इटहरी। इटहरी क्षेत्रका सरकारी (सामुदायिक) विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई अबदेखि दिवा खाजामा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनाएको छ ।
उपमहानगरपालिकाले अबदेखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो । जङफुट नखुवाउन उपमहानगरले पहिलो पटक दिवा खाजाको टेन्डर जारी गरेको हो ।
उपमहानगरपालिकाले हरेक दिन फरक–फरक खाजाको मेनुसहित बोलपत्र आह्वान समेत गरी सकेको छ । उपमहानगरपालिका खरिद शाखाका अनुसार आइतबार प्रति विद्यार्थी २१० ग्राम तीन किसिमका फलफूल खुवाउनुपर्नेछ । यस्तै, सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटरसँगै पनिर र चिउरा खुवाउनुपर्नेछ । मङ्गलवार मिक्स गेडागुडीसँगै चिउरा खुवाउनपर्नेछ । बुधवार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ ।
उपमहानगरपालिकाद्वारा सार्वजनिक गरिएको सूचनामा बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ । यस्तै, शुक्रवार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । साहाकारीका लागि भने मटर–पनिर र चिउरा खुवाउनुपर्नेछ । सार्वजनिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न दिवा खाजा कार्यक्रम कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि खुवाउँदै आएको छ ।
यसअघि संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो । तर, विद्यालयमा समयमै रकम नआउँदा खाजा खुवाउन समस्या हुने गरेको विद्यालय प्रशासनले जनाउँदै आएको थियो ।इटहरी उपमहानगरपालिकाले अब नयाँ मेनु सार्वजनिक गरेसँगै दिवा खाजा कार्यक्रमका लागि चालु आर्थिक वर्षमा नौ करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनायो ।
इटहरीका मेयर हेम कर्ण पौडेलले संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार संघीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताए ।
इटहरी क्षेत्रमा दिवा खाजा खुवाउनुपर्ने ५० वटा शिक्षालय रहेका छन् । जसमा सामुदायिक, धार्मिक र बाल विकास केन्द्र पर्दछन् । यी विद्यालयका आठ हजार २८ जना दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिका खरिद शाखाका खेम श्रेष्ठले बताए ।