तिलस्मी नगर बस !

  पुण्य पी अधिकारी

०७९ फागुन १८ गतेपछिको एक साता ‘विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन’ खबरले सबैले ध्यान खिचेको थियो । पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन माध्यम र सामाजिक सञ्चालमा मेयर, उपमेयरले नगर बसका विषयमा भनेका भनाइलाई आधार माने प्रशस्त समाचारहरू प्रकाशन तथा प्रसारण भएका थिए ।

तर, अहिले नगर बसको विषय गुमनाम छ । प्रदेश सरकार र लगानी बोर्डको सहकार्यमा सञ्चालन गरिने भनिएको नगर बसको विषय अहिले यु.एफ.ओ (उड्नतस्तरी) जस्तै तिलस्मी छ । अर्को शब्दमा भन्दा एलियनहरू, जो बेलाबेलामा पृथ्वीमा आउँछन् र जान्छन् । पत्याउने, नपत्याउने !

गएको वर्ष महानगरपालिकाले नगर बस सञ्चालन गर्ने भनेर परीक्षण समेत गरेको थियो । त्यो बेलामा महानगरको निर्णयलाई सबैले स्वागत गरेका थिए । नगर बसलाई लिएर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी सबैभन्दा बढी उत्साहित थिए । नगर बसले सहुलियत दिन्छ भनेको मेयरका मुखबाट सुन्दा नगरवासीले हर्षित थिए ।

त्यसबेला मेयरले भनेको भनाइलाई आधारमा मान्ने हो भने आजका दिनमा नगर बस सञ्चालन भएको समय दुई महिना बितिसकेको हुने थियो । तर भनाइ र व्यवहारमा कहीँकतै तालमेल नमिल्दा, नगर बस स्टण्ट मात्र भएको प्रतित हुन थालेको छ । नगर बस सञ्चालन गर्ने विषय आँफैमा

जटिल विषय हो । यसका लागि मसिनोसँग गरिएको अध्ययन, आवश्यक भौतिक पूर्वाधारलगायतका कुरा प्राथमिक विषय हुन् ।
आवश्यक तयारी नगरी हतारमा गरिएको नगर बस सञ्चालनको विषयले महानगरपालिकाप्रति नगरवासीको विश्वासलाई गिराएको छ । ‘हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ महानगरको नारा पढ्दा आम नगरवासीको गर्वले छाती चौँडा हुने किसिमको छ । तर, महानगरपालिकाले हतार र तयारी बिना नगर बस सञ्चालन गर्ने विषयलाई चर्चा कमाउने मेलो मान्दा नगरवासी त्यति नै दुखी हुुनु परेको छ ।

१९ ओटा नगर बस सञ्चालन गरिने महानगरपालिकाको योजना साँच्चिकै गजबको छ । तर, योजना बिनाको योजनाले सबैलाई खिन्न बनाएको छ । तत्कालीन समयमा चर्चा कै लागि नगर बसको परीक्षण गरिएको भएपनि सो विषयमा महानगरले निरन्तर रूपमा अघि बढाएको भए आजका दिनसम्ममा पक्कै नगर बस सञ्चालनमा आउने थियो होला ।

नगर बसका लागि चार ओटा रूट हुने महानगरको योजना थियो । बुढीगङ्गा गाउँपालिकाको गङ्गाचोकबाट जोगवनी सीमा क्षेत्रसम्म, विराटनगर–४ इक्राहीबाट नोवेल अस्पताल–विराटनगर विमानस्थल–कञ्चनबारी–पोखरीया–तीनपैनी–कोशी अस्पताल–देवकोटा चोक–जतुवा हुँदै बुधनगरको प्रहरी चौकीसम्म, दक्षिण–पश्चिम विराटनगरको दशगजा क्षेत्रबाट दरैया–बखरी–पञ्चमुखी चोक–पिचरा–बसपार्क–शनिमन्दिर–जलजला मोड–कोशी अस्पताल–तीनपैनी–पुष्पलाल चोक हुँदै मिलन चोकसम्म र हाटखोलाबाट देवकोटा चोक–महावीर रोड–घाँस चोक–केशलिया नहर हुँदै ब्रह्मपुरासम्म नगर बस सञ्चालन गर्ने रूट थिए । आशा गरौँ, महानगरले सञ्चालन गर्ने भनिएका नगर बसहरू पक्कै यु.एफ.ओ जस्ता वा तिलस्मी हुने छैनन् ।

बिहिबार, ११ साउन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर