सकियो महानगरको अल्टिमेटम, केही स्कुलको अझै अटेरी

विराटनगर ।  विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस गर्न विद्यालयहरूलाई दिएको २४ घण्टे अल्टिमेटम सकिएको छ । अल्टिमेटम सकिँदासम्ममा केही विद्यालयले अझै पनि विवरण बुझाउन अटेरी गरेका छन् ।

अझै १० वटा जति विद्यालयले विवरण नबुझाएको विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलिले बताए । विराटनगर महानगरको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबारको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूमाथि कानूनी कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । ‘सोमबार ५ बजे सम्ममा १० वटाभन्दा कम विद्यालयले मात्रै विवरण पठाएका थिए,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने ‘मेलमा भरे सम्म पठाइदिए भने पनि त्यो पनि समावेश हुन्छ । ’ उनले केही विद्यालय बन्द पनि भएको हुन सक्ने बताए ।

‘शिक्षा ऐन हेर्यो भने महानगर केही होइन भन्ने खालको छ । छात्रवृत्तिमा केही उजुरी आयो भने हेर्ने भनेको छ । आज मैले कानुनी सल्लाकारहरूसँग पनि बुझेको छु । अन्यत्र जस्तो हावादारी कुरा सुनेर हामीले पनि त्यही निर्णय गर्नु हुँदैन । अहिले नै कारबाही गरिहाल्नेमा हामी छैनौ । निजी विद्यालयले अटेर गर्ने विषय चित बुझ्दो नभएको हो । सबैजसो बिद्यालयले विवरण पठाएका छन । केही बन्द पनि भएका होलान् । तर विवरण नपठाउनेलाई अहिले नै कारबाही गरिहाल्नुपर्छ भन्ने पक्षमा महानगर छैन’ उनले भने ‘निजी विद्यालयले दिने विवरण बनिबनाउ भएको उनले बताए । उनीहरुले एउटा फोटोकपी गरेर दिँदा सकिइहाल्थ्यो । उनीहरूले जति दिएका छन् त्यतिमै हामीलाई भइहाल्थ्यो । अरू लेउ भनेको थिएन । जति छ त्यही ल्याउनु भनेको हो ।’

निजी विद्यालयको विषयलाई लिएर मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत पराजुलीबीच कुरा बाझिएको छ । मेयर कोइरालाले विवरण नबुझाउने विद्यालयलाई अब पहिला जरिवाना तोक्ने र त्यो पनि अटेर गरे खारेज गर्ने सम्मका कदम चाल्ने बताएका छन् । शिक्षा समितिका संयोजकसमेत रहेका मेयर कोइरालाको अध्यक्षतामा आइतबार बसेको बैठकले शैक्षिक सत्र २०७९ को बाल विकास कक्षादेखि कक्षा १२ सम्म र शैक्षिक सत्र २०८० को बाल विकासदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूका लागि उपलब्ध गराएको छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने विद्यालयमाथि कारबाही अगाडि बढाउने निर्णय गरेको थियो । महारगमा ८९ वटा विद्यालय रहेका छन् ।

मङ्गलबार, ०९ साउन, २०८०, बिहानको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर