कोशीमा बजेट सम्बन्धी दुई अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले सिफारिस गरेको बजेट सम्बन्धी दुई अध्यादेश प्रदेश प्रमुखले जारी गरेका छन् ।

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेश जारी गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । जेठ ३१ गते जारी दुबै अध्यादेश भदौ १० गते निष्क्रिय भएका थिए ।

प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय भएको सरकारले जनाएको छ । उद्धब थापा नेतृत्वको सरकारलाई सर्बोच्च अदालतले कामचलाउमा परिणत गर्दै दीर्घकालीन महत्वका निर्णय नगर्न आदेश दिएपछी भदौ १० बाट प्रदेश बजेट शुन्यतामा थियो । हिक्मत कार्की नेतृत्वको सरकार बनेपछि पुन: अध्यादेश जारी भएको हो ।

आइतबार, २४ भदौ, २०८०, बिहानको १०:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर