काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैले माग्दैमा राजीनामा नदिने प्रष्ट पारेका छन् ।
महोत्तरीमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले तस्करी, भ्रष्टाचार र विकृतिको डंगुर थुपार्न आफ्नो राजिनामा मागिएको आरोप लगाए ।
अहिलेको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा काम गरिरहेको बताउँदै उनले भ्रष्टाचार र बेथितिविरुद्ध ठूल्ठूला अभियान सञ्चालन भइरहेको जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणसहित सबै प्रकरणको स्वतन्त्र र स्वच्छ अनुसन्धान गरेर दोषीलाई कानूनी कारबाही गर्ने पहलकदमी अगाडि बढाएपछि बारम्बार आफ्नो राजिनामा मागिएको उनको भनाइ छ ।
सरकारको ठूलो अभियान चलिरहेको बेलामा जनताको साथ रहेकोले गलत गर्नेहरु सच्चिनुपर्ने श्रेष्ठले बताए । ‘तपाईहरु सच्चिनुस्, अहिले पनि मौका छ’ उनले भने, ‘कोही कोही मान्छे सुत्दै सुत्दैनन् रे, गल्ती नगरेको भए मजाले सुत्नू निदाउनू । तर, भ्रष्टाचार र अपराधमा पनि साँच्चै संलग्न छ भने सुत्ने ठाउँ अर्को छ ।’
आपराधिक क्रियाकलापमा संलग्न भएकाले निद्रा नलागेको हो भने प्रहरीमा आत्मसमर्पण गर्न गृहमन्त्री श्रेष्ठले आग्रह गरे । ‘हामी उनीहरुलाई पनि मजाले सुत्ने ठाउँ व्यवस्था गर्छौं, छाड्नेवाला छैनौं’ उनले भने ।
सरकार आफ्नो कदमबाट पछाडि नहट्ने बताउँदै गृहमन्त्री श्रेष्ठले कसैले अब सरकार चुप बस्छ भन्ने आशा गरेको छ भने त्यो नुहुने चेतावनी दिए । ‘भ्रष्टाचारी, कमिसनखोर, तस्करी र अपराधीहरुको विरुद्ध हामी अन्तिम विन्दूसम्म अगाडि बढ्छौं’ उनले भने, ‘जसले भ्रष्टाचार र तस्करीविरुद्ध अभियान चलाउँछ, उसले पद छाड्दिनुप¥यो भनेर कोहीकोही कराइरहेका छन्, पद छाड्दिएदेखि अरु तस्करी, भ्रष्टाचारी, बेथिति र विकृतिको डंगुर फेरि लगाउन पाइथ्यो भन्ने होला, त्यो हुन्न ।’
कसैलाई सजिलो बनाउन छाड्नेवाला नरहेको भन्दै उनले एकचोटी धम्काएपछि पछाडि जान्छ भन्ने कसैले नसोच्न चेतावनी दिए । ‘हामी विचलित हुनेवाला छैनौं । जनता हाम्रो साथमा छन् । यो देशको मुहार फेराउन अगाडि बढाउने संकल्प हाम्रो साथमा छ’ उनले भने ।