विराटनगर । मोरङ र सुनसरीमा हातहतियार देखाउँदै श्रृंखलाबद्ध लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । २० दिनमा ११ ठाउँमा श्रृंखलाबद्ध लुटपाट गर्दै हिँड्ने गिरोहका मुख्य नाइकेसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये एक जना नाबालक रहेका छन् । उनीहरूलाई मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । यसरी पक्राउ पर्नेहरूमा सुनसरी दुहबी नगरपालिका ४ का वर्ष ३२ का नसुदिन मियाँ, सोही ठाउँका ३० वर्षे मो।अलिम मुर्तुजा, मोरङ बुढिगंगा गाउँपालिका ४ बस्ने वर्ष ४० का रिजवन मिया, भारत घर भई हाल दुहबी नगरपालिका ६ का वर्ष ४० का मो।आलम, बुढिगंगा गाउँपालिका ५ बस्ने वर्ष २१ का मो। नजरूल मिया र सोही ठाउँका वर्ष २५ का सिजाम आलम रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनक कुमार दाहालले बताए । पक्राउ परेका रिजवान लुटपाटको मुख्य नाइके रहेको प्रहरीले जनाएको छ ।
उनको योजना अनुसार लुटपाट हुने गरेको डिएसपी दाहालले बताए । रिजवान २०६४ देखी २०७९ सम्म गरी जम्मा १० वटा अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । उनी विरुद्ध डाँका ज्यान, चोरी, हात हतियार खर खजाना, ज्यान मार्ने उद्योग लगायतका मुद्दामा अनुसन्धान भई २०७० मा हात हतियार मुद्दामा पुर्पक्षको लागि कारागार चलान भए । रिजवान २०६४ सालको डाँका मुद्दा र २०६५ सालको डाँका ज्यान मुद्दाको फरार प्रतिवादी समेत हुन् ।
आपराधिक घटनामा संलग्न भई कैद भुक्तान गरी निस्किएपछि ७ जनाको समूहले मोरङ र सुनसरीको विभिन्न स्थानमा श्रृंखलावद्ध लुटपाट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए । सुनसरीको बर्जूमा डियुटिमा खटिएको सादा पोषकको दुई जना प्रहरीको हतियार लुट्ने समूह पनि यही रहेको एसपी पोखरेलले बताए । शुक्रवार साढे १२ बजे डियुटिमा खटिएको प्रहरीको चाइनिज पेस्तोल ६ जनाको समूहले लुटपाट गरेका थिए । लुटेरा समूहले प्रहरीको चाइनिज पेस्तोल म्यागेजिनबाट फाइरिङ नभएपछि उनीहरूलाई आक्रमण गरेर हतियार लुटेर लगेका थिए । सीमावर्ती क्षेत्रमा हतियार देखाएर लुटपाट गर्ने समूह सक्रिय रहेको सूचनाका आधारमा त्यस सम्बन्धित सूचना सङ्कलन गर्न प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई प्रहरीले खटाएको थियो । प्रहरीको लुटेर लगेको चाइनिज पेस्तोल र लुटेरासँग भएको कटुवा पेस्तोल प्रहरीले बरामद गरेको छ ।
प्रहरीले उनीहरूलाई शनिवार पक्राउ गरेको हो । भदौ २२ गते राती ११ः ३० बजेको समयमा बुढिगंगा गाउँपालिका ५ कोहलपुर क्षेत्रमा पैदल हिँडिरहेका ३ जना व्यक्तिहरूलाई लुटपाट गर्न खोजेका थिए । ‘लुटपाट गर्ने सूचना प्रहरी कन्ट्रोलमा सूचना प्राप्त भई तत्काल त्यस तर्फ प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन भएको थियो । कोहलपुर क्षेत्रको नहर सडकमा शङ्कास्पद रूपमा हिँडिरहेका ६ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो,’ एसपी पोखरेलले भने । पक्राउ परेपछि अनुसन्धानको क्रममा मोरङ प्रहरीका डिएसपीको कमान्डमा खटिएको टोलीले बुढिगंगा – ५ स्थित मुस्लिम टोलबाट लुटपाटमा प्रयोग भएका हातहतियार र सवाधारी साधन बरामद भएको थियो । प्रहरीले हातहतियार रिजवान मियाको घरबाट बरामद गरेको हो ।
‘लुटपाटमा संलग्न गिरोहले राती र एकान्त स्थानको फाइदा उठाउँदै बाटो ढुकेर योजनाबद्ध तरिकाले लुटपाट गरेको देखिएको छ,’ एसपी पोखरेलले भने, ‘उनीहरूले लुटपाटमा डर त्रास देखाउन कटुवा पेस्तोल, रड, लाठी लगायतका घरेलु हातहतियार प्रयोग गरेको देखिएको छ । लुटपाट गरेपछि पीडितलाई आक्रमण पनि गरेको पाइएको छ ।’ पक्राउ परेका लुटेराको समूहले २० दिनमा मोरङ र सुनसरीको विभिन्न थानमा ११ वटा लुटपाट गरेको पाइएको छ । उनीहरूले भदौ २ देखि २२ गतेसम्म दैनिक जसो मोरङ र सुनसरीको विभिन्न स्थानमा लुटपाट गरेको देखिएको छ । एक दिनमा फरक फरक स्थानमा दुई पटकसम्म चोरी गरेको पाइएको छ । प्रहरीले उनीहरूको साथबाट चाइनिज पेस्तोल, कटुवा पेस्तोल, तीन थान रड, धारिलो हतियार चक्कु २ थान बरामद गरेको छ । यस्तै दुई थान मोटरसाइकल, नेपाली नगद १ लाख ७५ हजार २७५, भारतीय नगद ११ हजार ६ सय बरामद गरेको छ ।