इटहरीका मुख्य राजमार्गमा ई–रिक्सा चलाउन रोक

इटहरी । इटहरी उप–महानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाएको छ ।

सिटी सफारीहरूले दुर्घटना निम्त्याएकाले मुख्य राजमार्गमा आइतवारबाट प्रतिबन्ध लगाउने निर्णय गरिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । सिटी सफारीहरू मुख्य सडकमा यात्रुलाई कुरेर बस्ने र जथाभाबी यात्रु चढाउन तथा ओरालेका कारण दुर्घटना बढेको मेयर पौडेलले बताए ।

बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मुख्य राजमार्गमा सिटी सफारी गुड्न नदिने निर्णय गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उप(महानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर राजमार्गमा रोक लगाउने निर्णय भएको उप(महानगरपालिकाले जनाएको छ ।

शुक्रवार इटहरी उप(महानगरपालिकामा बसेको बैठकले इटहरीको मुख्य चोक र राजमार्ग क्षेत्रमा अन्य सवारीसाधन गुड्न पनि असहज भएकोमा सफारीले थप असहज पारेको भन्दै सफारीलाई मुख्य सडकमा निषेध गरिएको ट्राफिक प्रहरी कार्यालय कोशीका डीएसपी मोहनविक्रम दाहालले बताए ।

यसका साथै उप(महानगरपालिकाले इटहरीबासीको मात्र सफारी दर्ता गर्ने भएको छ । इटहरीमा मुख्य समस्याका रूपमा देखिएको ई–रिक्सा सवारी कार्यविधि बनेसँगै यातायात व्यवस्थापनमा सहजता हुने देखिएको छ ।

साथै, उपमहानगरले व्यवस्थित रूपमा लैजानलाई ई–रिक्सा दर्ता प्रक्रियामा नम्बरिङ पनि गर्ने भएको छ । जसले गर्दा ई–रिक्सा पहिचान गर्न ट्राफिक व्यवस्थापनमा सहजता हुनेछ ।

इटहरी भित्र करिब ५ हजार सफारी सञ्चालनमा रहेको भए पनि ११ सय सफारी मात्र दर्ता प्रक्रियामा आएको उपमहानगरले जनाएको छ।

भदौ १६, २०८०, दिउँसोको ०१:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर