कोरोनाको नयाँ भेरियन्ट : तीव्र संक्रामक तर कम घातक

विराटनगर । पछिल्लो समय भारतमा संक्रमण तीव्र बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी १.१६ नेपालमा पनि देखा परेको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार २४ वटा नमूनाको सिक्वेन्सिङ गर्दा १० वटा नमूनामा एक्सबीबी १.१६ भेरियन्ट देखिएको हो । विज्ञहरूका अनुसार एक्सबीबी १.१६ भेरियन्ट अहिले संक्रिय रहेका भेरियन्टहरूमध्ये बढी संक्रामक रहेको छ ।

छिमेकी मुलुकमा कोरोनाको संक्रामक भेरियन्ट तीव्र गतिमा फैलिनु नेपालका लागि चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन् ।
भाइरोलोजिष्ट डाक्टर लुना भट्ट भन्छिन्, ‘अहिले संक्रिय रहेका भेरियन्टहरूमध्य एक्सबीबी १.१६ बढी संक्रामक देखिएको छ । हामी धेरै गम्भीर हुनुपर्ने विषय यसले हाम्रो शरीरको इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) लाई छल्नसक्छ । त्यसैले संक्रमण एकदम बढ्न सक्छ।’

ओमिक्रोनकै उपप्रजाति भएकाले अहिले देखिएका नयाँ भरियन्ट अघिल्लो भेरियन्ट ’डेल्टा’ जस्तो घातक नहुने देखिएको उनले बताइन् । नेपालमा गत वर्ष ओमिक्रोन भेरियन्टको संक्रमण व्यापक फैलिएको थियो । संक्रमण फैलिए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या डेल्टा भेरियन्टको बेलाजस्तो थिएन । अस्पताल भर्ना भएकाहरूमा पनि धेरैलाई भेन्टिलेटर चाहिएको थिएन ।

’ओमिक्रोनभन्दा डेल्टा भेरियन्ट निकै डरलाग्दो थियो । किनभने डेल्टाले फोक्सोमा असर गथ्र्योे जसले गर्दा कतिले निमोनियाका कारण ज्यान गुमाए,’ भट्ट भन्छिन्, ‘तर ओमिक्रोनका बेला धेरैलाई भेन्टिलेटर नै चाहिएको थिएन किनभने यसले फोक्सोमा भन्दा पनि घाँटीमा संक्रमण गथ्र्यो ।’

अहिले देखिएका नयाँ भेरियन्टहरू पनि ओमिक्रोनकै उपप्रजाति भएकाले डेल्टाजस्तो घातक नरहेको उनी बताउँछिन् । तर नयाँ भेरियन्ट बढी संक्रामक रहेकाले नेपालमा आगामी दिनमा संक्रमण बढ्न सक्ने उनको भनाइ छ । अर्का भाइरोलोजिष्ट डाक्टर वासुदेव पाण्डे पनि नयाँ भेरियन्ट डेल्टाजस्तो घातक नदेखिए पनि अन्य भेरियन्टभन्दा बढी संक्रामक रहेकाले नेपालमा संक्रमण बढ्न सक्ने बताउँछन् । नयाँ भेरियन्ट बढी घातक नरहे पनि यसले दीर्घ रोगी, वृद्धवृद्धा, बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा बढी असर गर्न सक्ने हुँदा सतर्कता अपाउनु पर्ने दुबै भाइरोलोजिष्टको सुझाव छ । यस्ता समूहका मानिसहरूमा कोरोनाको जुनै भेरियन्ट आए पनि जोखिम हुने उल्लेख गर्दै परिवारका अन्य सदस्यले ख्याल प¥याउनु पर्ने उनीहरूको भनाइ छ ।

पछिल्लो समय मानिसहरूले मास्क लगाउनेदेखि भौतिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्न छाडेका कारण पुनः यसलाई पालना गर्नुपर्ने उनीहरूको जोड छ । साथै सरकारले पनि नयाँ भेरियन्टका कारण निम्तिने जोखिमलाई मध्यनजर गर्दै विमानस्थल र भारतसँग जोडिएका नाकाहरूमा निगरानी बढाउनुपर्ने उनीहरूको सुझाव छ ।
कोरोनाको लक्षण देखिए बेलैमा परीक्षण गराउनु पर्ने उनीहरूको भनाइ छ । भाइरोलोजिष्ट भट्टका अनुसार नयाँ भेरियन्टको लक्षण सामान्यतः ज्वरोबाट सुरू हुन्छ । त्यसपछि जीउ दुख्ने, घाँटी दुख्ने, टाउको दुख्ने, मांशपेशी दुख्ने, आलस्य हुने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखिन सक्छन् । त्यसबाहेक कतिपयलाई पेट दुख्ने र पखला चल्नेजस्ता लक्षण देखिने हुँदा यस्ता लक्षण देखिनासाथ परीक्षण गराउनु पर्ने उनको सुझाव छ ।

बुधबार, २२ चैत, २०७९, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर