लोड हुँदैछ...

मेनु

बुद्धिविलासमा सिमित विषादी बहस

बुद्धिविलासमा सिमित विषादी बहस

कृषि उत्पादनमा आत्मनिर्भर बन्ने भनेर जतिसुकै योजनाको चाङ लागे पनि एउटा तितो सत्य हो, हामी अझै पनि कृषिमा परनिर्भर छौं । ताजा तरकारीसमेतमा हामीले परनिर्भरता भोगेको लामो समय भइसकेको छ । यद्यपि ताजा तरकारीदेखि माछा–मासुजन्य पदार्थ र अन्य खाद्यवस्तुहरुमा नेपाली उपभोक्ताहरुले भोगिरहेको जोखिम भने बुद्धिविलासको विषय मात्रै हुनु दुःखद् छ । खासगरी खाद्यवस्तुहरुमा मिसाइने विषादी र ती परीक्षण बेगरै नेपाली उपभोक्ताको भान्सासम्म आइपुग्ने अवस्था विद्यामान छ । केही साताअघि कोशी प्रदेशका विभिन्न नाकाहरुमा यसबारे बहस चुलिएको थियो । तर, केही दिनपछि त्यो मुद्दा सेलाइहाल्यो । न यो विषयले कुनै निष्कर्ष पाएको छ न कुनै छलफल र बहसको व्यवस्थित सिलसिला नै चलेको छ । यसले नेपाली उपभोक्ता असुरक्षित खाद्यवस्तु उपभोग गर्न अभिषप्त छन् ।

नेपालमा आन्तरिक उत्पादनले नपुगेर आयातको परिमाण वर्षेनी चुलिँदो छ । हरेक वर्ष ठूलो परिमाणमा फलफूल–तरकारी आयात हुने गरेको छ । पोषणका लागि अति महत्वपूर्ण मानिने यिनै तरकारी र फलफूल बजारबाट किनेर ल्याएर ढुक्कले खान सकिने अवस्था छैन । डरलाग्दो विषय त के छ भने देशमा खपत हुने कूल विषादीको ८५ प्रतिशत तरकारीमै प्रयोग हुने गरेको तथ्य विषादी व्यवस्थापनमा जिम्मेवारी पाएको सरकारी निकाय–प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको प्रकाशनले देखाउँछ । उक्त केन्द्रको तथ्यांकअनुसार देशमा विषादीको खपत पनि निरन्तर बढिरहेको छ । यो डरलाग्दो अवस्थाबाट कसरी उपभोक्तालाई सुरक्षित खाद्यवस्तुको पहुँचमा पुर्याउने ? सम्भवतः सरकार र उपभोक्ता अधिकारवादी संघ–संस्थाको प्राथमिकता यो हुनैपर्छ ।

विषादी भएका तरकारी वा फलफूल किन्नु र उपभोग गर्नु उपभोक्ताको बाध्यता बनेको छ । बजारमा विषादी प्रयोग नगरिएका फलफूल, तरकारी कीरा लागेका र एकनासले नसप्रेका पनि हुन सक्छन् जुन सामान्यतया उपभोक्ताले किन्दैनन् । अधिकांश उपभोक्ता चिल्लो, चम्किलो र फस्टाएको आकर्षक उत्पादन रोज्ने गर्छन् । उपभोक्ताको छनोट र मागअनुसारको कृषि उपज नै बजारले उपलब्ध गराउँछ र यस्ता उत्पादन विषादीको अधिकतम प्रयोगबाट मात्रै सम्भव हुन्छ । खेतबारीमा प्रयोग गर्ने मल, बीउ, विषादी आदि सामग्री नजिकैको बजारमा रहेको एग्रोभेटबाट खरिद गर्दासमेत हामी हेक्का राख्न सक्दैनौं । कुन बीउ, रसायन र बिषादी प्रयोग गर्ने बिक्रेताकै सल्लाहमा चल्नु पर्ने बाध्यकारी हुने पनि स्थिति छ । विषादी प्रयोगमा कुनै पनि सावधानी नअपनाउने सामान्य सोचमा पनि सजगता छैन । विषादी सम्बन्धी ऐन र नियमावली आएको तीन दशकभन्दा बढी भइसक्दा पनि किन अझै हाम्रा किसानमा अज्ञानता कायमै छ ? किन हाम्रो विषादीको नियमन प्रणाली अझै कमजोर छ ? यसमा पनि सरकारले गम्भीर बन्न जरुरी छ ।

नेपालमा विषादी नियमन गर्ने कार्य सरकारी पक्षबाट अगाडि बढ्दैछ भनिएपनि ब्यवहारत गति ज्यादै सुस्त छ । पछिल्लो समय विषादीका विभिन्न विकल्पबारे अनुसन्धान भएका छन् यी विधि एवं प्रविधि उत्पादनको हिसाबले उत्तिकै प्रभावकारी सावित भएको तर्क पनि प्रयोगर्ताहरुले गर्दै आएका छन् । रासायनिक विषादी प्रयोग नगरी उत्पादन नै नहुने प्रायः किसानको सोचाइ हुन्छ । गाउँघरमै पाइने वनस्पति र गाईवस्तुको पिसाब प्रयोग गरी बनाइने जैविक विषादी पनि प्रभावकारी र सुरक्षित पाइएको छ । गोबर मल, कम्पोस्ट मल, गड्यौला मलले बालीनालीलाई आवश्यक पर्ने धेरै पोषणतत्व परिपूर्ति गर्छ । तिनको नियमित प्रयोगले रासायनिक मललाई विस्थापित पनि गर्न सक्छ । त्यसैले यस्ता प्राङ्गारिक मलको उत्पादनलाई व्यवसायीकरण गरिनुपर्छ । यसबारे आम किसानलाई सूचित गर्ने र प्रयोगका लागि प्रोत्साहित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।