आफ्नो अवस्थामा सुधार ल्याउन र इतिहास दोहो¥याउने लक्ष्यसहित माओवादी केन्द्रले देशभर तीन महिने अभियान सुरु गर्दैछ । भदौ १६ गते एकैपटक देशभरका सबै वडामा उक्त अभियान उद्घाटन गर्ने योजना छ । अभियानमा माओवादीका अध्यक्ष प्रचण्डसहितका नेताहरु वडावडामा पुग्ने कार्यक्रम छ । त्यसका लागि कार्यक्रमहरु तय गरिएका छन् र नेताहरु फिल्डमा उत्रिएका छन् । कोशी प्रदेशमा पनि माओवादीले सुरु गरेको तीन महिने अभियानको पूर्व तयारी सकिएको छ । शान्ति प्रक्रियापछि पहिलो पटक कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी लिएर आएका माओवादी नेता चक्रपाणि खनाल (बलदेव) सँग कोशी प्रदेशमा माओवादीको अवस्था के हो ? अभियान कसरी संचालन गर्ने हो ? अब माओवादीले पुरानै अवस्थामा पुग्न सक्छ ? लगायतका विषयमा कुराकानी गरेका छौं । प्रस्तुत छ उनीसँगको कुराकानीको अंशः
माओवादीले चलाएको अघिल्ला अभियानहरु भन्दा अहिलेको तीन महिने अभियानको चर्चा अलिक बढी देखियो । कोशी प्रदेशमा कस्तो तयारी गरिरहनुभएको छ ?
– अघिल्लो दुई महिने अभियान चाहिं हामीले सुरु ग¥यौं तर सोचेजस्तो सफलतामा पु¥याउन सकिएन । अहिले चलाउन लागिएको तीन महिने अभियानमा दुईवटा कुरालाई केन्द्रीत गरेका छौं । एउटा विधान सम्मेलनमार्फत स्ट्रोङ विधान र संगठनको आकार प्रकार आदिलाई विधानमा सामान्य ढंगले फेरबदर गर्न नसकिने गरी व्यवस्था गर्ने तयारी हो । दोस्रो भनेको आठौं महाधिवेशनको पुरक जस्तो विशेष महाधिवेशन गर्ने र त्यो विधान सम्मेलनले निर्माण गरेको विधानको आधारमा निर्वाचित कमिटीहरु निर्माण गर्ने । वैचारिक ढंगले पनि विहंगम छलफल गरेर जाने । त्यो विशेष महाधिवेशन चाहिं फागुनसम्ममा गर्ने भन्ने हो । त्यसैलाई मूर्त रुप दिनलाई यो तीन महिने बनाइयो । यो अभियान अहिले प्रारम्भिक ढंगले भदौ १ गतेदेखि १५ सम्म विशेष तयारी भनेका छौं । संगठनात्मक तयारी भनेका हौं । त्यसमा मुख्य गरेर जिल्ला बैठक, इलाका र वडासम्मको बैठक गर्ने । अभियानलाई जिल्ला र पालिकाका बैठकलाई भन्दा वडालाई बढी महत्व दिएका छौं । वडामा कार्यक्रम हुनुप¥यो । पालिकाको बैठक राखेर आएँ भनेर त्यसले सुख पाएन ।
अर्को भनेको स्थानान्तरण हो । अघिल्लो पटक जहाँ थियो त्यहाँ अभियान चलाउने भन्यौं । अहिले चाहिं हामीले केन्द्रबाटै तीनवटै निकायलाई निर्देशन ग¥यौं । एउटा पदाधिकारीहरु देशैभरी जहाँ पनि जान तयार हुनुपर्ने, स्थायी समिति र केन्द्रीय समिति जिल्ला अन्तर्गत हुनुपर्ने ।
तेस्रो, प्रदेशका सदस्यहरु पालिका अन्तर्गत हुनुपर्ने । यो तीनवटा निर्णय केन्द्रबाट गरियो । बाँकी स्वायत्त जिल्ला र पालिकाले गर्ने भनेको हुनाले अहिले देशैभरी हाम्रो तयारी चाहिं तीब्र गतिमा तोकिएको समयसीमाभित्र सबै सक्नेगरी भइरहेको छ । आजसम्मको रिपोर्ट अनुसार करिबकरिब वडाहरु पनि दुर्गम बाहेक अन्यत्र सुगममा सकिइसककेको छ ।
उद्घाटनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
अभियानको उद्घाटन अध्यक्षले १६ गते १ बजे चन्द्रागिरीको २ नम्बर वडाबाट गर्नुहुन्छ । देशैभरी त्यसको लाइभ जान्छ र जहाँ जहाँ नेटको सुविधा छ त्यहाँ जोड्न सकेको खण्डमा हुन्छ । फेसबुक वा टिभीबाट हुन्छ । यसमार्फत हामीले देशैभरी कनेक्ट गर्छौं र त्यसलाई उद्घाटन मान्छौं । जहाँ कनेक्ट भएन त्यहाँ त्यहीँको प्रमुखले उद्घाटन गर्छ । त्यसपछि प्रत्येक दिन वडामा कहाँ के काम भयो भन्ने कुरा प्रत्येक दिन काम गरेको नगरेको अनुगमनको रिपोर्ट केन्द्रमा आउँछ । यसरी हामीले तयारी गरेका छौं । वडाको सन्दर्भमा अध्यक्ष प्रचण्ड मोरङको मिक्लाजुङ गाउँपालिकाको ५ नम्बर वडामा परेको छ । सात प्रदेशमा ७ वडा । सबै नेताको एकएक वटा वडा छ । १६ गते विराटनगरको १८ नम्बर वडामा हामी केन्द्रीत हुन्छौं । त्यो वडामा मेरो जिम्मा छ ।
तपाईँले पूर्व (कोशी प्रदेश)मा इन्चार्जको जिम्मेवारी लिएर आउनु भएको छ । यसअघि पनि तपाईँले पूर्वमा काम गर्नुभयो ?
– म पूर्वमा नयाँ होइन । जनयुद्धको अन्तिम चरणमा (चुनवाङ बैठकपछि) चार जना डेपुटी कमाण्डरको जिम्मा दिँदा म पूर्व आएको थिएँ । म ५९ सम्म पूर्वमै रहेँ । पहिलो र दोस्रो डिभिजनको कमाण्ड मैले गरेको थिएँ । त्यसबेला घोडेटार, सर्लाहीको मलंगवा, इलाम सदरमुकाम आक्रमण र झापाको सुरुङ्गामा भएको फौजी लडाइँ मेरै कमाण्डमा भएको थियो । अन्तिममा विराटनगर कब्जाको लागि नक्सा बनाउने काम मेरै नेतृत्वमा भइरहेको थियो । विराटनगरमै बसेर नक्सा बनाइरहेको थिएँ ।
कोशी प्रदेशमा तुलनात्मक हिसाबले एमाले बलियो छ । कांग्रेस पनि सशक्त छ । माओवादीको अवस्था विगत भन्दा कमजोर देखिएको छ । अहिलेको अभियानले माओवादी उकास्ला त ?
– यो कुरा सही भन्नुभयो । अहिलेको हाम्रो अवस्था हेर्दा तपाईले भनेअनुसारकै पोजिसन हो । केही जिल्लाहरु अहिले पनि सांगठनिक हिसाबले ठिकै देखिएका छन् । केही जिल्लामा खस्किएको स्थिति छ । एउटा कुरा के हो भने हामी मुख्यतः लाइनमा क्लियर हुनुपर्छ । के भएको हो भने हाम्रो पार्टीमा बिभाजन हुँदा अलि लाइन लिडरसिप सम्बन्धी विभिन्न बुझाइहरु रहे । त्यसले गर्दा हाम्रो भत्केको र भड्कोको अवस्था रहेछ । त्यसकारण हामीले पहिलो कुरा लाइन क्लियर गर्नुपर्ने देखियो ।
केही समय यही सरकार मार्फत जाने हो । त्यसैलाई स्ट्रोङ्ली लानुपर्छ । म पुरानो ०६४ पनि भन्दिन । एक पटक माओवादी भएर परिवर्तनको लागि लडेका आन्दोलनरत र समर्थक, शुभचिन्तकलाई एक ठाउँमा ल्याउन सकियो भने माओवादी पुरानो ठाउँमै आउन सक्ने अवस्था छ । अहिले चाहिं खस्केकै रहेछ । त्यो चाहिं देशैभरी पारेको प्रभाव पनि हो । पूर्वलाई मात्रै दोष दिनुपनि हुँदैन । अन्यत्र पनि त्यही अवस्था हो । तर, जे होस् हामीले फेरि पुरानो ठाउँमा फर्काउनलाई मेहनत गर्र्नैपर्ने देखिन्छ ।
सरकारले सुरु गरेको भ्रष्टाचारविरोधी र सुशासनको पक्षको कामको सकारात्मक प्रभाव देखिएको छ, यसै कारणले संगठन सुदृढ हुन्छ भन्ने अपेक्षा हो ?
– नयाँ पुस्तामा नयाँ कार्यक्रम अझै चाहिन्छ । हामीले सैद्धान्तिक कुरा गरेर नयाँ पुस्ता आकर्षित हुँदैन । नयाँ पुस्ता आकर्षित गर्नका लागि सरकारले नै बढी भूमिका खेल्नुपर्छ । सरकारबाटै उनीहरुलाई ठीक ढंगले सम्बोधन हुनुप¥यो । कमसेकम स्वास्थ्य, शिक्षा र रोजगारमा नयाँ थालनी हुनुपर्छ । अहिले नै कायापलट हुँदैन । तर, नयाँ थालनी गर्नुपर्छ । अनि कृषिलाई बढावा दिएर रोजगार सिर्जना गर्ने वातावरण बन्यो भने नयाँ पुस्ता आकर्षित हुने हो । त्यस्तै पुरानालाई पनि नयाँ ढंगले जोड्नु पर्छ । माओवादी नयाँ ढंगले उठ्यो भन्ने हिसाबले अभियान लानुपर्छ भनेर कुरा गरेका छौं । त्यसो गर्दा नयाँ पुस्ता जोड्नलाई ऐतिहासिक परिवर्तनमा माओवादीको भूमिका हो भन्ने कुरा स्थापित गर्ने र सरकारबाट नयाँ कार्यक्रमहरु दिनुपर्छ ।
माओवादीहरु शान्ति प्रक्रियायता बढी शहर केन्द्रीत भए । सुखभोगी भए र गाउँ बिर्सियो भन्ने आरोप छ । अब यिनै नेताहरुले गाउँमै टिकेर संगठन निर्माण गर्लान् भन्ने ठान्नुहुन्छ ?
– विकाससँगै वस्तुको उपभोग भन्ने कुरा मान्छेले जहाँसुकै पनि गर्छ । सबै जोगी भएर हिंड्दा कायापलट हुन्छ भन्ने बुझाइ नै गलत हो । तर, एउटा कुरा के हो भने राष्ट्रको अहिलेको हाम्रो अर्थतन्त्रलाई हेर्दा हाम्रो अहिलेको पुस्ताले दुःख नगर्ने हो भने अर्को पुस्ता बन्दैन । त्यसो हो भने हामीले हाम्रो लाइन, लिडरसीप अनुसार राम्रो गरिकन जनतामा जानुपर्छ र हामी साँच्चै आवश्यकताभन्दा बढी माओवादीले गरेको हो कि भन्ने जनताको गुनासो छ । जनताको अपेक्षा यति धेरै सुविधाभोगी माओवादी नहोस् भन्ने नै थियो । तर, माओवादीहरु त्यस्तो देखिएकै कारण हाम्रोभित्र अलिक धेरै बहस चलिरहेको छ अहिले । हामी त्यसलाई सुधार गरेर अगाडि बढ्छौं ।