सम्पादकीय
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन नेपाली राजनीतिका एक जना समन्वयकारी र बेदाग व्यक्तित्वको दुःखद् अस्त हो । समन्वय, सहकार्य र एकताका एक अथक वकालतकर्ता नेम्वाङको त्यही समन्वयकारी व्यक्तित्वकै बलमा २०७२ असोज ३ मा नयाँ संविधान जारी हुन सम्भव भएको थियो । भन्नलाई त सबैले दलीय आग्रहबाट माथि उठौं भन्दै आएका थिए । तर, सुवास नेम्वाङ एक त्यस्ता पात्र थिए, जसले सधैं दलीय स्वार्थभन्दा बिल्कुल माथि उठेर सोचे, व्यवहार गरे । हरेकपटक सर्वस्वीकार्य रुपमा संविधानसभाको अध्यक्ष र प्रतिनिधिसभाको सभामुख बनेका उनी नेपाली राजनीतिका उदाहरणीय पात्र थिए । तिनै उदाहरणीय नेता नेम्वाङप्रति हामी भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
अरु धेरै नेता र नेम्वाङबीचको मुख्य फरक नै के थियो भने, अघिल्लो दिन पदमा हुन्जेल एउटा कुरा, पदमुक्त भएपछि अर्कै कुरा गर्ने स्वभाव उनको थिएन । लोकप्रिय हुने बहानामा उनले कहिल्यै उडन्ते कुरा गरेनन् । भीड उफार्न उनले उत्तेजनाको सहारा पनि लिएनन् । कतिपयले उनको कमजोरी ठानेको उनको त्यही स्वभाव अन्ततः नेम्वाङको सबैभन्दा बलियो पक्षका रुपमा स्थापित भयो । कानुन र संविधानका ज्ञाता व्यक्ति उच्च राजनीतिक नेतृत्वमा पुग्दाको लाभ मुलुकले पायो । उनीबाट मुलुकले अझै धेरै पाउन सक्थ्यो । यद्यपि उनको अप्रत्याशित निधनले त्यो अवसर मुलुकले पाउन सकेन ।
उनी संविधानप्रति सदा प्रतिबद्ध रहे । नेपालका बहुसंख्यक नेताहरुले संविधानको धारा–उपधारालाई आफ्नो स्वार्थ अनकूल परिभाषित गर्दै आएका छन् । उनकै दलका नेता केपी ओलीले दुई पटक प्रतिनिधिसभा विघटन गरे । ओलीको कदमको उग्र विरोध गर्ने काँग्रेससहितका दलहरुले कोशीमा सरकार बनाउन र टिकाउन संवैधानिक प्रबन्धको हुर्मत लिए । भलै, उनीहरु सबैलाई सर्वोच्च अदालतले दण्डित गरिदियो । नेम्वाङले कहिल्यै संविधानको आफू अनुकूल व्याख्या गर्ने अतिरिक्त लोभ देखाएनन् । उनको निधनबाट मर्माहत एमाले तथा अन्य सबै दलहरुले भविष्यमा संविधानको अक्षरश पालना गरिदिए भने त्यो नै संविधानवादी नेता नेम्वाङप्रतिको साँचो श्रद्धाञ्जलि हुनेछ ।