एसईई रनिङ शिल्डको उपाधि बराहा राईजिङलाई

विराटनगर । दोस्रो संस्करणको एसईई कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि सुनसरीको बराहा राईजिङ स्टार स्कुलले जितेको छ ।

विराटनगरमा शनिबार सम्पन्न भएको फाइनलमा विराटनगरमा रहेको सत्यनारायण माविलाई २–० गोलले हराउँदै बराहा राईजिङले उपाधि जितेको हो ।

उपाधिसँगै बराहाले नगद १२ हजार २२२ रुपैयाँ र ट्रफी पाएको छ । उपबिजेता बनेको सत्यनारयण स्कुलले ७ हजार ७७७ रुपैयाँ र ट्रफीमा चित्त बुझायो ।
बराहा राईजिङलाई उपाधि दिलाउन कृष पौडेल नायक सावित भए । उनले २ गोल गरे । प्रतियोगिताको म्यान अफ फाइनल बराहा राईजिङका आयुष मगर घोषित भए । विद्यागत पुरस्कारहरुमा पनि बराहा राईजिङलको बर्चस्व रह्यो ।

बेष्ट गोल किपरमा सनसाईनका सुप्रिम सुवेदी, बेष्ट डिफेन्स डनबस्को स्कुलका पृथु मान सिंह अधिकारी, बेष्ट मिड फिल्डर सत्यनारायण माविका भरत चौधरी, बेष्ट फरवार्ड बराहाका प्रशान्त घोषित भए । बेष्ट कोचमा बराहाका आकाश राई भए । हाइस्कोर बराहाका रोहन राई, प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी युनिक एकेडेमीका धिरज उराव भए ।

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा भएको खेलमा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक बिक्की कार्कीले जानकारी दिए । सोही अवसरमा रेफ्री सन्तोष ताम्राकारलाई सम्मान गरिएको छ । बिजेता हुने खेलाडी र सम्मानित हुने रेफ्री ताम्राकारलाई कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेशका सांसद भीम पराजुलीले पुरस्कार वितरण गरेका थिए ।

आइतबार, १४ साउन, २०८०, बिहानको ०८:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर