विराटनगर । प्रधानमन्त्रीको सुशासन सल्लाहकार हुँ भन्दै ४५ लाखभन्दा बढी रकम ठगी गर्ने राजेन्द्रप्रसाद खनालको संस्थाको सल्लाहकारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को नाम रहेको भेटिएको छ । खनाल अध्यक्ष रहेको अमरदीप सोसियल अर्गनाइजेसनको लेटरहेडमा संरक्षकमा ‘अध्यक्ष क. पुष्पकमल दाहाल (प्रचण्ड)’ राखिएको पाइएको हो ।
संस्थाको अध्यक्ष खनाल रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा आनन्दराज खनाल, उपाध्यक्ष लक्ष्मीनाथ झा, महासचिव सुमन पुडासैनी, सचिव रामप्रसाद भट्टराई, सहसचिव दिपक पाण्डे, कोषाध्यक्ष प्रतिमा सैजु र सदस्यहरूमा रोजिना सुवेदी र विशाल खनाल रहेका छन् । उक्त संस्थाको कार्यक्रम संयोजन संयोजकमा छिरिङ दोर्जे लामा (पाख्रीन), कार्यक्रम संयोजक मेघबहादुर तामाङ, अनुगमन तथा जनपरिचालन संयोजकमा रकमबहादुर लोप्चन तामाङ रहेका छन् । यस्तै संयोजकहरु दिपेन्द्र सेन (सञ्चार), मुकुन्द लुइँटेल (आइटी), अर्जुनप्रसाद अधिकारी (अर्थ), शम्भु प्रसाद रेग्मी (युवा) र राहुल महत (अनुसन्धान) रहेका छन् ।
‘राष्ट्रियता, राष्ट्र सुसंस्कृत समाजको पहिचान, भ्रष्टाचार विरुद्धको राष्ट्रिय महाअभियान’ भन्ने नारा राखिएको लेटरहेडमा केन्द्रीय कार्यालय काठमाडौं रहेको उल्लेख छ ।उनै खनालले प्रधानमन्त्रीको सुशासन सल्लाहकार भएको र अन्य नेताहरुसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै विभिन्न कम्पनी तथा व्यवसायहरुमा सहभागी गराउने आश्वासन दिएर ४५ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरिसकेको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका ८ का ४४ वर्षीय राजेन्द्र्र खनाल र सोही ठाउँका २३ वर्षीय विशाल खनाललाई पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी उपरीक्षक रेग्मीका अनुसार उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक झापामा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो । जिल्ला अदालत झापाले पक्राउ पूर्जी जारी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खनालसहित इन्दिरा लामिछानेले यस्तो गरेको पीडितको भनाइ छ । पीडित भनिएका वल्र्ड टे«ड क्न्स्ट्रक्सन कम्पनीका संचालक पशुपति बरालले आफ्नो नाममा रहेको झापा दमक ३ स्थित ताराबारी डिपोमा करिब ४ विगाहा जग्गामा रहेको अस्फाल्ट क्रस उद्योगसँग पटकपटक गरेर ४५ लाख लगेको बताए ।
‘प्रचण्ड बाको दाहिने हात हुँ । म छोरा जस्तै हुँ भनेर भिडियो र कागज देखायो । हामीसँग अकुत सम्पत्ती छ पार्टीमा । त्यो सम्पत्ती क्रसर उद्योगमा लगानी गर्छौं । ब्ल्याक मनीलाई ह्वाइट मनि बनाउनु पर्छ भनेर भन्यो । नेत्र विक्रम चन्दसँग पनि उसले कुरा गरेको रहेछ,’ उनले भने, ‘त्यसपछि मेरो उद्योगमा धेरै पैसा बजारमा डुबेको थियो । त्यो पैसा उठाउन उनले पनि सहयोग गरे । त्यसपछि पार्टीलाई चन्दा दिनुपर्छ भन्दै ११ लाख रुपैयाँ चेकबाट लगे, अनि गाडी पनि चाहिन्छ, क्रसर मेरो नाममा गरिदिनु । प्रचण्डलाई मेरो नाम देखाएपछि त्यहाँबाट पैसा आउँछ भनेर सबै कागज गरायो । तर, पैसा आएन । आज आउँछ, भोलि आउँछ भन्दै ठग्यो ।’
प्रधानमन्त्री कार्यालयबाट सोझै २० करोड रुपैयाँ लगानी आउने भनेर पनि उसले ठगेको उनले बताए । ‘संस्था भ्रष्टाचार विरुद्धको महाअभियान हो संस्थाबाट तपाईको प्रा.लि.मा २० करोड लगानी गर्ने हो । उक्त रकमलाई ब्लाक मनीबाट ह्वाइट मनि बनाउनको लागि तपाईको प्रा.लि.मा लगाकनी गर्न लागेको हुँ । तपाईँले विश्वास गर्नुहोस् भनेको थियो,’ बरालले भने ।
त्यसपछि आफ्नो कम्पनीको नाममा रहेको ना ४ प ८६७० नम्बरको स्कारपियो गाडी पनि लगेर नदिएको बताए । ‘२ महिनासम्म झुलाई झुक्याई गाडी फिर्ता नगरेको, उक्त गाडीमा मेरो नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाताको चेक १ थान दस्तखत गरेको रहेको र गाडीको ब्लुबुक, कम्पनीको एग्रिमेन्ट कागज समेत रहेको हुँदा आफ्नो नामको चेक दुरुपयोग समेत गर्ने कोशिस गरेको देखिन्छ,’ बरालले भने, ‘हस्ताक्षरसहित लगेको चेकबाट ७२ लाख रुपैयाँको चेक बनाएर बाउन्समा मुद्दा हाल्ने कोसिस पनि भइरहेको छ ।’ यस विषयमा बरालले प्रधानमन्त्रीको निजी सचिवालयमा उजुरी समेत दिएका छन् ।
बराललाई प्रचण्डले हस्ताक्षर गरेको भन्दै खदेखाएको कागजमा भने अमरदीप सोसिएल अर्गनाइजेसन परिवारको तर्फबाट अध्यक्ष खनाल र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।
उक्त पत्रमा ‘हाम्रो संस्था अमरदीप सोसियल अर्गनाइजेसन देशमा व्याप्त रहेको भ्रष्टाचार, अत्याचार, निमुखा जनता माथि भएको अत्याचारप्रति कानूनी राज्यकोष आभाष हुने गरी खबरदारी अभियान सुरु गरी देशमा व्याप्त बेरोजगारी, अपाङ्ग, टुहुरा, सहित परिवार र नेपालको विविध कारणले जेलमा रहेका सम्पूर्ण कैदीबन्दीहरुको आवश्यक कानुनी सहयोग तथा समाजमा पूर्ण स्थापित गर्न हाम्रो संस्था सँधै राज्यको निकायलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता गर्दछौं ।’
त्यसमा थप उल्लेख छ ‘देशमा चलेको जन आन्दोलन, मधेश आन्दोलनमा लगायत विविध समयमा क्षति भएको संरचनाको यथावत विवरण राज्यलाई जानकारी गरी पुनः निर्माणको लागि देश भरीबाट सत्य तथ्य विवरण लिई राज्यलाई सुझाव तथा कानूनी परामर्श गर्ने गरी संस्थालाई उचित सहयोग तथा सुझाव तथा समर्पणको आशा सहित हजुरको संरक्षक सहितको अभिभावकत्व ग्रहण गरिदिनुहुन हार्दिक सम्मान सहित आग्रह गर्दछौं । अमरदीप सोसियल अर्गनाइजेसन परिवार ।’


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!