गणेश लम्साल
देश चलाउन मुल नीति मानिने राजनीतिमा भ्रष्टाचार । शासन पद्दतिमा भ्रष्टाचार । कार्यालय र सरकारका आयोजना तथा योजनाहरुमा भ्रष्टाचार । उपभोक्ता समितिहरुमा भ्रष्टाचार । पालिकाहरुमा भ्रष्टाचार , जनप्रतिनिधि, सांसद र स्थानियहरु पनि भ्रष्टाचारी । निजी क्षेत्रमा मनमौजी भ्रष्टाचार । तस्करी र कालाबजारी यत्रतत्र सर्वत्र । भ्रष्टाचारलाई ढोकछोप गर्नेहरुको सञ्जाल सरकारको अनुगमन संयन्त्र भन्दा बलियो । भ्रष्टाचार गर्न नपाउँदा वा पोल खुल्दा अधिकार हनन् भएको भन्दै दलहरुकै संरक्षणमा आन्दोलन ।
भ्रष्टाचार यस्तो शब्द भयो, जसलाई भ्रष्टले पनि उच्चारण गर्छ र गाली गरिरहन्छ । आफूलाई समाजमा सफेदपोख (सदाचारी) देखाएर सधै भ्रष्टाचारको विरोध गरिरहन्छ र आफूलाई समाजसामु समाजसेवी दलको मुख्य दाता, सहयोगी र निमुखाहरुको हिमायती बनिरहन्छ । यसैले तीनै भ्रष्टाचारीहरु हाम्रो समाजमा नामी, दामी र पहुँचवाला बनेर हामीमाथि हैकम गरिहेका रहेछन् । हामीलाई दयामा सीमित गरेर आफूलाई दलभन्दा माथिको पहुँचवाला बनाइरहेका रहेछन् ।
भ्रष्टाचार देश विकासको मुख्य शत्रु हो । तर, भ्रष्टाचार संस्थागत हुँदो छ । भ्रष्टाचारलाई हाम्रो समाजले समान्य मानेर पचाइसकेकोले होला, जसले जति भ्रष्टाचार गरेर भएपनि थोरै समयमा धेरै धन आर्जन गरे समाजमा उहि सफल कहलाउँछ । यसैले पनि होला सुशासनका लागि भन्दै संघर्ष गर्ने दलहरुले पनि ‘काम हुञ्जेल गरिबलाई भाँडो र सकिएपछि ठाँडो’ ढानेर भ्रष्टचारीलहरुको पाउ मोलेका होलान् । सायद जन्मने वत्तिकै पैसा दिएर मुख हेर्ने अनि खोला, ढुंगा, मन्दिर र देवीदेउताका फोटा र आकृति देख्ने वित्तिकै द्रब्य चढाउन आतुर हुने हाम्रो सँस्कृतिले पनि हामीलाई धन जसरी आर्जन गरे पनि बैध हुन्छ र त्यसबारे प्रश्न उठाउनु हुदैन भन्ने सिकाएको । यसैले हामी सचेत भनिने नागरिकहरु पनि अकृत कमाउनेहरुका अगाडि शानमान र पहुँचवाला भनेर निरिह हुन बाध्य होलाऊ ?
वर्तमान सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदमले प्रष्ट पारिसकेको छ कि हामी आफ्नो उत्पादन र मेहनतमा हैन, भ्रष्टाचारी दलाल पुँजीपतिहरुको कमारा बनिरहेका छांै । हाम्रा राजनीतिक दलहरु उनीहरुलाई संरक्षण गर्ने मतियार बनिरहेका रहेछन् । जन्मने, सुखसयलमा हुर्कने, घरबारी जोडेर आलिशान महलमा सम्पन्नताको जीवन गुजारा गरेर आफूलाई बैभवशाली देखाउने सँस्कृति हामीमा अझै झांगिदै गइरहेको रहेछ । सुशासनका लागि स्थापना भएर लामो संघर्ष गरेकाहरु मात्र नभई खरहेझंै देखापरेका राजनीतिक दलहरुले जति भ्रष्टाचारको बिराधमा नारा फलाके पनि उनीहरुको आन्तरिक चरित्र अन्तत भ्रष्टाचार गरेर पहुँचवाला बन्नु र समाजमा आफ्नो रवाफ कायम गर्नु नै रहेछ ।
राजनीतिक दलका विद्यार्थी संगठनहरुले शिक्षामा खुलेआमा बार्गेनिङ गर्ने गरेका छन । बिद्यालय र क्याम्पसका भौतिक निर्माणमा उनीहरुले उसैगरि खुलेआम कमिसन माग्ने गरेका छन् । समानता र समान शिक्षा तथा स्थास्थ्यको अधिकार उनीहरुको मुद्दा बनेको छैना । उठेका मुद्दाहरु लेनदेनमा गएर फिस्स हुने गरेको छ । धन आर्जनमा तँछाडमछाड देखिन्छ । जघन्य अपराध नै भएपनि उनीहरु आफ्नो सत्ताको रवाफ देखाएर दण्डहिनतालाई प्रश्रय दिनुलाई सक्षमता ठान्छन् । अनि हामी नागरिकहरु पनि आफ्नो अपराध ढाकछोप गराउन र कुनै न कुनै आवान्छित लाभ लिन पाइन्छ कि भनेर दलमा आवद्ध भएर सक्रिय कार्यकर्ता भएको ढोंग गरिरहेका हुन्छौं ।
हामी सबैले बुझेका छौं, भ्रष्टाचार त्यो शत्रु हो जसले सधै आफूभन्दा साना माछालाई समुन्द्रको माछालाई खाएझंै हाम्रो समाजका निर्धा निमुखालाई खान्छ । यति मात्र हैन, देख्दा ज्यान मारेको हैन ओसारपसार त गरेको हो नि, अनि कमिसन त लिएको हो नि भने पनि त्यसले देशको समग्र शासन प्रणालीलाई बिकृत बनाई चुनौती दिइरहेको हुन्छ । भ्रष्टाचारले गर्दा नै हो देशमा बिधिको शासन कार्यान्वयन हुन नसकेको हो । निर्धा निमुखाहरुले न्यायको अनुभुति गर्न नसकेको हो । र, भ्रष्टाचारकै कारण हो देशबाट गरिखान चाहने उत्पादनका लागि सृजनशिल मानिएका जनशक्त्तिहरु पलायन भएका हुन् । समाज सुधार्न चाहने आदर्श व्यक्त्तिहरु विक्षिप्त भएर कमजोर बन्ने अनि देशमा मनोरोगीहरु बढे ।
सरकारले ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र भर्खरै काठमाडांै विमानस्थलबाट एक सय केजी सुन तस्करी प्रकरणमा जसरी अनुसन्धान थालेको छ, यसले हामी कुन र कस्तो अर्थतन्त्रमा निर्भर भइरहेका रहेछांै, हाम्रो शासन प्रणाली कसरी चलिरहेको छ र क—कस्ले हालिमुहाली गरिरहेका रहेछन् भनेर प्रष्ट भएको छ । यसैले दलकै आवरणमा सरकारविरुद्ध आन्दोलनहरु पनि गर्न थालिका छन् । किनभने उनीहरुलाई भय भइसकेको छ, अब हामी पनि यसैगरि भ्रष्टाचारबिरुद्धको अनुसन्धान अगाडि बढे कोही पनि बाँकी रहने छैनौं भनेर ।
सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियान एउटा उदाहरण मात्र हो । यदि यसलाई सरकारले निष्कर्षमा पुर्याउन सकेन भने त्यो भ्रष्टाचारी ठूला माछाहरुलाई यो सरकार र यसका सदाचारी नेताहरुलाई निल्नेछन् । यसैले सरकारले देशलाई साँच्चै सुशासनमुखी र सदाचारी बनाउने हो भने भ्रष्टाचारविरुद्धको अभिायनलाई अझै सशक्त बनाउनैपर्छ । चर्चित काण्डहरु मात्र नभएर संघ, प्रदेश र पालिकाहरु मात्र नभएर निजी क्षेत्रमा हुने भ्रष्टाचारलाई पनि अनुसन्धानको दायरामा ल्याउन सक्नुपर्छ । आफ्ना नेता र कार्यकर्ताहरुलाई चन्दा उठाउने साधन हैन, जनताका लागि समाजवादका लागि आदर्श अभियन्ताका रुपमा स्थापित गराउन सक्नुपर्छ । हिजो मुक्तिका लागि भोकभोकै ज्यानको समेत पर्वाह नगरि बन्दुक बोकेर युद्धमा होमिएझंै भ्रष्टाचारबिरुद्धको अभियानमा सक्रिय गराउन सक्नुपर्छ । तडकभडको जीवनशैली, मुद्दाको बार्गेनिङ, धनमानको आशक्तिलाई त्यागेर जनताको सेवक बन्न सिकाउनुपर्छ । नत्र बिरोधीहरुले भन्न पाउनेछन्, पहिले आफ्नो ऐना नहेरी दुलही माग्न आयो भनेर ।
राजनीतिक शासन प्रणालीले भन्छ, राज्य र राष्ट्रियता कुनै अमुक ठूला नेता र शासकहरुको हुदैन, आम नागरिकहरुको हुन्छ । यसैले राज्य पनि कुनै नेता र शासक र अनि पहुँचवाला कर्मचारीले कमाएको धनले हैन, आम नागरिकहरुले तिरेको करबाट सञ्चालन हुन्छ । यसैले अब साँच्चै भ्रष्टाचारविरुद्धको अभियान निरन्तर सञ्चालन गरेर निर्धा निमुखा आम नागरिकहरुलाई पनि समाजवादको अनुभुति गराउने हो भने सरकारले सरकारी सेवामा भइरहेका ढिलासुस्ती, अनियमितता र भ्रष्टाचारलाई पनि अन्त गराउँदै लगोस् । असंभव भन्ने कुरा मुर्ख र भ्रष्टहरुको डायरीमा मात्र हुन्छ, जनताका लागि काम गर्ने सरकारलाई त्यो भन्ने छुट कदापी हुदैन । आफूलाई क्रान्तिकारी भनेर समाज स्थापनका लागि अहोरात्र लडिरहेको पार्टी नेतृत्वको सरकारले गति छाड्यो भने फेरि पनि दयामा बाँच्ने हुतिहारा नागरिकहरु मात्र उत्पादन हुनेछन् ।