विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले कोशी प्रदेशमा शुक्रबार गठन भएको नेकपा एमाले नेतृत्वको सरकारलाई समर्थन नगर्ने बताएका छन् । कोशी प्रदेशसभामा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सरकारलाई समर्थन गर्ने तर मन्त्री नपठाउने प्रतिक्रिया दिएको २४ घण्टा नबित्दै राप्रपाका केन्द्रीय अध्यक्ष लिङ्देनले सरकारलाई समर्थन नगर्ने प्रष्ट पारेका हुन् ।विराटनगरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोशी सरकारमा के गर्ने भन्ने विषयमा कुनै धारणा नबनाइसकेको तर सरकारलाई समर्थन भने नगर्ने बताएका हुन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका लिङ्देनले राप्रपा प्रदेश संरचना आवश्यक छैन भन्ने पक्षमा रहेको भन्दै प्रदेशमा स्थायित्व चाहिएको भए दुई ठूला दलहरु मिल्नु राम्रो हुने उनले बताए । उनले भने ‘कोशीमा राजनीतिक स्थायित्व चाहिएको हो भने कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्छ, राप्रपाको प्रदेश र सरकार दुवै प्राथमिकताको विषय नै होइन त्यसैले उपधारा ५ मा नपुगेसम्म राप्रपाले कुनै धारणा बनाउन जरुरी ठानेको छैन ।’राप्रपा कुनै पक्षमा नलागिदिँदा प्रदेशसभा नै विघटन हुने परिस्थिति बनेको अवस्थामा मात्र निर्णायक भूमिका खेल्ने अवस्थामा पुग्ने भएकोले त्यस अगाडि नै ठूला दलहरुबीच सहकार्य भए राम्रो हुने अध्यक्ष लिङ्देनले बताए ।
अहिले मुख्यमन्त्री कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा (३) अनुसारको नै रहेको र अब उक्त धाराको उपधारा (५) अनुसार सरकार गठन भएपछि मात्रै निर्णय गरेर अघि बढ्ने लिङ्देनले बताए । ‘उपधारा (५) को सरकार गठनको बेलामात्रै राप्रपाले मध्यावधि चुनाव उपयुक्त कि एमालेसँगै सहकार्य गरेर निरन्तरता दिने वा अन्य कसैलाई समर्थन गर्न उपयुक्त हुन्छ वा आफूले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ भन्ने निर्णय गर्छौं,’ उनले भने, ‘अहिले कोशीमा सत्ता साझेदारीका लागि कुनै दलसँग कुनै किसिमको ठोस सहमति भएको छैन ।’