कोशी सरकारविरुद्धको मुद्दा मल्ल, चुँडाल र सुवेदीको पूर्ण इजलासमा

विराटनगर । कोशी सरकार गठनविरुद्धको रिट सर्बोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा परेको छ ।

आइतबार न्यायाधीशद्वय सपना मल्ल प्रधान र शुष्मलता माथेमाको इजलासले सो मुद्दा पूर्ण इजलासमा लैजाने आदेश गरेको थियो ।

मुख्यमन्त्री उद्धव थापाले भदौ ४ मा प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनले थापालाई बर्खास्त गरि आफुलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

भदौ ७ को प्रारम्भिक सुनुवाइमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले दीर्घकालीन असर पर्ने प्रकृतिका साथै नीतिगत प्रकृतिका निर्णय नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतको उक्त आदेशले मुख्यमन्त्री थापा नेतृत्वको सरकार कामचलाउ अवस्थामा छ ।
मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले समेत विश्वासको मत दिएका थिए । यस्तै अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनाले समेत मत दिएको विषयमा समेत कार्कीले विपक्षी बनाएका छन् ।
सोमबार, १८ भदौ, २०८०, बिहानको ११:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर