बुद्धिविलासमा सिमित विषादी बहस

 सम्पादकीय

कृषि उत्पादनमा आत्मनिर्भर बन्ने भनेर जतिसुकै योजनाको चाङ लागे पनि एउटा तितो सत्य हो, हामी अझै पनि कृषिमा परनिर्भर छौं । ताजा तरकारीसमेतमा हामीले परनिर्भरता भोगेको लामो समय भइसकेको छ । यद्यपि ताजा तरकारीदेखि माछा–मासुजन्य पदार्थ र अन्य खाद्यवस्तुहरुमा नेपाली उपभोक्ताहरुले भोगिरहेको जोखिम भने बुद्धिविलासको विषय मात्रै हुनु दुःखद् छ । खासगरी खाद्यवस्तुहरुमा मिसाइने विषादी र ती परीक्षण बेगरै नेपाली उपभोक्ताको भान्सासम्म आइपुग्ने अवस्था विद्यामान छ । केही साताअघि कोशी प्रदेशका विभिन्न नाकाहरुमा यसबारे बहस चुलिएको थियो । तर, केही दिनपछि त्यो मुद्दा सेलाइहाल्यो । न यो विषयले कुनै निष्कर्ष पाएको छ न कुनै छलफल र बहसको व्यवस्थित सिलसिला नै चलेको छ । यसले नेपाली उपभोक्ता असुरक्षित खाद्यवस्तु उपभोग गर्न अभिषप्त छन् ।

नेपालमा आन्तरिक उत्पादनले नपुगेर आयातको परिमाण वर्षेनी चुलिँदो छ । हरेक वर्ष ठूलो परिमाणमा फलफूल–तरकारी आयात हुने गरेको छ । पोषणका लागि अति महत्वपूर्ण मानिने यिनै तरकारी र फलफूल बजारबाट किनेर ल्याएर ढुक्कले खान सकिने अवस्था छैन । डरलाग्दो विषय त के छ भने देशमा खपत हुने कूल विषादीको ८५ प्रतिशत तरकारीमै प्रयोग हुने गरेको तथ्य विषादी व्यवस्थापनमा जिम्मेवारी पाएको सरकारी निकाय–प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको प्रकाशनले देखाउँछ । उक्त केन्द्रको तथ्यांकअनुसार देशमा विषादीको खपत पनि निरन्तर बढिरहेको छ । यो डरलाग्दो अवस्थाबाट कसरी उपभोक्तालाई सुरक्षित खाद्यवस्तुको पहुँचमा पुर्याउने ? सम्भवतः सरकार र उपभोक्ता अधिकारवादी संघ–संस्थाको प्राथमिकता यो हुनैपर्छ ।

विषादी भएका तरकारी वा फलफूल किन्नु र उपभोग गर्नु उपभोक्ताको बाध्यता बनेको छ । बजारमा विषादी प्रयोग नगरिएका फलफूल, तरकारी कीरा लागेका र एकनासले नसप्रेका पनि हुन सक्छन् जुन सामान्यतया उपभोक्ताले किन्दैनन् । अधिकांश उपभोक्ता चिल्लो, चम्किलो र फस्टाएको आकर्षक उत्पादन रोज्ने गर्छन् । उपभोक्ताको छनोट र मागअनुसारको कृषि उपज नै बजारले उपलब्ध गराउँछ र यस्ता उत्पादन विषादीको अधिकतम प्रयोगबाट मात्रै सम्भव हुन्छ । खेतबारीमा प्रयोग गर्ने मल, बीउ, विषादी आदि सामग्री नजिकैको बजारमा रहेको एग्रोभेटबाट खरिद गर्दासमेत हामी हेक्का राख्न सक्दैनौं । कुन बीउ, रसायन र बिषादी प्रयोग गर्ने बिक्रेताकै सल्लाहमा चल्नु पर्ने बाध्यकारी हुने पनि स्थिति छ । विषादी प्रयोगमा कुनै पनि सावधानी नअपनाउने सामान्य सोचमा पनि सजगता छैन । विषादी सम्बन्धी ऐन र नियमावली आएको तीन दशकभन्दा बढी भइसक्दा पनि किन अझै हाम्रा किसानमा अज्ञानता कायमै छ ? किन हाम्रो विषादीको नियमन प्रणाली अझै कमजोर छ ? यसमा पनि सरकारले गम्भीर बन्न जरुरी छ ।

नेपालमा विषादी नियमन गर्ने कार्य सरकारी पक्षबाट अगाडि बढ्दैछ भनिएपनि ब्यवहारत गति ज्यादै सुस्त छ । पछिल्लो समय विषादीका विभिन्न विकल्पबारे अनुसन्धान भएका छन् यी विधि एवं प्रविधि उत्पादनको हिसाबले उत्तिकै प्रभावकारी सावित भएको तर्क पनि प्रयोगर्ताहरुले गर्दै आएका छन् । रासायनिक विषादी प्रयोग नगरी उत्पादन नै नहुने प्रायः किसानको सोचाइ हुन्छ । गाउँघरमै पाइने वनस्पति र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक विषादी पनि प्रभावकारी र सुरक्षित पाइएको छ । गोबर मल, कम्पोस्ट मल, गड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्व परिपूर्ति गर्छ । तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गरिनुपर्छ । यसबारे आम किसानलाई सूचित गर्ने र प्रयोगका लागि प्रोत्साहित गर्नुपर्छ ।

सोमबार, १८ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर