विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०७९/८० मा १४ हजार जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार सूचीकृत स्वास्थ्य संस्था पुगेर तालिमप्राप्त चिकित्सकबाट १४ हजार ९१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका हुन् ।
यसरी सेवा लिनेमा २० वर्षमुनिका ९७९ जना छन् भने २० वर्षमाथिका १३ हजार १११ जना छन् । जसमध्ये अधिकांशले औषधि सेवन गरेर गर्भपतन गराएको निर्देशनालयका सूचना अधिकारी मुकुन्द दाहालले जानकारी दिए । उनकाअनुसार ११ हजार ४९९ जनाले औषधिका माध्यमबाट गर्भपतन गराउँदा दुई हजार ५९२ जनाले शल्यक्रियामार्फत् गर्भपतन सेवा लिएका हुन् ।
औषधि सेवन गरेर गर्भपतन गराउनेमध्ये १३६ जनामा स्वास्थ्य समस्या देखिएको छ । शल्यक्रिया गरेर गर्भको अन्त्य गरेका नौ जनामा स्वास्थ्य जटिलता आएको सूचना अधिकारी दाहालले जानकारी दिए ।‘औषधिका माध्यमबाट होस् वा सर्जिकल माध्यमबाट होस्, सुरक्षित रूपमा गर्भपतन सेवा रोज्नेहरूमा त्यति धेरै स्वास्थ्य समस्या निम्तिएको छैन,’ उनले भने, ‘अपवादमा एक–दुई जनालाई स्वास्थ्य समस्या आउला ! तर, असुरक्षित रूपमा गर्भपतन गराएकाहरूमाथि तत्कालीनदेखि दीर्घकालीनसम्म स्वास्थ्य जटिलता धेरै आउँछन् ।’
गत आर्थिक वर्षमा सुरक्षित गर्भपतन रोज्नेमध्ये १.२१ प्रतिशतमा स्वास्थ्य जटिलता निम्तिएको थियो । तथापि, त्यसभन्दा अघिल्लो वर्षको तुलनामा गर्भपतन गराउनेमा हुने स्वास्थ्य समस्या भने घटेको दाहालको भनाइ छ । यस प्रदेशमा आ.व. २०७८–७९ मा जम्मा १५ हजार ८११ जनाले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहायतामा सूचीकृत स्वास्थ्यसंस्था पुगेर सुरक्षित रूपमा गर्भपतन सेवा रोजेका थिए । जसमध्ये २९८ जनामा स्वास्थ्य जटिलता देखिए पनि मानवीय क्षति भने नभएको दाहालले बताए ।
असुरक्षित गर्भपतन गराउने र त्यसबाट स्वास्थ्य समस्या लिई अस्पताल आउने गरेकाको तथ्याङ्क भने स्वास्थ्य निर्देशनालयले राख्ने गरेको छैन ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सुरक्षित गर्भपतन रोज्नेहरूको संख्या घटेको निर्देशनालयले जनाएको छ । आ.व. २०७८÷७९ मा २० वर्षभन्दा कम उमेरका ९४० जनाले सुरक्षित गर्भपतन गराएका थिए भने २० वर्षमाथिका १४ हजार ९८९ जनाले सुरक्षित रूपमा आफ्नो गर्भको अन्त्य गराएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्क छ ।
यस्तो छ जिल्लागत रिपोर्ट
१४ वटा जिल्ला रहेको कोशी प्रदेशमा यो वर्ष धेरै गर्भपतन गराउनेहरू तराईका तीन जिल्ला सुनसरी, झापा र मोरङमा रहेका छन् । सुरक्षित गर्भपतन सेवा रोज्नेहरू सर्वाधिक धेरै सुनसरीमा देखिएको निर्देशनालयको तथ्याङ्क छ । सुनसरीमा २० वर्षभन्दा कम उमेरमा एक ३३ जना र २० वर्षमाथिका ३७ सय ४२ गरी जम्मा तीन हजार ८७५ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।
त्यसपछि झापामा दुई हजार ५०६ र मोरङमा दुई हजार ३५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । इलाम, पाँचथर, संखुवासभा, तेह्रथुम, उदयपुर, धनकुटा, ताप्लेजुङ, भोजपुर, खोटाङ, सोलुखुम्बु र ओखलढुङ्गा क्रमशः चौथौदेखि १४औं स्थानमा छन् ।
कसरी घट्यो गर्भपतन गराउनेको सङख्या ?
कोशी प्रदेशमा पछिल्ला केही वर्षयता सुरक्षित गर्भपतन गराउनेको ग्राफ ओरालो लागिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसले असुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढेको वा परिवार नियोजनका साधनको प्रयोगमा सुधार आएको अनुमान गर्न सकिन्छ ।
स्वास्थ्य निर्देशनालयले पछिल्लो समय परिवार नियोजनका स्थायी र अस्थायी दुवै प्रकारका साधनमा पहुँच बढेको दाबी गरेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत जनचेतनाकै कारण पछिल्लो समय परिवार नियोजनका साधनहरूमा पहुँच बढेको बताउँछन् । कण्डम, पिल्स, डिपो सुई, आइयुसिडी, इम्प्लान्ट, स्वेच्छिक बन्ध्याकरण जस्ता परिवार नियोजनका साधनहरूले गर्दा गर्भपतन गर्नुपर्ने अवस्था आइनपरेकाले पनि गर्भपतन गराउनेहरूको संख्या घटेको उनको अनुमान छ ।
त्यसबाहेक, युवाजमात विदेशिने क्रम बढ्दै जानुले पनि गर्भपतन गराउनेको संख्या घट्न थालेको बताउँदै उनले भने, ‘अहिले युवापुस्तामा विदेश जाने परिपाटी हावी छ । फेरि शिक्षाले गर्दा प्रजनन स्वास्थ्यबारे सचेतना सबैमा पसिसक्यो । परिवार नियोजनका साधनको प्रयोगमा व्यापकता छ, अहिले । जमाना धेरै परिवर्तन भइसक्यो, अहिले अधिकांश कपलहरू फेमिली प्लानिङमा अब्बल छन् ।’
परिवर्तनका सकारात्मक सूचकहरू देखिए पनि सामाजिक लाञ्छनाजस्ता कुराहरूले इनिच्छित गर्भ असुरक्षित रूपमा फालिने गरेको उनको स्वीकारोक्ति छ । ‘आफ्नै मनले एबर्सनका लागि सजिलै पाउने औषधि सेवन गर्ने प्रवृत्ति पनि उत्तिकै मौलाएको छ,’ उनले भने, ‘सरकारले निःशुल्कै सुरक्षित गर्भपतन गराउने भए पनि अधिकांशले असुरक्षित गर्भपतन रोज्ने गरेका छन्, स्वास्थ जटिलता आएपछिमात्रै अस्पतालको सम्पर्कमा आउँछन् । योचाहिँ हाम्रो लागि ठूलो चुनौती नै हो ।’
यता, विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू भने असुरक्षित गर्भपतन गराउनेहरूको संख्या बढेको आशंका गर्छन् । असुरक्षित गर्भपतनका कारण तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या बोकेर अस्पताल आएकाहरूमध्ये केहीले त ज्यानै गुमाउनु परेको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साह बताउँछन् ।
प्रदेशभरि सुरक्षित गर्भपतन गर्नेको संख्या घट्नुले असुरक्षित गर्भपतन गराउनेहरू बढेको डा. साहको आशंका छ । उनी भन्छन्, ‘एक त गर्भ बसेको ज्ञात हुनेबित्तिकै औषधि सेवन गरेर गर्भपतन गर्नेको संख्या बढेको छ । पछि स्वास्थ्य जटिलता लिएर हामीसमक्ष आउने गरेका धेरैको उपचार मैले गरेको छु ।’
विशेषगरी, मेडिकल र फार्मेसी पुगेर गर्भपतनका अवैध औषधि सेवन गर्ने युवाजमात बढेको डा. साहको भनाइ छ । गर्भपतनका लागि इजाजत नपाएका मेडिकल र फार्मेसीले पनि गर्भावस्थाको निक्र्यौल नगरी सिटामोलसरह त्यस्ता औषधि बेच्ने गरेका कारण विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल आउनेहरूको संख्या बढेको उनले सुनाए ।
यस्तै, वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्की परिवार नियोजनका साधनबारे दम्पत्तीहरू अनभिज्ञ नरहे पनि त्यसको प्रयोगमा भने गम्भीर नबन्ने गरेको सुनाउँछन् । ‘सुरक्षित गर्भपत गराउनेको संख्या घट्नुमा परिवार नियोजनका साधनमा पहुँच बढेको भन्न अलि नसुहाउला,’ उनले भने, ‘केही हदसम्म त्यसमा सत्यता होला । तर, अहिले गोप्य रूपमा असुरक्षित गर्भपतन गर्नेहरू बढेका छन् । दम्पतीहरू परिवार नियोजनका साधनबारे अनभिज्ञ पक्कै छैनन्, तर उनीहरूले कतिपय अवस्थामा ती विधि अपनाउँदैनन् । जसबाट अनिच्छित गर्भ बस्छ, अनि सामाजिक लाञ्छनाले गर्दा गोप्य तरिकाले असुरक्षित गर्भपतन गराउँछन् ।’
नियोजनका साधन प्रयोग गर्नेहरू बढे
परिवार नियोजन संघ मोरङले सुरक्षित गर्भपतन गराएपछि परामर्श लिई परिवार नियोजनका साधन प्रयोग गर्नेहरूको संख्यामा वृद्धि आउन थालेको जनाएको छ । परिवार नियोजन संघ मोरङका प्रमुख शंकर दाहालले भने, ‘सुरक्षित गर्भपतन गराउन हामीसमक्ष आउनेहरूलाई परामर्श दिनेगरेका छौं । त्यसबेला उहाँहरूले परिवार नियोजनका बारे जानकारी लिएर प्रयोग गर्न थालेका छन् । अरूतिर जस्तै हामीकहाँ गर्भपतन गराउन आउनेको संख्या घट्दो छ । तर, कोही पनि दोहो¥याएर आउनुभएको मलाई थाहा छैन ।’
नेपाल परिवार नियोजन संघ मोरङमा पछिल्लो तीन वर्षयता गर्भपतन गराउन आउनेको संख्या घटेको दाहालले जानकारी दिए । परिवार नियोजन संघले १२ हप्तासम्मको गर्भपतन गराउने गरेको छ । प्रमुख दाहालका अनुसार सन् २०२१ मा यहाँबाट ३३८ जनाले सेवा लिएका थिए भने २०२२ मा २२६ जना र २०२३ को जुन महिनासम्ममा १२८ जनाले गर्भपतन सेवा लिएका छन् ।स्वास्थ्य कार्यालय मोरङको तथ्यांकअनुसार गर्भपतनपछि एक हजार १५९ जनाले छोटो अवधिका परिवार नियोजनका साधन अपनाएका छन् भने २३२ जनाले लामो अवधिका साधन अपनाएका छन् ।
लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि समाजमा जनचेतना जागृत गराउनुपर्ने संघका प्रमुख दाहालको भनाइ छ । सामाजिक लाञ्छनाका कारण महिलाको आत्महत्यामा वृद्धि हुने, उनीहरूमा आत्मविश्वाको कमी हुने, सामाजिक वहिष्कार हुने, वैवाहिक सम्बन्ध टुट्ने, तथा असुरक्षित गर्भपतन हुँदा मातृमृत्युदर बढ्ने हुनाले यसलाई नियन्त्रण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट जागृत गराउने भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।