महानगर न्यायिक समितिमा दर्ता भएका ८८ प्रतिशत उजुरी फछ्र्यौट

विराटनगर । विराटनगर महानगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९/०८० मा ८८ प्रतिशत उजुरी फछ्र्यौट गरेको छ । समितिमा दर्ता भएका कुल २३७ उजुरीमध्ये २०९ वटाको फछ्र्यौट गरिएको महानगरकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक शिल्पा निराला कार्कीले जानकारी दिइन् । जुन ८८.१९ प्रतिशत हो । कार्कीकाअनुसार सबैभन्दा बढी वडा नम्बर १२ बाट २१ र १८ नम्बरबाट ३ वटा उजुरी दर्ता भएको छ ।

साँधसिमानासम्बन्धी ५५, महिला तथा घरेलु हिंसासम्बन्धी २९, श्रीमान–श्रीमती विवादसम्बन्धी २९ उजुरी परेको छ । त्यस्तै खान लगाउन नदिएको, कुटपिट, दाइजो, लेनदेनसम्बन्धी पनि उजुरी पर्ने गरेको कार्कीले बताइन् । गत आर्थिक वर्षमा दर्ता भएका उजुरीमध्ये २८ वटा मात्रै फछ्र्यौट हुन बाँकी छ । दर्ता भएका मध्ये समितिले ३९ वटा जिल्ला अदालत मोरङमा पठाएको छ । त्यस्तै ४४ वटा मिलापत्र भएको छ । “६ वर्षयताकै सबैभन्दा धेरै उजुरीको निर्णय हामीले गरेका छौं,” उपमेयर कार्कीले भन्नुभयो, “मिलेसम्म मिलापत्र गराउँछौं हामीले धेरै प्रयास गर्दा पनि नमिले अदालत पठाउँछौं ।”

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा २१० वटा उजुरी दर्ता भएकोमा १७५ वटा उजुरीको निर्णय भएको उपमेयर कार्कीले जानकारी दिइन् ।

शुक्रबार, ०५ साउन, २०८०, बिहानको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर