विदेशबाट फर्केका प्रविणको कृषि मोह, तरकारी बेचेर एक वर्षमै कमाए बाह्र लाख

विराटनगर । उच्च शिक्षा अध्ययन गर्ने उद्देश्यले अहिले धेरै नेपाली युवा–विद्यार्थी विदेश गइरहेका छन् । पढ्न होस् या कमाउन विदेश जानको ताँती नै छ । सहजै जान पाउने हो भने स्वदेशमा बस्नेभन्दा विदेशिन चाहने बढी होलान् । पढ्नका लागि विदेश गएकामध्ये अधिकांश उतै सेटल हुने गरेका छन् । विदेशबाट फर्केर आउनेहरू पनि सिकेको सीप सदुपयोग गर्नुको सट्टा घर–घडेरी र गाडी किन्ने अनि शहरमा रमाउनेतिर लाग्छन् ।

तर, मोरङको रंगेलीस्थित बिर्ताका प्रविण राजवंशी भने विदेशमा सिकेको सीपको उपयोग गरिरहेका छन् । इजरायलमा सिकेको सीप प्रयोग गरेर आफ्नै ठाउँलाई हराभरा बनाइरहेका छन् । उनीसँगै इजरायल गएका अन्य युवाले पेशा नै परिवर्तन गरिरहेका बेला उनी भने कृषिमै रमाइरहेका छन् । इजरायलको व्यावसायिक कृषिबाट सीप सिक्ने नेपाली युवाको आकर्षण पनि छ । साना किसान सहकारी संस्थामार्फत उनीहरू त्यहाँ जाने गरेका छन् । त्यहाँ सीप सिक्न साना किसानले आफ्ना सेयर सदस्यका छोराछोरीलाई पठाउने गरेका छन् ।

प्रविणले अंग्रजी विषयमा स्नातक गरेका छन् । उनी इजरायल जानुअघि सरकारी विद्यालयका अस्थायी शिक्षक थिए । रंगेलीको प्रगतिशील उच्च माविमा पढाउँदै थिए । मावि तहका विद्यार्थीलाई पढाउथे । तलब भने प्राविको मात्रै आउने गरेको थियो । जे भए पनि सरकारी जागिर खाइरहेका थिए । प्रविणले २०६५ देखि २०७० सम्म विद्यालयमा पढाए । करिब ५ वर्ष पढाएपछि उनलाई इजरायल जाने अवसर जु¥यो । नेपालमा सरकारी जागिर भनेपछि मरिहत्ते गर्ने चलन छ । अस्थायी कर्मचारीहरूलाई जागिरबाट निकाल्दा आन्दोलन नै हुने गरेको छ । प्रविणमा यो लागू भएन । उनले सरकारी जागिर छोडे । र, इजरायल जाने निर्णय लिए । साना किसान सहकारीमार्फत उनी इजरायल गए ।

प्रविव निम्नमध्यम वर्गीय परिवारका भएकाले बिहान–बेलुका के खाने भन्ने चिन्ता त्यति थिएन । बुबाआमाले परम्परागत खेती गरेर भए पनि छोराछोरीलाई राम्ररी नै हुर्काएका थिए । उनी अंग्रेजी पनि राम्रो बोल्न सक्थे । यसले उनलाई इजरायलमा काम गर्न सजिलो भयो ।प्रविण सन् २०१५ मा गए । एक वर्षमात्र बसेर १२ लाख रुपैयाँ कमाए । त्यहाँ हप्ताको एकदिन मात्रै पढाइ हुन्थ्यो । युवाहरूलाई इजरायल सरकारले कृषिको तालिम दिने गर्छ । पाँच दिन फिल्डमा प्राक्टिकल गर्नुपथ्र्याे । त्यहाँ राम्रो सीप सिकेर एक वर्षपछि पवीन गाउँ फर्किए । उनीसँगै इजरायल गएका अधिकांश अन्य पेशामा लागे पनि उनले भने कृषि पेशा नै अंगाले ।

उनीसँगै इजरायल जाने अधिकांशले कृषि पेशालाई अँगालेका छैनन् । सीपभन्दा पनि पैसा कमाउने धेरैको ध्यान हुने गरेको छ । ‘मैले पैसासँगै सीप पनि लिएर आएँ । एक वर्षमा १२ लाख रुपैयाँ कमाएँ,’ उनले भने ।प्रविण विगत ७ वर्षदेखि कृषि पेशामा आवद्ध छन् । अहिले खर्च कटाएर ८ लाखसम्म कमाउने गरेका छन् । इजरायलबाट फर्केपछि उनले गाई पालन गरेका थिए । तर, त्यो पेशाले भने उनलाई घाटा लगायो । ‘गाई पालनबाट घाटा लागेपछि तरकारी खेती सुरू गरेँ । अहिले त्यहीमात्र गरिहेको छु,’ उनी भन्छन् ।

उनले आफ्नै बारीका तरकारी विराटनगरको बजारमा पठाउने गरेका छन् । टमाटर, काँक्रा, रायोको साग, भिण्डी, काउली, बन्दालगायत तरकारी उत्पादन गर्ने गरेका छन् । अहिले व्यापारीहरू उनको घरमै गएर होलसेलमा तरकारी किन्छन् ।कृषि प्रधान देश नेपालमा करिब दुई तिहाइ जनता कृषिमा आबद्ध छन् । तर, पढेलेखेका युवाले कृषिमा रुचि देखाउँदैनन् । जग्गा बाझो छाडेर मरुभूमिलाई उजाड बनाउन लाग्छन् । तर, प्रविण भने अपवाद बनेका छन् ।

इजरायल जानेहरूले त्यहाँको सीप यहाँको कृषिमा ल्याउने हो भने उत्पादन राम्रो वृद्धि हुने उनको बुझाइ छ । सिजनमा ४ बिघामा नै तरकारी खेती गर्ने प्रविनले अफ सिजनमा भने डेढ बिघामा मात्रै गर्छन् । बर्खाको समयमा डुबानको समस्या हुने गरेको उनले सुनाए ।
टेन्ट हाउसमा कसरी खेती गरिन्छ भनेर इजरायलले सिकाएको उनले सुनाए । इजरायलको सीपलाई यहाँ प्रयोग गरी कृषिको आधुनिकीकरण गर्न सके नेपालमा धेरै सम्भावना रहेको उनी बताउँछन् ।

विश्वमा अपनाइने अत्याधुनिक कृषि प्रणालीको प्रयोगमा इजरायललाई नमूना मानिन्छ । कृषि भूमिको प्रबन्ध र बजारको ग्यारेन्टी सरकारले लिन्छ । नेपालमा पनि अनुदानमुखी कृषि भएकाले समेत नफस्टाउने गरेको उनको बुझाइ छ । यन्त्रीकरण र बजारीकरणको जिम्मा राज्यले लिए सजिलो हुने उनी बताउँछन् ।

शुक्रबार, १५ भदौ, २०८०, बिहानको ०९:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर