विराटनगर । केही दिनयता लगातार बढ्दै गएको तापक्रमले गर्मी ह्वात्तै बढाएको छ । यसले विराटनगरसहित तराईका विभिन्न क्षेत्रको जनजीवन अस्तव्यस्त बनाएको छ ।
विराटनगरको निलो र सफा आकाशमा टन्टलापुर घाम लाग्दा अधिकतम तापक्रम दिनुहँ ४० डिग्री सेल्सियस हाराहारीमा छ । शनिबार पनि विराटनगरको अधिकतम तापक्रम ३९ दशमलब २ डिग्री पुग्यो । मौस पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन विराटनगरको तापक्रम ४० डिग्री हाराहारीमै रहनेछ । अहिले चलिरहेको जस्तै तातो हावा पनि कायमै रहनेछ । अधिक जनघनत्वयुक्त सहरमा चर्को घाम र तातो हावाको ओहोरदोहोरले जनजीवन प्रभावित भएका बेला जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको हो ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन जारी गर्दै महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । ‘आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू–भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रूपमा बढ्दै जाने देखिन्छ । तसर्थः तराईका भू–भागमा तातो हावा र लूबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा उल्लेख छ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाले अबका तीन दिनसम्म लू चल्ने सम्भावना रहेको बताए । ‘विगत दुई दिनदेखि तराईका अधिकांश भू–भागमा लू चलिरहेको छ । यो क्रम अझै केही दिन चल्ने देखिन्छ’ उनले भने । उनका अनुसार लू चल्नका लागि लगातार पाँच दिनसम्म सामान्यतयाः ४० डिग्रीभन्दा माथि तापक्रम बढेमा लू चलेको मानिन्छ । वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको मौसमविद् झाको भनाइ छ ।
साथै पहाडी भू–भागका उपत्यका तथा खोँचमा समेत तापक्रम क्रमिक रूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी हुने सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
तातो हावा तथा लूबाट हुने सम्भावित असर जस्तैः थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्नुपर्ने चिकित्सकहरु बताउँछन् । ‘अधिक गर्मीमा देखिने मुख्य लक्षण यिनै हुन्’, कोशी अस्पतालका चिकित्सक रोशन खड्काले भने ‘यस्तो बेलामा पर्याप्त सजगता जरुरी हुन्छ ।’
तातो हावासहितको अधिक गर्मीबाट जोगिन गर्मीको समयमा विभिन्न तरिका अपनाएर सावधानी अपनाउन सकिने डा. खड्काको भनाइ छ । ‘यस्तो बेलामा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने , घाममा हल्का लुगा लगाउने, जिउ पूरै ढाकिने गरी पातलो कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ, सर्वत खाँदा नुन हालेर खाने गर्नुपर्छ’, डा. खड्काले भने ‘यसबाहेक घामको असरबाट जोगिन क्रिमहरु प्रयोग गर्ने र प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउने गर्नुपर्छ ।’ उनले स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिन पनि सुझाव दिएका छन् ।
डा. खड्काका अनुसार अधिक गर्मीका बेला पिसाब कम हुने समस्या पनि आउने हुन्छ । झोलिलो पदार्थ कम भएर शरीरमा पानीको मात्रा कम हुँदा त्यसको असर मिर्गौलामा पर्ने जोखिम उच्च हुने भन्दै उनले गर्मीमा पानी प्रशस्त पिउनुपर्ने बताए ।
अत्यधिक गर्मीमा खानपानमा पनि सजग हुनुपर्ने उनको सुझाव छ । ‘अधिक गर्मीको बेला खानेकुरा पचाउन गाह्रो हुनसक्छ ’, उनले थपे ‘त्यसैले सकेसम्म सजिलै पच्ने खानेकुरा खानु बढी लाभदायी हुन्छ । प्रशस्त फाइबरयुक्त खानेकुरा सलाद, हरियो सागपात, दही लगायतका खाद्य पदार्थ बढी खानु् राम्रो हुन्छ ।’
गर्मीका बेलामा मदिरापान नगर्न पनि उनको सुझाव छ । ‘मदिराले शरीरमा पानीको मात्रा घटाइदिन्छ’, उनले भने ‘त्यसैले अधिक गर्मीमा मदिरापान गर्दै नगर्नु राम्रो हुन्छ ।’