धरान ।धरानमा चार महिना अघिदेखि फैलिएको डेंगी संक्रमणको महामारी अझै कम हुन सकेको छैन । गत असारदेखि संक्रमणदर ७० देखि ७२ प्रतिशत कायमै रहेको देखिएकाले जनस्वास्थ्यविद्हरुले अझै केही महिना महामारी जारी रहने बताएका छन् ।संक्रमण दर स्थिर रहे पनि निःशुल्क स्वास्थ्य शिविरहरुमा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष र डेंगी अस्पतालमा उपचार गर्न जानेको संख्यामा भने केही कमी आएको छ ।
उपमहानगरपालिका, वडा समिति कार्यालय, विभिन्न टोल विकास समितिले सर्च एण्ड डिस्ट्रोय अभियानलाई तीव्रता दिएको बताए पनि प्रभावकारी नहुँदा डेंगी संक्रमण दरमा कुनै परिवर्तन नआएको हो । उपमहानगरको स्वास्थ्य महाशाखाले दैनिक संकलन गरेको संक्रमितको तथ्याङ्कले धरानमा डेंगी संक्रमणको दर स्थिर रहेको पाइएको छ ।
भदौ १ गते देखि ९ गतेसम्म डेंगी संक्रमितको संख्या दैनिक २ सय देखि २ सय ७० जना पाइएको थियो भने भदौ दोश्रो सातामा दैनिक सरदर १५० जना पोजिटिभ पाइएका छन् । पछिल्लो तीन दिनयता भने दैनिक सरदर सय जनालाई डेंगी संक्रमण हुने गरेको पाइएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पब्लिक स्कुल अफ हेल्थ एण्ड कम्युनिटी मेडिसिनका एक जनस्वास्थ्यविदले भने, ‘डेंगी महामारीको इपिसेन्टर बनेको धरानमा तीन महिनाअघि नै जनस्वास्थ्य आपतकाल घोषणा गरेर कम्तीमा एक महिनाका लागि भए पनि सारा शक्ति यसैमा केन्द्रित गरेका भए अहिलेसम्ममा संक्रमण दर १०–१५ प्रतिशतमा झार्न सकिन्थ्यो ।’
जनस्वास्थ्य आपतकाल घोषणाका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले प्रदेश र संघीय सरकारलाई सिफारिससमेत गरेकी थिइन् । तर उपमहानगरपालिकाले नै स्वास्थ्य आपतकाल घोषणा गर्न जरुरी नरहेको जनाएपछि उक्त सिफारिस बेवारिसे भएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्लो समय कतिपयलाई दोहो¥याएर पनि डेंगी संक्रमण भइरहेको छ । फाट्टफुट्ट मात्र डेंगीको लार्भा मार्ने सर्च एण्ड डिस्ट्रोयको काम हुने गरेको बताइएको छ । भदौ १७ गते बेलुकासम्म २० हजार ७ सय ६७ जनाको परीक्षण गरिएकामा १४ हजार ८ सय ५६ जनामा डेंगी पोजिटिभ देखिएको छ । यो भनेको डेंगी संक्रमण दर ७२ प्रतिशत मानिएको छ ।
उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार जेठ तेस्रो सातायता एक वृद्धासहित धरानमा १३ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा धरानका २, ५, १०, १६, १७, का एक–एक जना छन् भने धरान १८ र १५ का दुई–दुई जना, धरान ११ मा भने चार जना छन् । मृत्यु हुनेमा ७ महिला र ६ पुरुष छन् । तीमध्ये तीन बालबालिका छन् ।
डेंगी संक्रमण बढेसँगै धरानका विभिन्न वडासमिति कार्यालय, उद्योग वाणिज्य संघ, धरान सभागृह, छाताचोकको पुरानो अस्पताललगायतमा निःशुल्क जाँच र औषधि वितरण भने भइरहेको छ । ज्वरो घटाउने सिटामोल, रक्तचाप बढाउन र पखाला नियन्त्रण गर्न जीवनजल, खाना रुचाउने भिटामिन लगायत वितरण गरिएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए ।
भदौरे झरी र गर्मी मौसम कायमै रहेकाले अझै केही साता धरानमा डेंगी संक्रमण जारी रहने भएकाले सतर्कता अपनाउनु पर्ने र जाडोको मौसम सुरु भएपछि संक्रमण दर र संक्रमितको संख्या घट्ने जनस्वास्थ्यविदहरुले बताएका छन् । साथै संक्रमितमध्ये १–२ प्रतिशतलाई स्वास्थ्यमा जटिलता आउनसक्ने र ज्यानै जानसक्ने भएकाले दीर्घरोगी, बालबालिकाको स्वास्थ्यप्रति संवेदनशील हुन सुझाव दिएका छन् ।