अर्जुन आचार्य
‘दाई, पुडिया छ ?’
उनी बोलेनन् । बट्टामा राखेको रजनीगन्धा र तुलसी सरक्क मेरो हातमा थमाउँदै उनले भने ‘लुकाएर लानु है, यहाँ नखानु !’ ‘किन ?’, मेरो प्रश्नमा उनले केही लामो उत्तर दिए ‘विराटनगरमा खैनी, गुट्खा विक्रीमा रोक लगाएको छ । अझै भारतबाट आएकालाई त कडा जरिवाना ठोक्छ । विक्री गरेको थाहा पायो भने ५० हजार जरिमाना लिन्छ रे ।’ ग्राहकलाई तर्साउँदै उनले अझै थपे ‘तपाइँले खाएको देख्यो भने पनि ५ हजार जरिवाना लिन्छ । लुकाएरै खानु ।’
‘भरे पनि चाहिन्छ । तपाइँकोमा सकिन्छ होला है ?’ मेरो चिन्ता मिश्रित प्रश्न सुनेपछि उनले सहजै भने ‘होइन–होइन पाउन चाहिँ पाइन्छ । नेपालको–इन्डियाको पनि पाइन्छ । खान चाहिँ लुकाएर खानु न !’
विराटनगर महानगरपालिकाले साउन १ गतेदेखि महानगरभित्र सूर्तिजन्य वस्तुको विक्री वितरणमा रोक लगाएको घोषणा गरेको छ । कहिँकतै किनबेच गरेको पाइए जरिवानासहितको कारबाही गर्ने घोषणा पनि महानगरको छ ।महानगरले नगर परिषदबाटै निर्णय गरेर कार्यान्यनमा लगेको सूर्तिजन्य पदार्थको प्रतिबन्ध घोषणामै सिमित छ कि कार्यान्वयन पनि भएको छ ? यही उत्सुकताले कहिल्यै खैनी–गुट्खा नखाने मलाई पनि बुधबार पसलमा रजनीगन्धा–तुलसी खोज्दै पुग्ने बनाएको थियो । तर, ट्राफिक चोकस्थित पसलहरुमा सजिलैसँग गुट्खाजन्य पदार्थ किन्न पाइएपछि महानगरको घोषणा कार्यान्वयन फितलो रहेको प्रत्यक्ष अनुभव भयो ।
अहिलेसम्म सूर्तिजन्य पदार्थको बेचबिखन गर्दै आएका पसल सन्चालक र प्रयोगकर्ताहरुका अनुसार महानगरको निर्णय कार्यान्वयन भएको भनिए पनि सेवनकर्ताका लागि सूर्तिजन्य वस्तु खरिद गर्नका लागि कुनै समस्या छैन । ‘यो सबै भन्ने कुरा हुन् । कार्यान्वयन गर्ने भनेको ३ दिन भयो । कसैलाई कारबाही भएको सुन्नुभएको छ ?,’ विराटनगरका एक ग्राहकले भने, ‘किनबेचमा कुनै रोकटोक छैन । पहिले जुन पसलमा पाइन्थ्यो, अहिले पनि त्यो पसलमा पाइन्छ ।’ उनीजस्तै अर्का प्रयोगकर्ताले भने, ‘भोला, गुट्खा अभाव नै छैन । तर, सहज उपलब्धता पनि छैन ।’ ती प्रयोगकर्ताका अनुसार पसलहरुमा नयाँ र नचिनेका मान्छेले सूर्तिजन्य पदार्थ बेच्न पसले सुरुमा हच्किने गरेका छन् ।‘महानगरकै मान्छे झुक्याएर आए कि भन्ने शंका त भइहाल्छ नि’, विराटनगरका एक जना पसल सञ्चालकले भने ‘तर, चिनेकाहरुका लागि बेच्न हामीलाई कुनै समस्या छैन । सबैले देख्नेगरी झुण्ड्याएर मात्रै नराखेको हो ।’
तीन दिन अगाडिकै जस्तो सडकमा भोला गुट्खा खाएर फालिएका प्लास्टिकका खोल जथाभावी देख्न सकिन्छ । यस्तै कतिपय कार्यालयहरका सिंढीहरुमा भोला खाएर फालिएका प्लाष्टिकका टुक्रा अझै भेटिन्छ । यसले पनि खानेहरुका लागि खरिद गर्न धेरै असहज भएको देखिँदैन । ‘यो प्रतिबन्ध भनेको नखानेहरुका लागि हो,’ विराटनगरका बब्लु मिश्रले भने, ‘सूर्ति पनि पाइन्छ, भोला, गुट्खा सबै पाइन्छ ।’ विराटनगरमा १२ वर्षदेखि नशालु पदार्थहरु विक्री वितरणमा रोक लगाउनु पर्ने माग राख्दै आएका फणिराज नेपालले पनि महानगरले लगाएको प्रतिबन्ध प्रभावकारी नदेखिएको बताए ।
‘मानिसको स्वास्थ्य विगार्ने सबै खालका नसालु पदार्थ रोक्नुपर्छ भनेर हामीले ०६८ सालदेखि सुरु गरेका हौं । तर, अमेरिकाजस्ता मुलुकमा पनि लुकिछिपी पाइन्छ भने यहाँ नपाउने कुरै भएन । नगरप्रमुखले गरेको राम्रो कुरा हो । तर, संघीय सरकारले उत्पादन गर्न उद्योग खोल्न दिने । स्थानीय सरकारले विक्री गर्न नदिने भनेर रोकिन्छ भन्ने नै छैन,’ नेपालले भने, ‘गत असारको ३०, ३१ गते र साउनयता कुनै फरक छैन । यो हल्ला गर्ने कुरा मात्रै हो । नगरपालिकाले सुक्ष्म रुपले हेर्ने बुझ्ने, अनुगमन गर्ने काम गरेकै छैन । यसरी यो रोकिँदैन ।’
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने भोलाको प्याकेट, रजनीगन्धा तुलसीको प्याकेट र खैनीको प्याकेटमा प्रतिबन्ध लगाएको बताए । ‘भोलाको प्याकेट, रजनीगन्धा तुलसीको प्याकेट र खैनीको प्याकेटमा हामीले प्रतिबन्ध लगाएका छौं । पानमा प्रतिबन्ध छैन । तर, पान पसल अगाडि पान खाएर थुक्न चाहिँ पाइँदैन,’ कोइरालाले भने । विराटनगरमा गुट्खा र सूर्तिजन्य उद्योगहरु नरहेको बताउँदै उनले अबका दिनमा त्यसखालका उद्योगलाई नवीकरण पनि नगर्ने र नयाँलाई अनुमति पनि नदिने बताए ।