चोरीको मोटरसाइकल चलाउने गरेको उजुरी परेपछि वरिष्ठ सई लक्ष्मणमाथि छानबिन गर्दै प्रहरी

विराटनगर । कोशी प्रदेश प्रहरी गण रानीमा लेखापालको रूपमा कार्यरत वरिष्ठ सई लक्ष्मण महतरा चोरीको मोटरसाइकल प्रयोग गर्ने गरेको पाइएको छ ।

विगत दुई वर्षदेखि १५० सिसिको चोरीको पल्सर मोटरसाइकलमा प्रयोग गर्ने गरेको पाइएको हो ।

उनले चोरीको मोटरसाइकलमा प्रदेश नं। १–०१–०१३ प ७०२२ राखेर कुदाउने गरेको भन्दै प्रहरी प्रधान कार्यालय साउन २१ गते बेनामे उजुरी दर्ता भएको छ । प्रहरी प्रधान कार्यालयमा दर्ता भएको उजुरीको नम्बर ४५६ रहेको छ ।

उक्त कार्यालयमा जेठ १६ गते वरिष्ठ सई महाराविरुद्ध उजुरी परेको थियो । महाराविरुद्ध उजुरी परेपछि छानबिनको लागि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा उक्त पत्र पढाएको छ ।

उजुरी उपर छानबिन भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिए । ‘उजुरी दर्ता भएपछि अहिले छानबिन भइरहेको छ,’ उनले भने । उजुरीमा परेजस्तो छानबिनबाट प्रमाणित भए कारबाहीको भागिदार हुने उनले बताए । ‘प्रहरी सङ्गठनको मूल्य, मान्यता र आचरण विरुद्धको काम गर्ने जोकोही पनि कारबाहीको भागिदार बन्नेछन्,’ एसपी कँडेलले भने ।

सई महतरा यसअघि इलाका प्रहरी रानी विराटनगरमा लेखापाल रहेका थिए । उनी सरुवा भएर प्रदेश प्रहरी गणमा पुगेका हुन् । इप्रका रानीमा हुँदादेखि उनी चोरीको मोटरसाइकल प्रयोग गर्दै आएको उजुरीमा उल्लेख । इप्रका रानीमा लेखापाल रहँदा महतराले तस्करीसँग पनि मोटो रकम असुली गर्ने गरेको आरोप लागेको छ । लामो समय रानीमा बस्दा चिनजान भएको तस्करसँग अहिले पनि उनी नियमित समर्पक गर्ने र रकम माग्ने गरेको उजुरी पत्रमा आरोप छ ।

मङ्गलबार, २६ भदौ, २०८०, दिउँसोको ०४:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर