विराटनगर । विराटनगरमा बिहीबार हुने राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधरणलाई ११ बुँदे सुझाव दिँदै सूचना जारी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ ।
यस्तै रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले ११ बुँदे सूचना जारी गरेको हो ।प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामाग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग (राधाकृष्ण मन्दिर (तिनपैनी चोक–ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक–दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर) र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको हो ।
यस्तै सवारी साधनहरूमा ह्यान्डल लक, ह्विल लकलगायतका सुरक्षाका अतिरिक्त विधिहरु अपनाउन, सिसिटीभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउन, वृद्धवृद्धाले साथमा सहयोगी लिएर मात्र आउन प्रहरीले आग्रह गरेको छ ।
भीडभाडको फाईदा लिई महिला तथा बालबालिकाहरूमाथि हुनसक्ने दुव्र्यवहार प्रति सजग रहन भन्दै प्रहरीले घरका सवै सदस्यहरु एकैपटक घरबाट ननिस्की आलो–पालो गरेर मात्र आउन पनि आग्रह गरेको छ ।प्रहरीले जुनसुकै व्यक्ति शंकास्पद व्यक्ति हुन सक्ने भएकोले हर हमेसा चनाखो रहन र कुनैपनि प्रकारको चोरी, लुटपाट, दुब्र्यवहार लगायतका समस्या भएमा वा कसैको गतिविधि संकास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिन पनि अपिल गरेको छ ।