विराटनगर । संखुवासभा जिल्ला कारागारमा दुई जना कैदीबन्दीलाई यातना दिई हत्या भएको दाबीसहित पन्ध्र जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । यसमा सात प्रहरी र आठ जना कैन्दीबन्दीलाई प्रतिवादी बनाइएको छ ।
घटनाको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार गरेको हो । जन्मकैद माग दाबीसहित जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दायर भएको सरकारी वकिल कार्यालयले जनाएको छ ।गत साउन २४ गते ‘कुटपिट र यातनाबाट’ संखुवासभा मादी नगरपालिका बस्ने विनोद तोलाङ्गी र नुवाकोट ककनीका विकाश श्रेष्ठ भनिने आकाश बलामीको मृत्यु भएको थियो । यो घटनामा राज्यका जिम्मेवार निकायबाट समेत ज्यादती भएको राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्थलगत अध्ययनपछि निश्कर्ष सार्वजनिक गरेका थिए ।
दुबै मृतकलाई कारागारभित्रको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको आरोप लगाउँदै नियन्त्रणमा लिई आन्तरिक सुरक्षामा खटिएका प्रहरी र कैदीबन्दीहरुले सामूहिक कुटपिट गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको थियो ।जिल्ला अदालत संखुवासभाका स्रेस्तेदार रामचन्द्र केसीले भोलि आइतबारदेखि अभियुक्तहरुसँग बयान लिने काम सुरु गरिने जानकारी दिएका छन् । उनले भने, “बयानपछि वादी पक्ष र प्रतिवादीका कानुन व्यवसायीले थुनछेक बहस गर्नुहुने छ ।”
ज्यान सम्बन्धी मुद्दामा कारागारका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, प्रहरी जवानहरु दमनसिंह राई, सुमन गुरुङ, पवनकुमार महतो, मनिष राई र नसुन राईलाई प्रतिवादी बनाइएको छ ।यसैगरी चौकीदार राम कार्की, बडा नाइके अनिष शर्मा कट्टेल, सहनाइकेहरु सुमन सारुमगर, सचिन राई, टीकाराज चौहान र नवीनकुमार राई, कैदीहरु इन्द्रध्वज घिमिरे र मीनबहादुर तामाङलाई प्रतिवादी बनाइएको छ ।
मुद्दामा हकवालालाई क्षतिपूर्ति दिलाउन समेत माग गरिएको छ । घटनामा २१ प्रहरीलाई पक्राउ गरी अनुसन्धान भएको थियो । निमित्त जेलर राजेन्द्र घिमिरेसहित ६ जनविरुद्ध भने मुद्दा नचलाइने भएको छ । उनीहरु सरकारी साक्षी हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । घटनामा कैदीबन्दी बलामीको कारागारभित्र र तोलाङ्गीको उपचारको क्रममा जिल्ला अस्पताल खाँदबारीमा मृत्यु भएको थियो ।