधानिक र संवैधानिक सर्वाेच्चताको खिलाफमा कोशी प्रदेशमा भइरहेको गतिविधिको उनी रमिते बने । कोर्ष करेक्सन गर्नेगरी कुनै गतिविधि गरेनन् । दोस्रो पटक पुनः दलका नेता थापाले प्रदेशसभा संचालन गरिरहेको बेला अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीलाई मतदानमा सहभागी गराए । त्यो विषयमा पनि असंवैधानिक रहेको भन्दै अभिव्यक्ति दिएका कोइरालाले उनको सरकार पुनः ढलेपनि चुपचाप त्यही दलका नेता थापालाई स्वीकार गरेर बसे । त्यति मात्रै होइन उक्त सरकारमा पनि आफ्नो गुट (समूह)को भाग कोइरालाले खोजे । यद्यपि उनले भाग नपाउँदै सरकारबाट थापा पदमुक्त भए ।

त्यही विषयमा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलमा दलका नेता उद्धब थापालाई राजीनामा दिन वा मार्ग प्रसस्त गर्न दबाब सुरु भएको छ । संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन प्रक्रियामा थापाले अपनाएको तरिका र विधिलाई अदालतले खारेज गरेको र त्यसले काँग्रेस तथा गठबन्धनको बद्नाम भएको भन्दै उनको विकल्प खोजी सुरु भएको हो ।

जसको विकल्प खोज्नुपर्छ भन्ने पात्र उनै कोइरालाका विश्वासपात्र मानिएका केदार कार्की हुन् । ‘उहाँले गठबन्धनको नेतृत्व पनि गर्न सक्नुभएन र दलको नेताको जस्तो भूमिका निर्वाह पनि गर्न सक्नुभएन, उहाँले अब मार्गप्रसस्त गर्नुपर्छ,’ कार्की भन्छन् । तर, कोइराला भने मौन छन् । मौन मात्रै छैनन्, कोइराला दुई दुई पटक सर्वोच्च अदालतले डण्डा बर्साएको र कांग्रेसको प्रजातान्त्रीक मूल्य, मान्यता र संवैधानिक सर्वोच्चताको विपरीत हिंडेका थापालाई दलको नेताबाट हटाउनु पर्छ भन्ने आफ्नै गुट (समूह)को लाइनमा सहमत देखिएका छैनन् । ‘कांग्रेसको इतिहास र परम्परामा दलको नेता नै मुख्यमन्त्री हुन्छन् । अहिले परिवर्तन गर्न खोज्नु हुँदैन,’ उनले केही दिन अगाडिसम्म भनेका छन् ।

यो मामलामा कोइराला मात्रै होइन, संवैधानिक सर्वोच्चता, विधिको शासन र लोकतन्त्रको कुरा गरिरहने कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पनि मौन छन् । पार्टीको विधान मिचिएको भन्दै पटकपटक सभापति शेरबहादुर देउवासँग लड्न भीड्न तयार भइरहेका महामन्त्री थापा कोशी प्रदेशमा दुईदुईपटक गम्भीर खालका असंवैधानिक काम हुँदा मौन बसेर त्यसलाई समर्थन गरिरहेका छन् । विपिका उत्तराधिकारी ठान्ने विश्वप्रकाश शर्मा आफैं पनि पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको हठको कारण कोशी प्रदेशमा सिर्जित समस्या समाधानमा पहल लिन डराइरहेका छन् ।

डाक्टर शेखर कोइरालाले डबर स्ट्याण्ड देखाएको अर्को घटना पनि छ । कोइराला र महामन्त्री थापा यसअघि एउटै प्यानलबाट महाधिवेशनमा सभापति र महामन्त्री भएर लडेका गरेका थिए । कोइराला–थापाको गुट कायमै रहेको कतिपयले बताइरहे पनि अहिले ‘कोशी’ नामको विषयमा पनि विवाद देखिएको छ ।

महामन्त्री थापाले केही दिन अगाडि पूर्वी नेपालको इलाम र झापा जिल्ला घुमेर काठमाडौंमा पहिचान र किराँत सभ्यताको कुरा सम्बोधन गर्नुपर्ने आशयको अभिव्यक्ति दिए । तर, कोइराला भने प्रधानमन्त्री प्रचण्डले पहिचानको कुरा गरेर द्वन्द्व सिर्जना गरेको अभिव्यक्ति दिँदै हिंडेका छन् । उनले न त आफ्नै पार्टीका महामन्त्री थापाले भनेको कुराको खण्डन गर्न सकेका छन् न त कोशी प्रदेशमा देखा परेको पहिचानको विषयलाई समाधान गर्ने कुनै योजना नै अगाडि सारेका छन् ।

कोइरालाको अर्को दोहोरो चरित्र के हो भने उनले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका सुनिल शर्मालाई बोक्नु हो । कोइरालाले आफ्नो गुटमा रहेकै कारण प्रहरीले अनुसन्धानको दायरामा ल्याएका शर्माको खुलेआम बचाउमा उत्रिए । जबकी कांग्रेस नेता बालकृष्ण खाँडहरुको संलग्न रहँदा कोइराला मौन रहेरका थिए । ‘यसले आफ्नो हुँदा ठिक अर्कोको पर्दा बेठिक भन्ने स्थापित गराउन खोजेको देखिन्छ,’ डाक्टर कोइरालाको यो चरित्र दोहोरो भएको स्नातकोत्तर क्याम्पस विराटनगरका पूर्व प्रमुख डाक्टर मनोज राउत बताउँछन् । ‘संसदीय निर्वाचनको समयमा पनि उनले गठबन्धनबाटै चुनाव लडे । आफू एक्लै लड्ने कतै भनेनन् । चुनाव जितेपछि चाहीं म पहिलेदेखि नै प्रष्ट थिएँ गठबन्धन गर्नु हुँदैन थियो भन्दै हिंडे । उनी आफू बौद्धिक मान्छे हुन् । तर व्यवहार बौद्धिक जस्तो भएन,’ राउत भन्छन्, ‘सुनिल शर्माको नक्कली सर्टिफिकेटको विषयमा पनि शेखर कोइराल बौद्धिक थिए, विधिको शासन मान्थे भने छानविन गर भन्नुपथ्र्यो । तर, उनले त्यो भनेनन् । एउटा सम्भावना बोकेको मान्छेले गर्ने दोहोरो चरित्र राम्रो होइन । त्यसले उनलाई फाइदा गर्दैन ।’

डाक्टर कोइरालाले पार्टी सभापति शेरबहादुरलाई थर्काउने बेलामा ओलीको भाषा पनि बोल्ने गरेको राउत सुनाउँछन् । ‘जबजब उहाँलाई देउवा थर्काउन मन लाग्छ, ओलीको भाषा बोल्छन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि मध्यावधि मध्यावधि भन्दै हिंडेका होइनन्,’ राउतले भने, ‘त्यसबेला पनि गगन थापाले संसद विघटन गलत हो भन्दै हिंडेका थिए । डाक्टर शेखर कोइराला पनि अर्को डाक्टर बाबुराम भट्टराई बन्ने भए । उहाँको पछि लाग्नेहरु कोही पनि गन्तव्यमा पुग्दैनन् । आफूले फाइदा उठाउने र अरुलाई बिर्सने उहाँको बानी छ ।’

बिहिबार, २८ भदौ, २०८०, बिहानको ०८:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर