कर्मचारी महासंघले पनि थाल्यो तीन महिने अभियान

संगठन सुदृढ पारी सुशासन स्थापनामा सघाउने

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी महासंघले शनिबारबाट तीन महिना संगठन सुदृढीकरण र सुद्धीकरण अभियान सुरु गरेको छ । उदयपुरको सदरमुकाम गाइघाटमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेर कर्मचारीहरुले अभियान सुरु गरेका हुन् ।

‘संगठन निर्माण तथा सुदृढीकरण सम्बन्धी तीन महिने अभियान’ विषयमा छलफल आयोजना गरेर संगठनलाई जनमैत्री बनाउने र सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निश्कर्ष प्रस्तुत गरेको थियो ।

नेकपा माओवादी केन्द्रसँग वैचारिक निकटता राख्ने कर्मचारीहरुले सुशासन र चुस्त सेवा प्रवाहलाई संगठनको बटमलाइन बनाएर काम गर्ने निर्णय गर्दै यसलाई अभियानकै रुपमा कोशी प्रदेशका सबै जिल्लामा पु¥याउने तयारी गरेको छ ।

शनिबारबाट सुरु भएको अभियानको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय अनुशासन विभागका प्रमुख टंक राईले गरेका थिए । अभियान उदख्घाटन गर्दै नेता राईले कर्मचारीमाथि सेवाप्रवाहमा ढिलासुस्ती गर्ने गरेको, भ्रष्टाचारमा संलग्न भएको र सेवाग्राहीप्रति उत्तरदायी नभएको आरोप आउने गरेको भन्दै माओवादीसँग निकट कर्मचारीहरुले त्यस्ता आरोपमा व्यवहारबाट खण्डन गर्न सक्नु पर्ने बताए । उनले पार्टीले सञ्चालन गरेको सुशासनको जगमा टेकेर निजामती कर्मचारीलाई देश र राष्ट्रको पक्षमा इमान्दार भएको प्रमाणित गर्ने चुनौती सामना गर्न आग्रह गरे । नेता राईले माओवादी कर्मचारीहरुले अब्बल सेवा प्रवाह गरेर आफूलाई प्रमाणित गर्न आग्रह गरे ।

यसैगरी कार्यक्रममा बोल्दै नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज नरमाया भट्टराई ‘गरिमा’ले समाजवादी आन्दोलनलाई मनपराउनेहरुले पुरानो शैलीको प्रशासनिक संरचनालाई बदलेर नयाँ र आधुनिक बनाउनु पर्ने बताइन् । त्यसका लागि सबै कर्मचारीहरुले एक पटक आफूबाटै परिवर्तनको यात्रा आरम्भ गर्ने हिम्मत गर्नुपर्ने बताइन् ।

नेपाल राष्ट्रिय कर्मचारी महासंघ केन्द्रीय सचिवालय सदस्य रेवति ढुंगानाले भलबाढीमा सबैले पौडी खेलेको भएपनि अब जनताप्रति उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिए । अभियान उद्घाटन कार्यक्रम नेपाल राष्ट्रिय कर्मचारी संघ कोशीका अध्यक्ष रुद्र सुवेदीले सञ्चाचलन गरेका थिए ।

शनिबार, १६ भदौ, २०८०, साँझको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर