विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिदैछ । ५५ औं संस्करणको रथयात्राको अपरान्ह तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ ।
भारतको कलकत्ताबाट झिकाइएको कालीगढले रथ श्रृंगार गरेर तयार गरेका छन् । रथ श्रृंगार बिगतभन्दा फरक आर्कषक बनाइएको आयोजकको भनाइ छ ।
रथयात्रा बजारको ४३ स्थानमा विश्राम गराइनेछ । रथयात्राका लागि ५ सय बढी स्वयंसेवक परिचालन हुनेछन् भने सुरक्षाको लागि ५ हजार प्रहरी परिचालनको तयारी छ ।
रथले परिक्रमा गर्ने सडकमा भगवान श्रीराधाकृष्णको फोटो राखिएको झण्डाहरु राखिएका छन् । रथयात्राका लागि आउने भक्तजनको संख्या यो वर्ष बढ्ने आयोजकको अनुमान छ । रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान छ ।
मन्दिर परिसरबाट बिहीबार दिउँसो ३ बजेबाट रथयात्रा सुरुहुनेछ । रथको अगाडि सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिनेछ । रथयात्रा मन्दिर परिसरबाट मेनरोडको ट्राफिक चोक पुगेर जनआन्दोलन चोक हुँदै कोशी राजमार्गबाट बरगाछी पुगेर ९ किलोमिटर दुरी तय गरी पुनः मन्दिरमा पुगेर विर्सजन हुनेछ ।
रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिनेछ । रथयात्रामा सहभागी हुन् देशभरका उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख तथा उप्रमुखहरुले निम्तो दिइएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
राधाकृष्ण रथयात्रा अवलोकनका लागि आउने भक्तजनलाई सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूसँग जोगिन आग्रह गरेको हो ।
चोरी, लुटपाट, पाकेटमारी लगायतका गतिविधि हुनसक्ने भएका कारण बालबच्चा र बृद्ध बृद्धालाई नल्याउन पनि प्रहरीले आग्रह गरेको हो । प्रहरीले आफ्ना सवारी साधनलाई सुरक्षित रुपमा राख्न पनि आग्रह गरेको छ ।