एभरेष्ट बैंक घोटला प्रकरण : आरोपी ९ जनाको बयान आजदेखि लिइँदै, ४ जना अझै फरार

विराटनगर । बैंकमा जम्मा गरेको सर्वसाधारणको पैसा ठगी गरेको आरोपमा पक्राउ परेका एभरेष्ट बैंकका प्रबन्धकसहित ९ जना आरोपीको बयान आजदेखि सुरु भएको छ । अन्य ४ जना आरोपी भने फरार छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका अनुसार पक्राउ परेका ९ जना र फरार रहेको ४ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा गत शुक्रबार बैंकिङ कसुरमा मुद्दा दर्ता भएको थियो ।

जसमा ७ जना बैंकका कर्मचारी छन् भने अन्य ६ जना पैसा झिक्ने व्यक्ति रहेका छन् । बैंकका उदयपुरका अपरेशन मेनेजर विराटनगर–८ का ३४ वर्षीय प्रधान, इटहरी शाखा प्रबन्धक तथा सिन्धुपाल्चोक बाह्रविसे–८ का ४२ वर्षीय विश्वराज शाक्य, बैंक इटहरी शाखाका सुपरभाईजर ३७ वर्षीय धावा लामा, बैंकका कनिष्ठ सहायकहरु २७ वर्षीय मनोज घिमिरे, २७ वर्षीय देवराज शर्मा, २७ वर्षकै रंजित पण्डित, बैंकको इटहरी शाखाकी टेलर ३० वर्षीय पवित्रा कटुवाललाई प्रतिवादी बनाएर अभियोग दर्ता भएको छ ।

बैंकको रकम अपचलन गर्ने गिरोहका मुख्य योजना प्रधान रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस्तै धनुषाको मिथिला नगरपालिका ११ का ३४ वर्षीय शंकर भुजेल, भक्तपुरको सूर्यविनायक नगरपालिका २ का २७ वर्षीय अजय खिउजूलाई पनि प्रतिवादी बनाइएको छ । पक्राउ पर्ने खिउजू र भुजेल पैसा झिक्ने व्यक्ति हुन् ।

फरार प्रतिवादी बनाएर बाँके जिल्ला बैजनाथ गाउँपालिका ८ घर भई काठमाण्डौ, महानगरपालिका ७ का अर्जुन थारु, सप्तरीको सुरुङगा नगरपालिका ६ जय कुमार साह, उर्लाबारी नगरपालिका ३ अशोक थापा र अर्जुन महतरा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीका जिल्ला न्यायाधीवक्ता एकराज अधिकारीले जानकारी दिए । आजदेखि उच्च अदालत विराटनगरको वाणिज्य इजलाशमा प्रतिवादीको बयान सुरु हुने र त्यसपछि थुनछेक बहस सुरू हुनेछ ।

अनुसन्धानका क्रममा प्रहरीले यसअघि २०७९ चैत १२ गते एभरेष्ट बैंक गाइघाट शाखाका अपरेशन इञ्चार्ज प्रधानलाई पक्राउ गरेको थियो । प्रधानमाथि केरकार गर्दा बैंकभित्रको संगठित जालो पत्ता लागेको सुनसरी प्रहरीको डिएसपी राजकुमार राईले बताए ।

पाँच महिनाको अवधिमा ३३ जना ग्राहकको खाताबाट ५९ पटक कनेक्ट आईपिएस र नक्कली चेकबुक प्रयोग गरेर १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

इटहरी शाखामा कार्यरत प्रधानको गत मार्च १२ तारिकमा गाइघाट सरुवा भएको थियो । उनको योजनामा गत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म पाँच महिनाको अवधिमा ५९ पटक कनेक्ट आईपीएसबाट एक करोड १४ लाख ७५ हजार २८४ रुपैयाँ निकालिएको छ । त्यस्तै नक्कली चेकमार्फत ३५ लाख ४८ हजार १५० रुपैयाँ निकालिएको प्रहरीले बताएको छ ।
कर्मचारीले ३३ जना ग्रहकको खाताबाट अधिकतम ७ लाखसम्म निकालेको देखिएको प्रहरीले बताएको छ । आफ्नो खाताबाट रकम हराएपछि ग्रहकले बैंकमा जानकारी गराएका थिए । त्यसपछि बैंकले प्रहरीलाई अनुसन्धानका लागि निवेदन दिएको थियो ।

आइतबार, २१ जेठ, २०८०, बिहानको ११:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर