विराटनगर ।राजनीतिलाई नीतिहरूको पनि उत्कृष्ट नीति मानिन्छ । राजनीतिलाई देश, समाज र जनताको सेवाको महत्वपूर्ण संयन्त्रको रुपमासमेत लिइने गरिन्छ । तर पछिल्लो समय राजनीतिप्रति जनताका केही गुनासाहरु छन् । राजनीतिबाट प्राप्त हुने जिम्मेवारीलाई दुरुपयोग गरी लाभ लिने प्रवृत्तिका कारण जनगुनासो बढेको हो । । हुन पनि अहिले उपप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म बनेकाहरू भ्रष्टाचार र अनियमिततामा संलग्न भएको आरोपमा हिराशतको यात्रामा छन् । भ्रष्टारका ठूला काण्डहरू एकपछि अर्को गर्दै खुल्दै जाँदा कुनै न कुनै रुपमा राजनीतिक दलका नेताहरु संलग्न भएको पाइनुले पनि जनताले गर्दै आएको गुनासो र लगाएको आरोपमा सत्यता छैन भन्न गाह्रो छ ।यसै मेसोमा कोशी प्रदेशकी पूर्वउपसभामुख सरस्वती पोख्रेल भने राजनीति गर्नेले राजनीतिलाई पेसा बनाउन नहुने बताउँछिन् । उनी व्यवहारबाटै त्यसलाई पुष्टि गर्ने प्रयत्नमा छन् ।
नेकपा (माओवादी केन्द्री केन्द्रकी केन्द्रीय सदस्यसमेत रहेकी उनी राजनीति गर्न आत्मनिर्भर बन्ने सुर गरिरहेकी छन् । उनले केही समय अघिबाट विद्यालयमा अध्यापनको काम सुरु गरिसकेकी छन् । इटहरीका दुई विद्यालयमा अध्यापनमा उनको दैनिकी व्यस्त छ । उनले जनता माध्यमिक विद्यालय र इडियुटेक विद्यालयमा अध्यापन गराउँदै आएकी छन् । उनले दुवै विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई सामाजिक विषयको अध्यापन गराउँछिन् । लामो समयदेखि पूर्णकालीन राजनीति गर्दै आएकी उनले राजनीतिलाई व्यवस्थितरुपमा अगाडि बढाउन शिक्षण पेशामा आवद्ध भएको बताएकी छन् ।
‘राजनीति पेशा नभई सेवा हो । यसर्थ, यसलाई कहिले पनि पेशा बनाउनु हुँदैन,’ उनको तर्क छ,‘ आर्थिक पाटोमा आत्मनिर्भर भएपछि मात्रै राजनीतिलाई अगाडि बढाउन सकिन्छ भनेर म अहिले इटहरीका दुईवटा विद्यालयमा कक्षा ११ का विद्यार्थीलाई सामाजिक विषय पढाउन थोलकी छु ।’
राजनीतिको विकल्पमा शिक्षक पेशा भने नरोजेको उनले स्पष्ट पारिन् । दोस्रो पेशाको रुपमा शिक्षणलाई रोजेको उनको भनाइ छ । ‘आर्थिक हिसाबले पनि सहयोग पुग्ने र जनतामा जोडिन पनि सजिलो हुने भएकाले मैले कक्षा ११ का विद्यार्थीलाई रोजेकी हुँ,’ उनले भनिन् ।
राजनीति गर्नेहरू आत्मनिर्भर भएमात्रै भ्रष्टाचार रोकिने उनको तर्क छ । राजकीय पदमा पुगेपछि अन्य कुनै पेसा व्यवसाय गर्नु हुँदैन भन्ने सोच अब बदल्नुपर्छ,’ उनी थप्छिन्, ‘आफ्नो क्षमता र दक्षताले भ्याएसम्म नेताहरूले पनि वैकल्पिक पेशा अँगाल्ने हो भने भ्रष्टाचार नियन्त्रणमा ठूलो मद्दत पुग्छ ।’
यस्तो छ राजनीतिक यात्रा
प्रदेशसभाको पहिलो कार्यकालमा उपसभामुख थिइन् पोख्रेल । माओवादी केन्द्रबाट समानुपातिक सांसद बनेकी उनले पाँच वर्षसम्म उपसभामुखको भूमिका राम्रोसँग निर्वाह गरिन् । २०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्ष निर्वाचन लडेकी पोख्रेल नेकपा (एमाले)का रोहितबहादुर कार्कीसँग पराजित भएपछि शिक्षण पेशमा आवद्ध भइन् ।
प्युठानदेखि काठमाडौंसम्म
प्युठानको झुम्रुक गाउँमा जन्मिएकी पोख्रेलले गाउँकै बाल शिक्षा माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरेकी थिइन् । विद्यालय शिक्षा पूरा गरेपछि उनी उच्च शिक्षाका लागि काठमाडौं गइन् । उनले पाटन क्याम्पसबाट आइए र बिएसम्मको अध्ययन गरिन् । विद्यार्थीराजनीतिमा सक्रिय हुँदै उनी सोही क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवारसमेत बनिन् ।उनी कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयबाट पनि स्ववियु सभापतिको उम्मेदवार बनेकी थिइन् । मालेनिकट अखिलबाट स्ववियु सभापतिको उम्मेदवार बनेकी सरस्वतीको लागि निर्वाचन सिकाइ मात्रै बन्यो । उनका लागि निर्वाचन भने अहिलेसम्म अफाबसिद्ध नै बन्ने गरेको छ ।
होस्टलबाटै पक्राउ, जेलबाट परीक्षा
पोख्रेलले राजनीतिमा धेरै उचारचढाव भोगेको अनुभव संगालेकी छन् । अखिलको राजनीतिमा जमेकी उनी जनयुद्धमा सहभागी भएपछि २०५८ सालमा कीर्तिपुरको होस्टेलबाटै उनी पक्राउ परेकी थिइन् । तत्कालीन विद्रोही माओवादीले सुरू गरेको सशस्त्र युद्ध चरम उत्कर्षमा पुगेका वेला उनी पक्राउ परेकी हुन् । प्युठानमा जन्मिएकी उनले क्याम्पस पढ्ने क्रममा होस्टेल वार्डेनको कामसमेत गरिन् ।त्यसपछि उनी ०५७ सालदेखि माओवादीको भूमिगत राजनीतिमा सक्रिय बनेकी थिइन् । उनी २०५८ भन्दाअघि नेकपा (माले) निकट अनेरास्वियुको केन्द्रीय सदस्यहुँदै एमालेनिकट अनेरास्वियुको पनि केन्द्रीय सदस्य बेनेकी थिइन् । विद्यार्थीको राजनीतिबाट उदाएकी पोख्रेलले डिग्रीको परीक्षा भने जेलबाट दिएकी थिइनन् ।
२०५७ मा ऐक्षिक अंग्रेजी विषयमा स्नातकोत्तर अध्ययन गर्दागर्दै उनी भूमिगत भएकी थिइन् । त्यसपछि पक्राउ परेकी उनले जेलबाट नै परीक्षा लेखेकी थिइन् । उनले अंग्रेजीमा स्नातकोत्तर गरिन् । पछि उपसभामुख पदमा रहँदा पनि उनले अर्को विषयमा मास्टर्स गरिन् । पछिल्लो पटक उनले राजनीति शास्त्रमा गरेकी हुन् । साथै, उनले एलएलबीको पनि परीक्षा लेखेकी छिन् । तर नतिजा भने आएको छैन ।
एउटा संयोग
जसरी अहिले पूर्वसभामुख पोख्रेल शिक्षिका बनेकी छिन् तत्कालीन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी पनि विद्यालयका पूर्वप्रधानाध्यक थिए । उनी धरानको शिक्षा सदन माविका प्रअ थिए ।प्रअबाट बिदा भएका भण्डारीले सभामुख हुने अवसर पाएका थिए । संयोग कस्तो मिलेको छ भिने शिक्षण पेशा छोडेपछि भण्डारी सभामुख बने भने उपसभामुख छोडेपछि पोख्रेलले शिक्षण पेशा अंगालिन् ।