धनकुटा । किसानका खेतीपातीमा लाग्ने बाँदर नियन्त्रणका लागि धनकुटाका सामुदायिक वनमा वनजन्य फलफूल खेती सुरु गरिएको छ । कोशी प्रदेश सरकारको रु १० लाखको सहयोमा आर्थिक वर्ष २०७९÷८० देखि डिभिजन जिल्ला वन कार्यालयले उक्त कार्यक्रम सुरुवात गरेको हो । प्रदेश सरकारको ‘प्रदेश वन विकाश कार्यक्रम’अन्तर्गत करिब आठ हेक्टर (१५७ रोपनी) मा फलफूल खेती गरिएकोे छ ।
जिल्लाका सात वटा सामुदायिक वनमा विभिन्न नौ जातका १२ हजार सात सय वनजन्य फलफूलको बिरुवा रोपिएको कार्यालयका योजना अधिकृत राजन राईले जानकारी दिए । पाख्रिबास नगरपालिकाको जनता सामुदायिक वन, महालक्ष्मी नगरपालिकाको अर्खौले ,छथर जोरपाटी गाउँपालिकाको गोगनपानी, धनकुटा नगरपालिकाको ढोडनी कालीवन र लामाटार, चौबिसे गाउँपालिकाको बुटेनी र सागुरीगढी गाउँपालिकाको जोगीथुम्का सामुदायिक वनमा बिरुवा रोपिएको छ ।
प्रत्येक सामुदायिक वनमा कहटहर, अम्बा, अमला, जामुन, लप्सी, बर्रो, ओखर, हलुवाबेद र चिउरीका एक हजार १२ देखि एक हजार १९ वटासम्म बिरुवा रोपिएको उनले जानकारी दिए । वनजन्य फलफूलका बिरुवा रोपेपछि आगामी दिन किसानलाई बाँदरको आतंकबाट राहत मिल्ने र वनको जैविक विविधताको संरक्षणमा टेवा मिल्ने कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताए । ‘बाँदरले वनमा नै खान पाएपछि किसानलाई दुःख दिनेछैन’ उनले भने ।
यस कार्यक्रमलाई निरन्तरता दिँदै यो पनि वर्ष करिब दस हजार वनजन्य बिरुवा रोप्न तयार भइरहेको योजना अधिकृत राई जानकारी दिए । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष मा प्रदेश सरकारको रु पाँच लाख बराबरको कार्यक्रम छुट्याएको उनले उल्लेख गरे । जिल्लामा हाल तीन सय ८७ सामुदायिक वन छन् ।
दुर्घटनामा प्राचार्यको मृत्यु
झापा , २६ भदौ (हाम्रोमत)– कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उनी सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२४८ नम्बरको बोलेरो जीपले ठक्कर दिएको थियो ।
सो दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीलाई उपचारका लागि विर्तामोडस्थित बिएन्डसी हस्पिटल पुर्याइएको थियो । उनलाई हस्पिटलमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न बोलेरो जीपका चालक पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ७ बस्ने ३७ वर्षीय होमप्रसाद सेन्च्युरीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालले बताए ।