विराटनगरका दुई व्यवसायिक मलमा महानगरको अनुगमन

विराटनगर । विराटनगरमा सञ्चालित दुई व्यवसायिक मलमा महानगरले अनुगमन गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको नेतृत्वमा गएको अनुगमन टोलीले मलको निरीक्षण तथा अनुगमन गरेको हो ।

भारतीय सीमा क्षेत्रमा साउन १ गतेबाट कडाइ गरेपछि विराटनगर बजारमा भन्सार छलेर ल्याइएका सामानहरुको अवस्था जानकारी गर्न र भन्सार छलेर आउने वस्तुको बिक्री वितरणलाई निरुत्साहित गर्न महानगरपालिकाले बजार अनुगमन गरेको हो । व्यवसायिक मलबाट सुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिँदै बजारका पसलहरुमा आकस्मिक निरीक्षण गर्ने जानकारी दिइएको छ ।

भन्सारमा कडाइ गरेपछि विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा खाद्यन्नलगायत अन्य वस्तुको उपलब्धता, मूल्य, मूल्यसूचि आदिका विषयमा अनुगमन गरेको हो ।महानगरपालिका, गुणस्तर तथा नापतौल कार्यालय आदि निकायबीचको समन्वय र उपस्थितिमा शुक्रबार बजार अनुगमन गरिएको हो ।

विराटनगर बजारको व्यापार दिनप्रतिदिन खस्किदै गएको र सीमापारीको जोगवनी बजारबाट यस क्षेत्रका अधिकांश व्यक्तिले दैनिक उपभोग्य वस्तु किनमेल गर्ने गरेका कारण स्थानीय व्यवसायीहरुले सीमा क्षेत्रलाई कडाइ गर्न आग्रह गर्दै आएका थिए ।साउन १ गतेदेखि देशभरको सीमा क्षेत्रमा कडाइ गरी अनौपचारिक किनमेललाई निरुत्साहित गर्न भन्सार विभागले देशैभरी सर्कुलर गरेपछि सीमा क्षेत्रमा कडाइ भएको थियो । विराटनगर महानगरपालिकाले भने साउन १ गतेदेखि सीमा क्षेत्रमा आफूले नै कडाइ गर्ने प्रचार गरेको थियो । स्थानीय व्यवसायीहरुको सहानुभूति र समर्थन लिने उद्देश्यले महानगरले प्रचार गरेपछि स्थानीय उपभोक्ता आक्रोशित भएका थिए । उपभोक्ताहरुले विराटनगरका पसलहरु तस्करी भएर आएका सामानहरु प्रसस्त पाइने गरेको र सर्वसाधारण उपभोक्तालाई लक्षित गरेर सीमा क्षेत्रमा कडाइ गरेको भन्दै आलोचना गर्नथालेपछि महानगरले बजार अनुगमन गरेको हो ।

विराटनगर महानगरपालिकाका अधिकृत दीपक पौडेलले अवैधरुपमा बजारमा आउने सामानको बिक्रीलाई निरुत्साहित गरी बजारलाई स्वच्छ र व्यवस्थित बनाउ महानगरको समन्वयमा सीमा क्षेत्रमा कडाइ र बजारमा अनुगमन गर्ने काम भइरहेको बताए ।

नाकामा कडाइ गरेपछि बजारमा एकाएक कतिपय वस्तुको मूल्यवृद्धि भएको विषयलाई पनि अनुगमनका क्रममा हेरिएको थियो । अनावश्यक रुपमा मूल्य वृद्धि गर्ने कार्यले उपभोक्ता ठगीमा परिरहेको गुनासो आएपछि बजार अनुगमनलाई प्राथमिकतामा राखेर अघि बढेको पौडेलले जानकारी दिए ।

महानगरको टोलीले शुक्रबार सेन्ट्रल मल र भाटभाटेनी सुपर मार्केटमा अनुगमन गरेको थियो । दुबै पसलहरुमा बिक्री भइरहेका उपभोग्य वस्तुको मूल्यमा फरक नपाइएको उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि परमेश्वर भट्टराईले १५ दिन अगाडिको बजार मूल्यमा खासै अन्तर नपाइएको जानकारी दिए । उनले भने ‘बजारको आजको दर र १५ दिन अगाडिको मूल्यमा खासै फरक भेटिएन, मलहरुले बस्तुमा मूल्य अंकित गरेको र सोही अनुसार बिलिङ गरेको अनुगमनका क्रममा पाइएको छ ।’

टोलीले सेन्ट्रल मल बाहिर राखिएका साना स्टलका सञ्चालकहरुले बिल नलिने र आवश्यक कागजपत्रहरु समेत नभएको अनुगमनका क्रममा देखिएकोले त्यस्ता व्यवसायीहरुलाई तीन दिनभित्र व्यवसाय दर्ता गर्न र कानुनी प्रक्रिया पूरा गरेर व्यापार व्यवसाय गर्न निर्देशन दिएको जनाएको छ । तिन दिनभित्र महानगरमा व्यवसाय दर्ताका लागि प्रक्रिया अगाडि नबढाए कारबाही गर्ने र बजार अनुगमन नियमित गर्ने महानगरले जनाएको छ ।

आइतबार, ०७ साउन, २०८०, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर