विराटनगर । नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने अभियानको क्रममा उदयपुरमा पहिरोले अबरुद्ध भएको सडक सुचारु गरिएको छ ।
जनतासँग माओवादी– विशेष रुपान्तरण अभियानको क्रममा उदयपुरको उत्तरी क्षेत्रमा पहिरोले पुरिएको सडकबाट पहिरो पन्छाएर सडक सुचारु गरिएको हो ।
श्रमदानमा जुटेका अभियानकर्ताहरुले पहिरोले पुरिएको ताप्ली ३ का प्रेमनारायण श्रेष्ठको घरबाट पनि पहिरो पन्छाएको छ । अभियानकर्ताहरुले लिम्चुङबुङ, रौतामाई, ताप्ली, उदयपुरगढीको ९ वटा सडकमा रहेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएका छन् ।
अभियानको क्रममा स्वास्थ्य संस्था, विद्यालय, सार्वजनिक स्थान र बजारको सरसफाई गरिएको पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका प्रमुख टंक राईले जिल्ला सदरमुकामस्थित उदयपुर अस्पतालको सरसफाई गर्दै अभियानको उद्घाटन गरेका थिए ।
प्रमुख राईको कमाण्डमा त्रियुगाको १६ र रौतामाईको ८ वडामा विविध गतिविधिका साथ अभियान सञ्चालन भइरहेको छ । पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य अमनलाल मोदीले बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा अभियानको नेतृत्व गरेका छन् ।
यस्तै राष्ट्रिय सभाको प्रमुख सचेतकसमेत रहेका पार्टी केन्द्रीय सदस्य गोपी अछामी र उदयपुर जिल्ला इन्चार्जको जिम्मेवारीमासमेत रहेकी केन्द्रिय सदस्य एवम् संघीय सांसद धनमाया विक को कमाण्डमा कटारीमा अभियान चलिहरको छ ।
अर्का केन्द्रीय सदस्य मुक्साहाङ मेनेङ्वोको कमाण्डमा उदयपुरगढीको ८ वटै वडामा अभियान संचालन भइहरको ेछ । संघीय सांसद तथा केन्द्रिय सदस्य रामकुमार राईको कमाण्डमा ताप्लीको ५ र लिम्चुङबुङको ५ वडामा अभियान चलिरहेको छ । अभियानको क्रममा उदयपुरको उदयपुरगढी गाउपालिका ८ स्थित नरेटार, दुम्सीटार र गडेरे टोलमा पार्टी, अनेसंघ (क्रान्तिकारी) र वाइसीएलको टोल कमिटी गठन भएको छ ।
अभियानको क्रममा शहिद परिवारको सम्मान, शहिदको शालीकमा माल्यार्पण, एकल महिला सम्मान, खेलकुद गतिविधि लगायतसमेत भएको पार्टी जिल्ला समन्वय समितिका संयोजक विनोद कटुवालले जानकारी दिए ।
उता खोटाङ जिल्लामा नेकपा माओवादीको अभियान सबै वडामा संचालन भएको छ । जिल्लाका ७९ वटै वडाहरुमा पार्टीको अभियानको सन्देश पुुगेको छ ।
पार्टीको केन्द्रिय सदस्य देखि प्रदेश तथा पालिकाको नेतृत्वलाई वडाको कमाण्ड गर्ने जिम्मा दिएर अभियान शुरु गरिएको छ । अभियानको क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ नम्बर वडा विजयखर्कमा विभिन्न पार्टी परित्याग गरी ५ जना माओवादीम प्रवेश गरेका छन ।
अभियानको क्रममा केन्द्रीय सदस्य धर्मशिला चापागाईंको नेतृत्वमा धनकुटामा विभिन्न कार्यक्रम भइहरेको जिल्ला समन्वय समिति संयोजक कुशुमकुमारी श्रेष्ठले जानकारी दिइन ।
धनकुटा नगरपालिका ९ बेलहरा डाँडामा अवस्थित जनयुद्धका सहिद दिपक तिवारीको सम्मान र सम्झना गर्दै सालिकमा माल्यार्पण गरि सरसफाई गरिएको छ । सो अवसरमा स्थानीय अगुवा जेष्ठ कृषकलाई सम्मानसमेत गरिएके छ ।
उता इलाममा माओवादीले जनताको मन जित्ने प्रयाससहित अभियान सञ्चालन गरिरहेको छ । इलामको १० वटै पालिकाका सबै वडामा एकैसाथ अभियान चलिरहेको छ ।
माङसेबुङ गाउँपालिकामा माओवादीले अभियानको पहिलो दिन कार्यकर्ता भेटघाट र जनश्रमदान गरेको थियो । माङसेबुङ १ मा माओवादी वडा समितिले धार्मिक देवस्थल नावालुङ परिसरमा सरसफाई गरी वृक्षारोपण गरेको छ । माङसेबुङ गाउँपालिका ३ मा माओवादीले चतुरेस्थित जीवन ज्योति माध्यमिक विद्यालयको प्राङ्गण, चतुरे बजार, बजारको ढल र बाटो सरसफाई गरेको छ ।
यस्तै माङसेबुङ गाउँपालिका ५ मा आगलागी पीडितको घर निर्माणमा श्रमदान गरेको छ भने माङसेबुङ गाउँपालिका २, ४ र ६ मा माओवादीले कार्यकर्ता भेटघाट गरी अभियान चलाइहरेको छ ।
इलामको चुलाचुलीम जनश्रमदान गरी अभियान सञ्चालन भएको छ । स्थानीय बुकुवा युवा क्लब भवन प्राङ्गण सरसफाईमा जनश्रमदान गरी माओवादीले अभियान सुरु गरेको थियो ।