समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा गर्ने

विराटनगर । समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा आयोजना गर्ने भएको छ । सत्तारुढ चार राजनीतिक दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा आवद्ध समाजवादी मोर्चाले सोमबार विराटनगरमा सन्देशसभा गर्ने तयारी गरेको हो ।

विराटनगरसभालाई चारदलका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । मोर्चाले आयोजना गर्ने सन्देशसभाको सम्पूण तयारी पूरा भएको मोर्चा सम्बद्ध दल तथा मोर्चाको प्रदेश संयोजक जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले जानकारी दिए । शनिबार पत्रकार सम्मेलन गर्दै मोर्चाले सबै तयारी पूरा गरेको जानकारी दियो । सभामा प्रदेशसभा सबै जिल्लाहरुबाट पालिकास्तरीय नेता तथा कार्यकर्ताहरु प्रतिनिधिको रुपमा सहभागी हुनेछन् ।

सन्देशसभालाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्नेछन् । मोर्चाले सात मध्ये ५ प्रदेशमा सन्देशसभा आयोजना गरिसकेको छ । समाजवादी मोर्चाले चारवटै पार्टीलाई कार्यकर्ता ल्याउन निर्देशन दिएको छ । सभामा विराटनगर, मोरङ, सुनसरी र झापाका कार्यकर्तालाई बढी प्राथमिकता दिएका छन् । पहाडी जिल्लाबाटभने प्रतिनिधिमूलक कार्यकर्ताहरुको सहभागीता रहनेछ ।

 

भदौ २४, २०८०, बिहानको ०७:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर