विराटनगर । कोशी प्रदेश सरकारले बजेट सम्बन्धी अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको अध्यादेश प्रदेशसभाबाट पारित नभई स्वतः निष्क्रिय भएपछि पुनः अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राति बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक अध्यादेश २०८० र स्रोतगत तथा कार्यक्रमगत विवरणसहितको विनियोजन अध्यादेश २०८० जारी गर्न प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष सिफारिस गर्ने निर्णय गरेको पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ता तीलकुमार मेन्याङ्बोले जानकारी दिए ।
प्रवक्ता मेन्याङ्बोले प्रदेशलाई बजेट शून्यतामा जान नदिन बजेट सम्बन्धी अध्यादेशहरु जारी गर्ने निर्णय भएको बताउनुभयो । बैठकले मन्त्रालयगत रुपमा प्राप्त बजेट सम्बन्धी सूचनाहरुलाई बजेट प्रणालीमा परिमार्जन तथा समावेश गर्ने निर्णय बैठकले गरेको उनले बताए ।
मन्त्रीपरिषद्को बैठकले अर्को व्यवस्था नभएसम्मका लागि पूर्वाधार विकास मन्त्री मेन्याङ्बोलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी कोशी प्रदेश नामकरणको विषयमा देखिएको समस्या समाधान गर्न मन्त्री मेन्याङ्बोलाई वार्ता समितिको संयोजक तोक्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । वार्ता समितिमा रहने सदस्यहरुको विषयमा पछि निर्णय गरिने उनले जानकारी दिए ।