विराटनगर । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मोरङको लेटाङमा मङ्गलवार दिउँसो तनाव भएको छ । जनप्रिय मेडिकल अगाडि मृतकको शव राखेर दिउँसो आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए ।
लेटाङ नगरपालिका –४ की ३० बर्सिया विनीता तामाङको मृत्यु भएपछि स्थानीयले शव राखेर विरोध गरेका हुन । तामाङलाई उपचारका लागि भदौ २२ गते उक्त मेडिकलमा ल्याएका थिए । उपचारपछि तामाङ घर फर्केकी थिइन । परिवारका सदस्यले सोमबार बिरामीको स्वास्थ्य अवस्था बिग्रिएको भनेर सोही मेडिकलमा लगेका थिए ।
‘मेडिकलले सुविधा सम्पन्न अस्पतालमा लैजानु भनेर रेफर गरिदिएको रहेछ,’ इलाका प्रहरी कार्यालय लेटाङ प्रहरी निरीक्षक भिमलाल ओलीले भने ‘त्यसपछि तामाङलाई थप उपचारका लागि सोमबार साँझ विराटनगरको विराट नर्सिङ होममा लगिएको रहेछ । उपचारकै क्रममा मङ्गलवार बिहान मृत्यु भएपछि आफन्तले मेडिकलकै कमजोरीले मृत्यु भएको भन्दै विरोध गरेका हुन ।’
समयमै रोग पत्ता नलगाएको र उपचारका नाममा झुलाउने काम गरेको भन्दै आफन्त मेडिकलप्रति आक्रोशित बनेका थिए । मृतकका श्रीमान् वैदेशिक रोजगारीमा छन् । श्रीमान् नआएसम्म शवलाई मदन भण्डारी ट्रमा सेन्टरमा उर्लाबारीमा राख्ने सहमति भएपछि अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ । शव अहिले मदन भण्डारी ट्रमा सेन्टरमा राखिएको छ । प्रहरी निरीक्षक ओलीका अनुसार तामाङको डेंगुका कारण मृत्यु भएको थियो ।